किन रोकियो सुमार्गीको नाममा आएको अर्बौं अमेरिकी डलर?
गुणराज लुइँटेल काठमाडौं, माघ २९ print
उद्योगपति/व्यापारी अजयराज सुमार्गीका नाममा केही वर्षदेखि वैदेशिक लगानीका रूपमा आएको करिब १८ अर्ब रूपैयाँको स्रोत अन्तर्राष्ट्रिय समुदायले समेत खोज्न थालेपछि नेपाल राष्ट्र बैंकले यसको केही अंश रोक्का गरेको छ।
अमेरिकामा सेप्टेम्बर-११ को आतंककारी हमला भएयता ठूलो परिणाममा रकम एक देशबाट अर्को देशमा ट्रान्सफर हुँदा स्रोतबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण हुने गरेको हो। सन् २००६ देखि विभिन्न समयमा विदेशबाट लगानीका नाममा सुमार्गीले रकम नेपाल भित्र्याउँदै गरेका भए पनि उनले ल्याउने रकम शंकास्पद रहेकाले पछिल्लो एक वर्षदेखि उनको रकमबारे बढ्ता चासो व्यक्त हुन थालेको हो।
नेपाल राष्ट्र बैंकको उच्च स्रोतका अनुसार, उनले ल्याउन खोजेको रकम प्रत्यक्ष विदेशी लगानी (फरेन डाइरेक्ट इन्भेष्टमेन्ट–एफडिआई) नभएर ऋणका रूपमा आउन लागेपछि रोकिएको हो।
राष्ट्र बैंक स्रोतले यो रकमको स्रोत खुलाउन भनेको तर सुमार्गीले बैंकको चित्त बुझाउन नसकेकाले पनि यो पैसा निकाल्न बैंकले दिएको छैन।
सुमार्गीले नेपालबाटै पैसा बाहिर लगेर विदेशी ऋणका रूपमा त्यो रकम भित्र्याउन खोजेको पनि कतिले शंका गरेका छन्। उनको उच्च राजनीतिक हिमचिम र पछिल्ला केही वर्षमा देखिएको अस्वाभाविक आर्थिक उन्नतिका कारण पनि यस्तो शंकाले बल पाएको हो।
‘एफडिआइका रूपमा आएको भए स्वीकृत हुन्थ्यो,’ राष्ट्र बैंक स्रोतले सेतोपाटीसँग भन्यो, ‘ऋणका रूपमा आउनका लागि त्यो स्रोत नखुलेको रकम मुलुकका निम्ति थप भार हुन्छ।’
स्रोतले अगाडि भन्यो, ‘ऋणका रूपमा आएको यस्तो रकम फेरि कुनै न कुनै रुपमा फिर्ता लैजान पाउँछन्, जुन मुलुकका निम्ति भविष्यमा भार मात्र हुन्छ।’
सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको नाममा पटक–पटक गरी यो रकम आएको हो। १० जनवरी २०१० मा एअर बेल साइप्रसको नाममा ८ करोड ५० लाख अमेरिकी डलर, त्यसको एक महिनापछि १० फेब्रुअरी २०१० मा ३० लाख अमेरिकी डलर आएको थियो।
त्यस्तै जुलाई २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डस्थित जोधर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबाट ९ लाख ५० हजार, त्यसको एक वर्षपछि फेरि २८ मे २०११ मा नेपाल स्याटेलाइट टेलिकमको नाममा १ करोड ५० लाख अमेरिकी डलर आएको थियो। सेप्टेम्बर २०१३ मा एअर बेलबाटै फेरि ६ करोड ५० हजार डलर आएको थियो।
२०१० यता १७ अर्ब नेपाली रूपैयाँ बराबरको अमेरिकी डलर नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकमा रहेका सुमार्गीका कम्पनी खाताहरूमा आएको हो। यसरी रकम आउन थालेपछि फ्रान्सको पेरिसस्थित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) समेत सक्रिय भएर यसबारे सोधपुछ गर्न थालेपछि देशभित्र पनि यसबारे चासो भएको हो। नेपालसमेत एफएटिएफको सदस्य राष्ट्र हो।
सुमार्गी भने आफूले सन् २००६ देखि नै लगानी ल्याइरहेको र त्यसको लागि सरकारको स्वीकृति रहेको बताउँछन्। गत वर्ष मंसिरमा निर्वाचन भई सरकार परिवर्तन भएपछि मात्र यो समस्या आएको उनी बताउँछन्।
‘मलाई कसैले पनि लिखित रूपमा यसकारण रकम रोकिएको भनेर जानकारी दिएको छैन,’ हेटौडा मूलघर भएका व्यापारी सुमार्गीले बानेश्वरस्थित हेलो नेपालको नवौं तलामा रहेको आफ्नो कार्यालयमा सेतोपाटीसँग भने, ‘रकम निकाल्न जाँदा नपाएपछि राष्ट्र बैंकले रोकेको भन्ने मौखिक जानकारी मात्र दिइयो। लिखित नपाएको हुनाले कतै गएर यसबारे उजुरबाजुर गर्न पाएको छैन। म कहाँ गएर कसलाई भनौं?’
अर्बौं लगानी ल्याउने व्यक्तिलाई घोषणाअनुसार लगानी किन आएन भन्ने प्रश्न गर्नुभन्दा निरूत्साहित गर्न खोजिएको उनले बताए। सन् २०१३ को सेप्टेम्बरमा आफूले दुई वर्षमा साढे २३ अर्ब लगानी ल्याउने घोषणा अनुसार पहिलो वर्ष ११ अर्ब ल्याएको उनले बताए।
‘११ अर्ब ल्याएपछि ८ अर्ब मैले खर्च गरुञ्जेल कतैबाट कुनै प्रश्न उठेन,’ उनले भने, ‘प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले निर्णय गरेर र सरकारकै स्वीकृतिमा यो रकम आएको थियो। तर, ३ अर्ब रुपैयाँ मात्र एक वर्षदेखि रोकिएको हो। हाम्रा नाममा आएको सबै रकम हामीले निकालिसकेका छौं।’
सुमार्गीले ऋणका रूपमा ल्याउन लागेको रकमको ब्याज पनि अन्तर्राष्ट्रिय बजारबाट ल्याएको भन्दा महँगो छ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार यो १२.७५ प्रतिशत छ। जबकी अन्तर्राष्ट्रिय वित्तीय बजारमा त्यत्रो ब्याज नै नहुने बैंक स्रोतले दाबी गर्यो।
सुमार्गी भने ऋणका रूपमा आए पनि सेयरमा परिवर्तन गर्न सक्ने बताउँछन्। ‘यो ऋण हामीले तिर्ने हो, अरू कसैले हाम्रो ऋण तिरिदिनु पर्छ र?’ उनले भने, ‘त्यो ऋणलाई एक बिन्दुमा सेयरमा परिवर्तन गर्न सकिन्छ भन्ने प्रावधान सम्झौतामा छ।’
लगानी योजना
आफूले लगानी योजनाअनुरुप पहिलो वर्ष ११ अर्ब ल्याइसकेको भए पनि तीन अर्ब रुपैयाँ रोकिएपछि अर्को वर्ष सन् २०१४ मा साढे १२ अर्ब ल्याउन सक्ने स्थिति नरहेको सुमार्गीले बताए।
उनले सेप्टेम्बर २०१३ मा पत्रकार सम्मेलन गरी धादिङको आँखुखोला जलविद्युत् आयोजनाका लागि ५.५ अर्ब, राजधानीमा अन्तर्राष्ट्रिय स्तरको सुविधायुक्त होटल खोल्न करिब साढे ४ अर्ब लाग्ने जानकारी पत्रकार सम्मेलनमार्फत् दिएका थिए। त्यो बेला उनले कम्पनीले १० अर्ब बाह्य ऋण भित्र्याएको र कामको गतिसँगै थप ८ अर्ब रूपैयाँ ल्याइने जानकारी दिएका थिए।
पत्रकार सम्मेलनमा घोषणा गरिएको करिब २५ अर्ब लगानी हेलो नेपालकै नाममा विदेशमा रहेको रकम ल्याउने तयारी गरिएको निष्कर्ष राष्ट्र बैंकस्थित उच्च स्रोतको छ। आफ्नै रकम ऋणको रुपमा ल्याइएको अनुमान केन्द्रीय बैंकको छ।
‘रकम आएपछि के प्रयोजनका निम्ति आएको हो, त्यसको डकुमेन्टेसन गर्न भन्ने निर्देशन बैंकहरूलाई दिइएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उनीहरूले सुमार्गीलाई बोलाएर यसको डकुमेन्टेसन गर्नू भनेका हुन्।’
सुमार्गीले राष्ट्र बैंकलाई लगानी बोर्डको स्वीकृतिमा रकम ल्याएको जानकारीसमेत गराएका थिए। त्यति मात्र होइन, लगानी बोर्डका एक वरिष्ठ अधिकारीले राष्ट्र बैंकका अर्का वरिष्ठ अधिकारीलाई तुरुन्त रकम फुक्का गर्न दबाबसमेत दिएका थिए। यही घटनाले राष्ट्र बैंक र लगानी बोर्डबीच एक किसिमको तनावको स्थिति पनि देखियो।
वैदेशिक लगानी ल्याउँदा त्यसको दायरा बुझ्नु पर्ने सुझाव राष्ट्र बैंक अधिकारीहरूको थियो। अझ लगानी ल्याउने भनिएका उद्योग दर्तासमेत नभएको र रकम आएपछि प्रक्रिया सुरु भएको तथ्यले राष्ट्र बैंकलाई थप सशंकित तुल्याएको थियो।
सुमार्गीको लगानी योजनासम्बन्धी समाचारलाई जस्ताको तस्तै साभार गरी नबिल बैंकको सब्सिडियरी कम्पनी नबिल इन्भेष्टले आफ्नो साइटमा राखेको छ। उक्त साइटअनुसार, मुक्तिश्री ग्रुपका नेपाल स्याटेलाइट टेलिकम ७ अर्ब, धादिङ आँखुखोला हाइड्रो ५.५ अर्ब, पाँच तारे होटल ५ अर्ब, मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज ४ अर्ब, नेपाल इन्फ्रा ३ अर्ब गरी साढे २३ अर्ब रुपैयाँको लगानी हिसाब उल्लेख गरिएको छ।
यो पैसाको मालिक को?
सुमार्गीका कम्पनीका निम्ति भनेर रकम पठाउने भर्जिन एअर बेल युके र जोधर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड साइप्रस किन नेपालमा लगानी गर्न तयार भए? भर्जिन आइल्यान्ड र साइप्रसलाई ‘ट्याक्स हेवन’ अर्थात् जस्तोसुकै रकम पुर्याए पनि कर छुट दिने व्यवस्था छ। त्यसैले नेपालीहरू आफैंले त्यहाँ रकम पुर्याएको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।
जानकारहरूका अनुसार, अहिले भर्जिन आइल्यान्डबाट सुमार्गीका मात्र होइनन्, अन्य लगानी पनि आइरहेका छन्। कुनै न कुनै हिसाबले नेपालकै रकम लगानीका हिसाबले फर्कन थालेको हो। नेपालबाट भारतको हवाला मार्केट हुँदै डलरमा परिवर्तन भएर त्यो रकम भर्जिन आइल्यान्ड, साइप्रस आदि पुग्ने गर्छ। अझ भर्खरै स्वीस बैंकमा नेपालीकै खाता रहेको तथ्य सार्वजनिक भएको छ। त्यो रकम पनि यसरी नै अन्तर्राष्ट्रिय अर्थ बजारमा पुगेको हो।
भर्जिन एअर बेल र जोधर इन्भेष्टमेन्टका कम्पनीका बारेमा धेरै जानकारी फेला पर्दैन। कारण, कर छुट पाइने भएकाले भर्जिन आइल्यान्ड र साइप्रसमा यी कम्पनीको दर्ता मात्र छ। सेप्टेम्बर २०१२ मा एनसेलको अभिभावक कम्पनी टेलियासेनेराले हेलो नेपाल ब्रान्डको मोबाइल फोन सञ्चालक नेपाल स्याटेलाइट टेलिकमको स्वामित्वबाट नेपालको ‘नियामक व्यवस्था’का कारण अलग हुने घोषणा गरेको थियो।
यो स्विडिस कम्पनीले आफ्नो परोक्ष स्वामित्व जोधर इन्भेष्टमेन्टलाई बिक्री गर्ने बताएको थियो। जोधर पनि ब्रिटिस भर्जिन आइल्यान्डमा रहेको कम्पनी हो। टेलियासेनेराले साइप्रसस्थित एअरबेल सर्भिसबाट यसको सेयर लिएको थियो। हेलो नेपालले सुदूर र मध्यपश्चिममा सेवा विस्तारको जिम्मेवारी पाएको छ। यसको थालनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काठमाडौं र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले रोल्पाबाट टेलिफोन गरी यो सेवाको थालनी गरेका थिए।
ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसका कम्पनीहरूको कुनै आधिकारिक जानकारी पाइँदैन। ब्रिटिस भर्जिन आइल्यान्डमा रहेको जोधर इन्भेष्टमेन्टका कुनै पनि प्रमुख कार्यकारीहरूबाट जानकारी फेला नपरेको व्यवसाय तथा वित्त व्यवस्थाबारे जानकारी दिने संस्था ब्लुम्बर्गले आफ्नो साइटमा उल्लेख गरेको छ।
सुमार्गी भने सबै ठूला कम्पनीहरूले ब्रिटिस भर्जिन आइल्यान्डमा गएर आफ्ना खाता खोल्ने गरेको उल्लेख गर्दै नेपाललाई पनि विदेशी लगानी ल्याउन त्यस्तै व्यवस्था गर्नुपर्ने सुझाव सरकारलाई दिएको पनि बताए। उनले आफ्नो नेपाल स्याटेलाइट टेलिकमको मालिक एअरबेल सर्भिसेज लिमिटेड साइप्रस, एअरबेल सर्भिसेज लिमिटेड साइप्रसको मालिक जोधर इन्भेस्टमेन्ट, जोधर इन्भेष्टमेन्टको मालिक टेलियासोनेरा एसिया होल्डिङ र टेलिया सेनेरा एसिया होल्डिङको मालिक टेलियासोनेरा नर्वे भएको बताए।
सुमार्गीले भने, ‘कुनै नयाँ काम गर्ने बेलामा विभिन्न कम्पनीहरूले त्यसमा लगानी गरेर स्थापना गर्ने भएका हुनाले सबैको बारेमा जानकारी फेला पर्दैन।’
‘मैले आफूले ल्याउने रकमबारे सरकारलाई सबै जानकारी गराइसकेको छु,’ उनले भने, ‘मैले कहाँकहाँ गएर यो बताउँ?’
उनले सुर्खेतमा स्थापना हुने मुक्तिश्री सिमेन्ट कम्पनीका नाममा आएको रकम अहिले बैंकमा अड्किएर बसेको उल्लेख गर्दै भने, ‘के नेपालमा लगानी ल्याएर रोजगारी दिन्छु भन्दा पनि यस्तो हुने? के हामीले अब सिमेन्ट उत्पादन नगर्ने?
ब्रिटिस भर्जिन आइल्यान्डकै कम्पनीहरूबाट अरूले समेत नेपालमा लगानी ल्याइरहेका छन्। तर, सुमार्गीको लगानीमा अहिले आएर रोक लाग्नुमा राजनीतिक कारण भएको उनी ठान्छन् भने नियामक राष्ट्र बैंकलगायतका संस्थाहरू भने अन्तर्राष्ट्रिय क्षेत्रबाटै यो रकमको स्रोत र यसको प्रयोजन खोज्न थालेपछि रोकिएको ठान्छन्।
यो रकमका कारण राष्ट्र बैंक र लगानी बोर्डका बीचमा समेत असमझदारी उत्पन्न भएको छ। ठूलो रकम भएको हुनाले सुमार्गीले पनि देशभित्रकै राजनीतिक र अन्य संस्थागत दबाब दिने गरेको अनौपचारिक जानकारी विभिन्न पदाधिकारीहरूले दिएका छन्। सुमार्गी भने आफ्नो यत्रो ठूलो रकम बैंकमा अड्किएर बस्दा पनि चुप लागेर बसेको बताउँछन्।
‘स्वीकृति नभई यो पैसा आएको होइन,’ उनले भने, ‘आज किन चौतर्फी प्रश्न तेर्स्याइँदै छ? मैले ८ अर्ब ल्याएर खर्च गरुञ्जेल आज प्रश्न गर्नेहरू कहाँ हुनुहुन्थ्यो?’
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७१ ११:४१:२३