कविता
मेरो प्यारो सिन्धुली
राकेश कार्की
लस् एन्जेलस्
मेरो प्यारो सिन्धुलीमा दशैँ आयो होला
ताउ खोला कमला बगी रहेकै होला
महाभारत चुरेले छाती बिछ्यायो होला
जुनारको पात हल्ली हाम्लाई डाक्दै होला
सिन्धुली-गढी हाम्रो ईतिहास हाम्रै जीत
सिन्धुलिय जाती हामी हाम्रो आफ्नै रीत
जन्म्यौँ हामी हुर्कियौँ सिन्धुली कै छायाँ
जाँ जाउँ जति कमाउँ त्यही माटोको माया
मेरो प्यारो सिन्धुलीमा दशैँ आयो होला
खेतबारी काम बिसाई थकाई मार्यो होला
घर पोती नयाँ लुगा चहल पहल होला
पालैपालो लिङ्गे पिङ् हुइया मच्चियो होला
कामी तामाङ क्षेत्री मगर गुरुङ राई
दनुवार मुसर सार्की बाहुन दमाई
त्रिवेणीको दोहरीमा प्रेमको गीत गाइ
रक्षा गर प्रेम बाँड हे सिन्धुली माई
मेरो प्यारो सिन्धुलीमा दशैँ आयो होला
लाहुर जाने जिल्लावासी घर फर्के होला
रमाइलो मुरली र मादल बज्यो होला
टिको र जमाराले जिल्लै रङ्ग्यो होला