तर, अचानक भारतीय प्रहरीले बर्दियाको एउटा घरमा प्रवेश गरेको कुराले उनको मनमष्तिकमा नराम्ररी घोचेछ। उनले उक्त कुरा फेसबुकमा लेखे। टि्वटरमा त्यसको लिंक पनि आयो। अहिले भट्टराईको भनाइमा टि्वटेहरूको चर्को चिरबिर र फेसबुकेहरूमाझ ठूलै चर्चाको विषय भएको छ।
भट्टराईले आफ्नो फेसबुकको वालमा लेखेअनुसार भारतीय प्रहरीको बलमिच्याइँ नेपाली सार्वभौसत्तामाथिको नांगो अतिक्रमण हो। र, उनलाई खेद लागेको छ यस्तो खबर चुपचाप पढेर र सुनेर बस्नुपरेकामा। यो खबर पढेर चुपचाप किन बस्नुपरेको हो भट्टराईलाई? उनी अझ भन्छन्, 'आखिर थोत्रो मुख बजाएर मात्र पो के हुन्छ र?'
कुनै बेला कुनै साधारण निहुँमा सात–सात दिन नेपाल बन्द गर्ने शक्तिशाली दलका नेतालाई किन चुपचाप बस्नुपर्यो? यदि उनको मन साच्चै घोचेको हो भने हजारजना मान्छे लिएर लैनचौर घेर्न किन जाँदैनन्?
भट्टराईको मन त जर्मन राजदूतले पनि घोचेछन्। राजदूतले तनहुँमा पुगेर कस्तो राजनीतिक दललाई समर्थन गर्ने र भोट हाल्ने भनेर 'उपदेश' दिएछन्। आफू प्रधानमन्त्री हुँदा भारतीय राजदूत विभिन्न स्थानमा गएर स्कुल उद्घाटन र खानेपानी वितरण गर्दै हिँडदा केही नबोल्ने र उनलाई रोक्न नसक्ने नेताको मन अचानक कसरी उग्रराष्ट्रवादी भयो बु‰नुपर्ने विषय बनेको छ।
भट्टराईको भनाइलाई जनताले कसरी लिएका छन् भन्ने कुराको झलक पाउन उनको फेसबुक वालमा रहेका पोस्टिङ्स नै हेरे पुग्छ। यो लेख लेख्दासम्म १६ सय हाराहारी जनताले टिप्पणी गरेका छन्। अधिकांशले उनीप्रति सहानुभूति होइन, व्यंग्य गरेका छन्। करिब सबैले उनलाई पाखण्डी चित्रण गरेका छन्।
अहिलेसम्मको प्रवृत्ति हेर्दा जसले जति प्रोत्साहन वा दुरुत्साहन गरे पनि भट्टराई भारतको विरोधमा जाँदैनन्। उनको मन भारतसित कुँडिएको होइन, भारतबाट आफू टाढिएको भान परेर आफैंमा कुँढिएजस्तो देखिन्छ। भारतीय दूतावासको सक्रियतामा दाहाललाई जिल्लाएर प्रधानमन्त्री बन्न सफल भएका भट्टराईलाई आफू अचानक भारतको विश्वासपात्र स्थानबाट टाढा हुन पुगेको भान भएर चित्त दुःखेको हुनसक्छ। आफूले गर्न नसकेको निर्वाचन खिलराज रेग्मीको पूर्वसरकारी कर्मचारीको सरकारले कुनै हालतमा सम्पन्न गर्न नसक्ने विश्वास लिएर बसेको हुनाले अहिले निर्वाचन हुने वातावरण बन्दा उनी आत्तिएका हुन सक्छन्। राजीनामासमेत नगरी (उनको राजीनामाको कुरा बाहिर आएको छैन) सत्ताबाट बाहिरिएका भट्टराईलाई पुनः उक्त पद प्राप्त गर्ने उच्च विश्वास भएको कुरा उनले विश्वासपात्रहरूलाई बारम्बार भन्दै आएका थिए।
आफ्नो राष्ट्रियतासम्बन्धी अवधारणा र प्रतिबद्धताबारे प्रश्न उठाएको देख्दा निकै नमिठो अनुभूति गर्ने भट्टराई आफैंमा प्रस्ट छैनन् राष्ट्रियताका सम्बन्धमा। एकातिर भारतीय प्रहरीको नेपाल प्रवेशले उनको मन दुख्छ भने अर्कातिर आफूले विगतमा राष्ट्रियताका सम्बन्धमा विवेकसम्मत भन्दा आवेगात्मक धारणा राखेको आफैं स्विकार्छन्। उनको राष्ट्रियताका सम्बन्धमा आवेग गलत थियो कि गरिब नेपालीलाई सामन्ती भनेर टाउको छिनाउनु गलत थियो? त्यसमा उनी प्रस्ट छैनन्।
यदि राष्ट्रियताका सम्बन्धमा आवेग थियो भनेका हुन् भने उनले त्यसबेला गरेको विस्तारवादी भारतीय नीतिको विरोध ठिक थिएन भनेका हुन सक्छन्। अर्थात्, एकातिर भारतले गरेको बलमिच्याइँमा उनको चित्त दुख्छ, अर्कातिर आफूले लिएको भारतविरोधी आन्दोलनप्रति उनलाई पश्चाताप देखिन्छ। भनेको मतलब के भने, माओवादी नेताहरू एउटा अतिक्रुर, असामाजिक र गैरराजनीतिक विचार अघि बढाएर सत्तामा त आए, तर अब कसरी अघि बढ्ने भन्नेमा रनभुल्लमा परेका छन्। उनीहरूलाई पहिले गल्ती भयो भन्ने आभास भएको छ, तर अब पुनः डरलाग्दो गल्ती नगर्ने मार्ग खुट्याउन सकेका छैनन्।
भट्टराई फेसबुक पेजमा लेख्छन्, 'सुरुसुरुमा म पनि राष्ट्रियतासम्बन्धी विवेकसम्मतभन्दा आवेगात्मक धारणा बढी राख्थेँ। मेरो पिएचडी शोधग्रन्थ, संयुक्त जनमोर्चाकालका मेरो नेतृत्वमा भएका अनगिन्ति राष्ट्रियतासम्बन्धी आन्दोलन, चर्चित ४० सूत्रीय मागपत्र आदि त्यसका दसी हुन्।'
एकातिर भट्टराई आवेगी भएको स्विकार्छन्, तर त्यो आवेगमा डढेर १५ हजारभन्दा बढीको ज्यान गएको स्विकार्दैनन्। बाबुराम भन्छन्, 'आन्तरिक राष्ट्रिय एकता मजबुत नगरी, जनतालाई अधिकारसम्पन्न नबनाई र देशलाई आर्थिक रूपले समृद्ध र सम्पन्न नगराई हामीले बाहिरी राष्ट्रियताको लडाइँ जित्न सक्दैनौं।' तर, यो उनकै आवेग हो, जसले देशलाई जात, जाति, भाषा, धर्म, पहाडी, मधेसी आदि विभिन्न नाममा बाँड्यो र अब फेरि गल्ती नगर्ने भन्ने यिनै कमरेड जनतालाई काम गरेर बाँच्न होइन, आफ्नो भूभागमा नचाहिँदो अधिकार दाबी गरेर र अरूसँग लडेर बाँच्न सिकाउँदैछन्।
एकातिर समाजवाद आउन पँुजीवादको पूर्ण विकास हुनुपर्छ भन्छन् भने अर्कातिर पुँजीवादी व्यवस्था निमिट्यान्न बनाउन, प्रतिस्पर्धी व्यवस्था सिध्याउन उत्पादन–ब्रिगेड बनाउँछन् र राष्ट्रको ढुकुटी रित्याई आफ्ना कार्यकर्ताको बचत तथा ऋण सहकारीलाई बलियो बनाउँछन्। राष्ट्रिय पुँजीपतिको संरक्षण गर्ने कुरा गर्छन्, तर उनको दललाई करोडौं सहयोग नगर्ने उद्योगपति र व्यापारीलाई जरैदेखि उखेल्ने कार्य गर्छन्।
कमरेड बाबुरामजस्तै अर्का ठूला कमरेड पुष्पकमल दाहालले पनि आफूले विगतमा गरेका गल्तीका फेहरिस्त दिने काम गर्दै आएका छन्। उनलाई पनि अहिले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएको, प्रधानसेनापतिसँग अनाहक निहुँ खोजेकोजस्ता अनेक विषयमा पश्चाताप छ। अहिलेको नेपाली राजनीतिका यी दुई शीर्षस्थ नेतालाई आफूले विगतमा गरेका कुरा गल्ती भएछन् भन्ने बुझाइ भएको देखिन्छ, तर दुवै यो गल्ती सच्याउने बाटोमा छैनन्। उनीहरू अझै बलको भरमा निर्वाचनमा जानुहुन्न भन्ने मान्न तयार छैनन्।
जनतालाई जबर्जस्ती तर्साएर भोट हाल्न लगाउनुहुन्न भन्ने बु‰दैनन्, चन्दा माग्नु तिम्रो स्वविवेकीय अधिकार होइन भन्ने थाहा नपाएझैं गर्छन्, मरेका मान्छेको नाममा भोट खसाएर जित्दा नैतिक बल प्राप्त हुन्न भन्ने चेत छैन। विगतमा गरेका गल्ती सम्झँदै रुने, तर वर्तमान र भविष्यमा गल्ती नसुधार्ने हो भने केही तुक छैन मनमष्तिक घोच्यो भनेर गोहीको आँसु बहाउनुको।