Just bringing out there are other "Prashantas" not know by us....or unknown to the mob..
Its from:
http://www.nepalihimal.com/2064/mangshir-16-29/ramjham.html
“नेपालीको एकतालाई कुनै सीमारेखाले छेक्दैन”
ज्योति ब्राहि्मण (शिवाकोटी), मिस इण्डिया अर्थ २००४
मोजेश राई |
कतिपटक नेपाल आइसक्नुभो?
यो समेत सातौँ हो। तर, औपचारिक कार्यक्रममा आएको भने यो नै पहिलो हो। यसअघि तीन पटक काठमाडौँ र दुईपटक झापास्थित फुपूकोमा पुगेकी छु।
नेपाली भएकोमा कस्तो महसूस गर्नुहुन्छ?
नेपाली भएर जन्मन पाएकोमा गर्व छ। दार्जीलिङमा जन्मे हुर्के र अहिले बिहे गरेर कोलकातामा बसिरहेको भारतीय नागरिक भए पनि म नेपाली छोरी हुँ, मेरो रगत नेपाली हो। यो मन त मेरो नेपाली नै हो नि!
मिस इण्डिया अर्थको उपाधि जित्दा कस्तो लागेको थियो?
मैले धेरै नै गर्व महसूस गरेँ। पहिलो पटक एउटा नेपालीले मिस इण्डिया उपाधि हासिल गरेको भनेर भारतीयहरूले पनि भने। म नेपाली हुँ भनेर चिन्ने सारा नेपालीहरू त्यसबेला खुशी भएका थिए। सिक्किम सरकारले बोलाएर सम्मान नै गर्यो।
नेपाली मूलका प्रशान्त तामाङलाई इण्डियन आइडल बनाउन देखिएको नेपाली 'क्रेज'लाई कसरी लिनुहुन्छ?
एकदमै सकारात्मक। मलाई धेरै ठाउँमा मान्छेहरूले 'नेपालीहरूबीच यत्रो एकता छ भन्ने कुरा थाहै नभएको' बताए। संसारभरका नेपालीमा देखिएको यो एकताले धेरैलाई अचम्ममा पारेको छ।
फेशन मोडलिङप्रतिको तपाईको रुचि कहिलेदेखिको हो?
वास्तवमा यो क्षेत्रमा जाने मेरो कुनै योजना थिएन। कोलकातामा एमबीए पढन् भनेर जाँदा साथीहरूले पठाइदिएको मेरो फोटोग्राफ त्यहाँको सुन्दरी प्रतियोगितामा छनौटमा पर्यो। मिस बङ्गाल २००३ को उपाधि जितेपछि कोलकातामा मोडलिङ शुरु गरेँ।
मिस इण्डियापछि मोडलिङ झानै फाप्यो, हैन?
हो, त्यसपछि पनि फिलिपिन्समा सम्पन्न मिस वर्ल्ड अर्थ २००४ को टप १० मा परेँ। देश–विदेशका दर्जनौँ फेशन शो, इटालीको मिलान फेशन विक मा सहभागितादेखि एलजी, सोनी इरिक्सन, इण्डियन एयरलाइन्स आदिका थुप्रै विज्ञापनमा काम गरेँ। अझै पनि मोडलिङलाई निरन्तरता दिने विचार छ। यो क्षेत्रमै लागिरहनका लागि आउँदो ६ महिनाभित्रै मुम्बई जाने विचारमा छु।
उपाधि जितेपछि चलचित्रहरूमा पनि अफर आयो होला नि?
धेरै सहभागीको लक्ष्य मिस इण्डियापछि चलचित्र क्षेत्रमा जाने हुन्छ। मलाई पनि बलिउडबाट धेरै अफर आएको थियो। केही नेपाली चलचित्रमा पनि। तर, त्यतिबेला मलाई चलचित्र क्षेत्रमा जाने मन नै भएन।
मन नहुनुको कारण?
१४/१५ वर्ष सङ्घर्ष गर्दा पनि धेरैले राम्रो फिल्म पाउँदैनन्। तर, मलाई राम्रा–राम्रा निर्देशकहरूले अफर गरेका थिए। धेरैले मलाई यस्तो मौका किन गुमाएको पनि भन्छन्। तर, त्यो बेला किन किन मन लागेन, आफ्नै व्यक्तिगत जीवनतर्फ लागेँ अनि बिहे गरेँ। अहिले सोच्छु सिनेमामा काम गरेको भएपनि हुन्थ्यो।
अब मन बदलिएको हो?
(हाँस्तै) हो, हो, त्यसै भन्नुपर्यो। विवाहपछि अहिले यसै क्षेत्रमा लागिरहने चाहना बढेकाले राम्रा चलचित्रमा अफर आए काम गर्छु।
नेपाली चलचित्रमा नि?
बलिउडको होस् वा नेपाली; कथावस्तु चित्तबुझे जुनैमा पनि अभिनय गर्छु। दार्जीलिङमा हुँदा धेरै नेपाली चलचित्र हेरेकी छु। दर्पणछायाँ राम्रो लाग्यो। आफू पनि नेपाली नै भएकाले नेपाली चलचित्रमा काम गर्ने मन त भइहाल्छ। राम्रो अफर आए म नेपाल आएरै काम गर्न तयार छु।
प्रसङ्ग बदलौं, अहिले फेरि दार्जीलिङमा 'गोर्खाल्याण्ड'को कुरा उठेको छ, तपाईंको यसबारे के धारणा छ?
हरेकले आफ्नो स्वतन्त्रताको माग गर्न पाउँछ। भारत एउटा प्रजातान्त्रिक मुलुक भएकाले त्यहाँ हरेकको स्वतन्त्रताको कदर हुन्छ। त्यसैले दार्जीलिङका जनताले 'गोर्खाल्याण्ड' चाहन्छन् भने नहुने कुरै छैन। जनताले जे चाहन्छन् त्यो हुनुपर्छ।
सारा नेपालीहरूका लागि हिमाल मार्फत् तपाई के सन्देश दिन चाहनुहुन्छ?
आफूलाई अल्पसङ्ख्यक भनेर कहिल्यै नसोच्नुस्, नेपालीहरूमा जस्तो एकता र शक्ति अरूमा छैन। प्रशान्तको पक्षमा देखिएको लहरले पनि यो स्पष्ट पारेको छ। कुनै एक ठाउँका नेपालीको केही कुरा उठ्यो भने संसारभरका नेपाली एक हुन्छन् भन्ने प्रमाणित भइसकेको छ। नेपालीहरूको एकतालाई अब कुनै देशको सीमाले अलग गर्न सक्दैन। यो एकता र भावना कहिल्यै पनि टुट्न दिनुहँुदैन।