अर्को भाग-
चुरोट बल्दै जाँदा लगभग हातको छाला छुन लागिसकेको थियो र खारिलो तथा नमिठो धुवाँ घुम्दै माथितिर बग्दै थियो। ठूल्दाई, आफूले दायाँ हातको चोर औँला र माझि औँलामा च्यापेको चुरोटबाट मानौ अनभिज्ञ थिए र बायाँ हातले समातेका २१ पत्तिमा कुनै बैज्ञानिक आफ्नो प्रयोगबाट आशा गरे अनुरुपको नतिजा नआएकोमा घोत्लिए जसरि घोत्लिराखेका थिए।
सुन्तले आफ्नो तासको पत्ति यता उता सार्दै थियो। दीप आफ्नो तासको पत्ति घोप्टयाएर भुइँमा राखेर, खुम्चिएका नोटहरु तह लाउनमा व्यस्त थियो। लहरेको मुहार भने बिजुली बले जस्तो चम्किलो थियो। ऊ कतिबेला ठूल्दाईले तास फाल्लान र टिपेर बाजि मारौँ भन्ने दाऊमा थियो शायद; टुलुटुलु ठुल्दाई घोत्लिएको हेर्दै थियो।
कैले साहु अब दुई हात पछि तासको भाडा आउनेमा ढुक्क थियो।
“खै ठुल्दाई कति टोलाइरा, खुरुक्क एउडा फालम न गाँठे ग्याम गर्न हतार लाइसको!”
अधैर्यतापूर्वक पँलेटि कसेर बसेको लहरेले दायाँ हातले आफ्नो दायाँ घुँडा समाउँदै घुँडा हल्लाएर बोल्यो।
“ पख् न कति हतार गरिरा? मिलाउन परेन पइला??? सुको माल परेन तेसको सत्तेनाश हुने!”
ठूल्दाई अलि झर्केको जसरि बोले।
“ ब्यान नै बित्न लाओ भनेर सम्झा नि!”
लहरे पहिला ठुल्दाई झर्किएकोमा सकपकायो र सबैको अनुहार हेर्दै उत्तर दियो।
“आत्था नि बाबाssss, तेसकि….!”
अचानक ठुल्दाईलाई चुरोटको ठुटोले पोल्यो र मुखबाट फोहोर गालि निकाल्दै ठुटो हुत्त्याएर फालिदिए! ठुटो अलि पर कैले साहुले भर्खर बनाएको प्लास्टिकको पोकामा पर्यो।
कैले साहु हत्त न पत्त उठेर प्लास्टिकको प्याकेट उठायो र चुरोटको ठुटो बाहिर फाल्दै बोल्यो-
“ माल परेन भन्दइमा जता पायो तेतइ आगो हुर्याम्न भ’न नि ठूल्दाई, अइले तो ठुटो मेरा कपालमा पर्या भ’ के हुन्तो!”
कैले साहुले छुचो मुखले राम्रो स्वर निकाल्यो तर स्वरमा मिसिएको रिस ठूल्दाईले चाल पाए। एक त दुई हात खेलिसक्दा पनि एउटा माल नपरेको अर्को तिर्दा तिर्दा भएको चालिस रुपियाँ सकिन लागेको बेला कैले साहुले बचन लाउँदा ठुल्दाईलाई रिस उठ्यो। तर प्रतक्षत: ठूल्दाईले रिसलाई दबाउनु उचित सम्झिए। उधारो लिएर जानु पर्ने थियो र कैले साहुलाई रिस उठाएमा उसले गाउँभरि ठूल्दाईको खेदो खन्ने पक्का थियो।
“ तास हेर्दा हेर्दा चुरोटले पोल्या चालै पाइनछु “ नक्कली हाँसो मुखमा ल्याउँदै ठूल्दाईले दाँत देखाए।
नक्कलि हाँसो नै मुखमा ल्याउँदै कैले साहुले पनि दाँत देखाएर हँसाइको उत्तर हँसाईमा दियो।
ठूल्दाईले तास फाले।
लहरेले तास झर्न नभ्याउँदै टिप्यो र खेल उसले जितेको घोषणा गर्यो।
ठुल्दाईले हतार हतार तासको थुप्रो पल्टाए र भित्रपट्टि भएको जोकर हेरे। हतार हतारै आफ्ना सबै २१ पत्ति हेरे, र पुरानो हाँडिको पडाछिपट्टिको भाग जस्तो अनुहार बनाए।
दीपले भएको तास फर्कायो र खुट्टा तेर्स्याएर पल्टियो।
“कति खाइस्?”
दीपले लहरेलाई प्रश्न गर्यो।
“पख् माल गनम, तँ सँग कतिको छ?”
दीपले उत्तर दिन नपाउँदै ३ वटा तास अगाडि पल्टाएर सुन्तले बोल्यो-
“ एता हेरम हेरि एता, ज्यान संग १० को छ!”
ठूल्दाईले सुन्तलेलाई हेरे र आहत् भए।
ठूल्दाईको खल्तिमा भएको पैसाले माल तिर्न नपुग्ने निश्चित थियो!
आहत भावले ठूल्दाईले कैले साहुलाई हेरे।
कैले साहुले आफ्नो टाउको हल्का दायाँ काँधतिर ढल्काएर “ के गर्नु ठुल्दाई यस्तै हो” भन्ने भाव देखायो।
सबैले माल गने।
ठुल्दाईले जम्मा गरेर २० रुपियाँ तिर्नु पर्ने भयो। उनले खल्ति टक्टक्याए, जम्मा १३ रुपयाँ निस्कियो।
“ जम्मा तेर बाँकि रेछ हे हे हे”
ठूल्दाई फेरि दाँत देखाउँदै नक्कलि हाँसो हाँसे।
“ काँ तेस्तो भनेर पाइँछ, तासमा ठूल्दाई सुल्दाई भनिन्नन्!”
लहरे जितेको पैसा नपाइने भयो भन्ने सम्झेर आत्तियो र अलि चर्को स्वरमा ठूल्दाईतिर हेरेर बोल्यो।
“मैले कति तिर्न पर्ने भो ए लहरे स्वाँठ् अइ सोध्या सुनिनस? कि चाइन्न पइसो तँलाई?’
दीपले पल्टेको पल्टेइ अलि कडा स्वरमा भन्यो र सुन्तलेलाई परेको माल हेर्दै उसलाई पैसा तिर्न थाल्यो।
“ दिपे तँ ठूल्दाईलाई रिन दे त दस रुप्पे!”
लहरेले दीपलाई भन्यो।
दीपले लहरेलाई आँखा तर्दै भन्यो-
“चोरेर ल्याएको पइसो छ र तँ बजियाले जोजोलाई भन्छस रिन तिर्दै हिन्ने?”
दीपले रिसाएको भावमा लहरेलाई भन्यो र माल हिसाब गरेर पैसा गन्न थाल्यो।
ठूल्दाईको पैसा सकिएकोमा यता कैले साहु व्यग्र देखिन्थ्यो। पैसा सकिएपछि ठुल्दाई खेल्नेवाला थिएनन् र ठूल्दाईले नखेलेमा कसैले पनि तासको पुरा भाडा तिर्ने थिएनन्।
कैले साहुले मनमनै केहि सोच्यो र तन्किएर बस्यो।
“ खै ठुल्दाई तपाइँ मलाई २० रुप्पे दिनोस म दीपे र सुन्तले संग मिलाम्छु!”
लहरेले ठूल्दाईलाई हेर्दै भन्यो।
सुन्तले लमतन्न परेर गुन्द्रिमै उत्तानो परेर आँखा चिम्लन थाल्यो।
दीप अघि जस्तै पल्टेर भावबिहिन आँखाले ठूल्दाईलाई हेर्न थाल्यो। लहरे अझै ठुल्दाईको उत्तर र पैसाको प्रतिक्षामा ठूल्दाईलाई हेर्दै थियो।
ठुल्दाईलाई उकुसमुकुस भयो।
“ तेर रुप्पे अइले लैजा बाँकि सात रुप्पे लाइस् ल तैँले!”
ठूल्दाईले भन्न सक्ने यति थियो यति नै भने र १३ रुपियाँ लहरेको अगाडि भुइँमा तासमाथि राखिदिए। कैले साहुतिर हेरेर फेरि बोले-
“ खै तो मास र तेल पाए जान हुन्तो, घराँ जाहान कुरिरा होलि?”
“ लाइस भनेर काँ पाइन्छ? जित्या पइसो चाइयो याँ खनखनि गनेर!”
लहरे पैसा नआउला भनेर आत्तियो र भुइँको पैसा टिप्दै ठूल्दाईतिर हेरेर करायो।
दिप र सुन्तले लहरेलाई हेर्दै खिस्स्याएको हाँसो हाँस्न थाले।
“ अब रुन बेर मान्दैन बजिया हेहेहेहेहे!”
दिपले प्वाक्क मुख फोर्यो।
यो सुनेर सुन्तले अलि जोडले हाँस्यो।
लहरे फेरि सकपकायो। दीप र सुन्तले नहाँसेको भए एकछिन कराएर भए पनि चुप लाग्नु पर्ने स्थिती देखेको थियो लहरेले, तर हाँसेर दीपले ‘रुन्चे’ भनेर लहरेको अहम् उचाल्यो। अब उसलाई जसरि भए पनि ठूल्दाई संग पैसा लिएर देखाउनु पर्ने थियो र समय ऊ संग कम थियो। उसको दिमाग छिटो छिटो चल्न थाल्यो। पुलुक्क कैले साहु तिर फर्कियो र भन्यो-
“ कैले साउ हेरि अब २ ग्याम पछि तासको भाडा नि आम्छ तिम्लाई, ठुल्दाईलाई रिन दे भैहालो नि अलि अलि, सामान तेसै पनि उधारै लाने रे, के भो त?”
कैले साहुको मनको कुरा लहरेले गर्दियो। कैले साहु मनमनै आफूले मुख फोर्न नपरेकोमा खुसि भयो र बोल्यो-
“ अब अरुलाई भा’ भ रिन त के उधारो नि दिने मुन्छे हइन म, तेइ नि आफ्नै ठुल्दाईलाई एउटा दोटा समान उधारो दिन र दुइ चार रुप्पे रिन दिन क्यार्न आइतबार कुर्न परो र मलाई!”
ठूल्दाई अक्क न बक्क परे। एक मन त उनलाई लहरेले माने देखि, सामान लिएर घर जान पाए सबैकुरा ठिक हुन्थ्यो जस्तो लागेको थियो। तर कैले साहुले रिन नै दिने भनेपछि उनको मनमा कता कता अलि अलि पैसा भएर केहि हात खेल्न पाए गुमेको पैसा फिर्ता ल्याउने आश पलायो। कैले साहु तिर हेरेर भने-
“ लौ त नि अब लहरे मानेन, तेसइ गरम्। बरु पइला सामान पोको पार्दे खेल सकेर फुत्त हिँड्न हुन्तो!”
कैले साहु अलिकता रमाएको जस्तो देखियो। बसेको ठाउँबाट उठेर पर कुनामा तेल राखेको भाँडोतिर जाँदै भन्यो-
“ल म तेल भर्न लाएँ ठुल्दाई, बरु रिन कति दिम? तेल र मासको जोडेर सइ रुप्पे पुर्याम त?”
ठूल्दाईलाई ठिकै लाग्यो कुरा। उनले सहमतिमा टाउको हल्लाए र दीपतिर हेरेर भने-
“ ल दीप बाउ, एउडा चुरोट सल्काउ त, दुइ सर्को तानेर तास बाँड्छु म, यसपालि कसो दाऊ नलाग्ला!”
लहरे संतुष्ट देखिन्थ्यो। कैले साहु संतुष्ट देखिन्थ्यो। ठुल्दाई संतुष्ट तर व्यग्र देखिन्थे। दीप अल्छि देखिन्थ्यो र सुन्तले भावबिहिन देखिन्थ्यो।
-----
गाग्री भित्र लानु पर्ने थियो तर थकाइले हो कि के ले हो नेप्चिले बाहिर पिँढिमै गाग्रि बिसाइन्। एक पटक बोझ हटेकोमा लामो सुस्केरा हालिन् र निधारको पसिना पुछिन्। भैँसि एकोहोरो कराएको कराएइ थियो।
“कति कराउन सक्छस ए काल्? पख् कुँडो लेराम्छु अनि हसुर्लास!”
यति भन्दै बिहान अँगेनामा राखेको कुँडो लिएर आऊने बिचारमा नेप्चि भित्र जान ढोकातिर लागिन् र अनायाशै केहि सम्झेर टक्क अडिइन, फेरि बाहिरपट्टि नै आइन् र बर्बराउन थालिन्-
“हरे शिब शिब, आज भैँसी दुहेकै छैन! एसबेला भैसको, अब पइला कुँडो ख्वाउनु कि दुहुनु?”
एकछिन किर्कर्तव्यबिमुढ भएर त्यत्तिकै टोलाइन र एकैछिनमा कुँडो खुवाउने मनसायले भित्र छिरिन्।
धुवाँ भरिएको रहेछ। केहि बेर गहिरो सुख्खा खोकि खोकिन् र अँगेना तिर बढिन्।
आगो बलेको पनि थिएन र निभेको पनि थिएन, त्यसैले दाउरा बाट पिरो धुवाँ पुत्ताइराखेको थियो।
नेप्चिको नजर अँगेनाबाट बाहिर रहेको चिसो कुँडेमा पुग्यो, उनको पारा चढेर आकाशमा पुग्यो! त्यसमाथि गाग्रि बोकेर उकालो आउँदाको थकाइ र पँधेरामा कुम्लेको बिग्रेको चाला देखेर आएको रिस त छँदैथियो।
“ यस्ता संग पनि जिन्तखि जाला र पर्भु!”
फत्फताउँदै उनि बाहिर निस्किन र गोठमा गएर पाडो फुकाउन थालिन्।
पाडो फुक्ने बित्तिकै बुर्कुसि मारेर दौडँदै भैसितिर गयो। भैँसि ‘बाँ’ ‘बाँ’ गरेर कराउन थाल्यो। नेप्चि एकटकले हेर्दै थिइन् भैँसि कराएको र पाडो उफ्रेर भैँसि नजिक गएको! मातृवात्सल्य देखेर एकछिनको लागि नेप्चिको रिस शान्त भयो। पाडो मुख हुत्त हुत्त हुत्याउँदै दुध चुस्दै थियो, भैँसि यता उता चल्दै पुछ्छर हल्लाउँदै थियो; शायद, आफ्नो संतानलाई दुध खुवाउन पाउँदा भैँसिलाई अपार संतुष्टी मिल्दै थियो!
एकछिन हेरेर नेप्चि भित्र गइन्। भित्र एउटा खामोमा किला ठोकेर सानो ढलौटको बाल्टिन झुन्ड्याइएको थियो। नेप्चिले बाल्टिन झिकिन् र बाहिर आइन्।
गाग्रिबाट बाल्टिनमा पानि हालेर बाल्टिन पखालिन्। अलिकता पानी बाल्टिनमा फेरि हालिन् र त्यो लिएर गोठतिर लागिन्। गोठको दलिन जस्तोमा बाल्टिन झुन्ड्याइन् र पाडोलाई भैँसि नजिकै तर पाडोले थुन् नभेट्ने ठाउँमा लगेर बाँधिन्। उठेर बाल्टिन ल्याइन र भैँसिको थुननिर टुकरुक्क बसिन्। आफ्ना दुबै तिघ्राले बाल्टिनलाई च्यापिन्, एक पटक बाल्टिनको पानीले भैँसिको थुन पखालिन् र दुवै हातका औँलाले भैँसि दुहुन थालिन्।
नेप्चिका औँलाले भैँसिको थुनहरु निचोर्दा दूधका धारा झर् झर् गर्दै नेप्चिले च्यापेको बाल्टिनमा पर्दै थिए। भैँसि अघि जस्तै बेलाबेलामा हल्का पुछ्छर हल्लाउँदै थियो। नजिकै भैँसिको आफ्नै पाडो थियो र शायद; आफूले चिनेको मान्छेलाई दुध ख्वाएर आफ्नो पाडो नजिक बस्ने सम्झौतामा खुसि थियो।
“ दूध नि दिनदिनै घट्दो छ!”
दूध दुहिसकेर गोठबाट बाहिर आउँदै नेप्चि बर्बराईन्।
दुधको बाल्टिन लिएर भित्र छिरिन्, बाल्टिन एकातिर राखिन् र बाहिर आइन्।
“एसबेला भैसको सिरिमानको अत्तोपत्तो छइन!”
बाहिर पिँढिमै एकछिन थकाई मार्दै फेरि बर्बराईन्।
“ कि तास खेल्न लागे हाम्रा सिरिमान्? के भर भयो र? खेल्न थालेसि बुडि सुडि सपै बिर्सिन्छन्!”
नेप्चि जति सोच्दै जान्थिन त्यति नै उनको मुहारमा रिस फैलिँदै जान्थ्यो।
“ पानसइ रुप्पे कठै! च्व च्व च्व!”
नेप्चिले थाहा पाएकी र ठुल्दाईले हारेको ठुलो रकम सम्झँदै नेप्चि रिस बढाउन थालिन्।
पिँढिमा बस्दै सोच्दै जाँदा नेप्चिलाई ठुल्दाई, जुवाडे, भर नभएको, माया नगर्ने र घरको मतलब नभएको लाग्न थाल्यो। रिसमा शायद थकाई धेरै मिसिएको थियो क्यारे उनको मुहार झन बिग्रियो। लामो सुस्केरा हाल्दै बर्बराइन-
“ऐयाsss एकछिन पल्टिन परो!”
उनलाई एकछिन आराम गर्न मन लाग्यो, जुरुक्क उठिन् र भित्र छिरिन्।
उनको नजर फेरि अँगेना बाहिरको कुँडोमा पर्यो। कुनाबाट अलिकता दाउरा ल्याएर अँगेनामा थपिन् र कुँडो बसालिन्। माथि कोठामा गइन् र खाटमा पल्टिइन्।
हजार काम भएको घरमा उनलाई आराम काहाँ थियो र! फेरि सोच्न थालिन्-
“आजको घाम नि ओइलाओ भने मसेउरा कुइन्छ, मास लिन गा’ बुडा अइले सम्म आम्न पर्दैन त?”
उनले आफैँलाई प्रश्न गरिन्।
“आज के तिउन खाने होला? साग नि अस्ति भर्खर टिप्या अइले लागेकै छैन! बरु गुन्द्रुक थो कि बाँकि?...ए! गुन्द्रुक नि तो तलको त उइलेइ सिद्ध्या नि साँच्चि! माइताटि ल्याको तोरिको गुन्द्रुक कता राखेँ बरु? तल भान्सामा त छैन! खाटामुनि राखेँ कि सन्दुकमा राखेँ?”
उनि सोच्दै गइन् र जुरुक्क उठिन्। उनले माइतिबाट ल्याएको गुन्द्रुकको पोको राखेको ठाउँ सोच्न थालिन्।
“संदुकमै राखेँ क्यार!”
मनमनै भन्दै उनले संदुकको साँचो लिइन् र संदुक खोल्न थालिन्।
संदुकमा यताउता नजर दौडाइन् गुन्द्रुकको पोको त्यता थिएन। उनि संदुक बन्द गर्न लागिन्। अचानक उनको आँखिभौँ अलिकता खुम्चिए। उनको ढाकाको थैलीको मुख अलिकता खुलेको थियो र थैली खुकुरीको दाबमाथि थियो।
“ थिचेर राख्या थैली क्यारि माथि आयो?”
उनले मनमनै प्रश्न गरिन् र हतार हतार थैली खोल्न थालिन्।
पैसाको बिटोमा उनले मजाले कसेर बाँधेको धागो खुकुलो थियो। उनले धागो फुकाइन् र पैसा गन्न थालिन्।
उनले धेरै कुरा बुझिन्!
उनको अघि शान्त नभैसककेको रिसले आकाश छोयो। उनले आफूले घरमा गर्नु पर्ने धेरै कामहरु सोचिन्। उनले उनलाई दिनदिनै काम गर्दा लाग्ने थकाई सोचिन्। उनले ठूल्दाईलाई सोचिन् र उनलाई ठूल्दाई भर्खरको ठिटा भन्दा पनि अल्लारे लाग्यो। उनको चित्त दुख्दै गयो। जति चित्त दुख्दै बढ्दै थियो त्यति नै रिस पनि चुलिँदै थियो। थैली त्यत्तिकै सन्दुकमा राखेर ढ्याप्प सन्दुकको ढोका बन्द गरिन्। ठूलो आवाजका साथ सन्दुकको ढोका लाग्यो।
“ यस्तो तालले हुँदइन! यस्ता सिरिमान भएसि क्यार्नु!”
उनि कोठाबाट बाहिर निस्किइन र तल ओर्लिन्।
बाहिर निस्कने बेलामा ढोकापछाडि राखेको कुचो उठाइन् र ढोका ढप्क्याएर फटाफट हिँड्न थालिन्। उनलाई कतिबेला कैले साहुको पसल पुगौँ जस्तो भैरहेको थियो।
------