"कुम्ले कत्ति ढिलो गरेको तिमीले, म अघि देखि तिमीलाई कुरेर बसेको, ल छिटो हिँड म सङ्ग" म ढिलो पुगेको हुनाले तितौरीले मलाई कराइन्।
तितौरी सार्है राम्री देखिएकी थिइन् गुन्यू चोली, पटुकी, दुइ चुल्ठी कपाल अनि रातो रिबनमा। म एकछिन् उन्लाई हेरिरहेँ।
"के ट्वाल्ल परेर हेरेको नि, लौ हिँड छिटो" उनले मलाई झस्काइन्।
"मैले जानु हुन्छ र त्यहाँ? फेरि कसैले केहि भन्दैनन्?" मलाई संकोच लागिरहेको थियो त्यहाँ जान।
"केहि हुन्न, म भन्छु नि सबैलाई। तिमी त्यहाँ गयौ भने कुन राम्रो भयो, कुन नराम्रो भयो सबै भन्नसक्छौ नि त" उनले मलाई भनिन्।
हामी दुबैजना स्कूलको त्यो कोठामा गयौँ। भित्र सबैजना आइसक्नुभएको रहेछ। मिस, ठुली, सान्नानी, डल्ली फुपु, सन्जु अनि इन्द्रेणी सबैजना आइपुगिसक्नुभएको रहेछ।
"ए तितौरी! किन कुम्लेलाई लिएर आएकी नि?" डल्ली फुपुले अलि रिसाएझैँ गर्दै भन्नुभयो।
"के हुन्छ त? कुम्लेले हामी सबैको नाँच हेर्छ अनि कस्को राम्रो भयो कस्को नराम्रो भयो भन्छ नि अनि सबैले राम्रो बनाउन सकिन्छ" तितौरीले म त्यहाँ जानुको ठुलो कारण छ भने जस्तो गरी सबैलाई सम्झाइन्।
"ठिकै छ नि त, कुम्लेको अगाडी नाँच्न तिमेरुलाई के को लाज नि, कम से कम उस्ले कस्को राम्रो भयो कस्को नराम्रो भयो भनेर सल्लाह त दिनसक्छ।" मिसले तितौरीको कुरोमा सहमती जनाउनु भयो।
"ल ल ठिक छ, अब नाँच्न सुरु गरुम्। पर्सि भैलो खेल्नु छ केहिपनि गरेको छैन" ठुलीले छेउमा रहेको टेपरिकर्डरमा क्यासेट हाल्दै भनिन्।
"यो सुरुको गानामा चाँहि तितौरीले नाँच्ने, ल तितौरी तिमी तयार बन" मिसले हातमा भएको लिस्ट हेर्दै तितौरीलाई नाँच्न बोलाउनु भयो।
"हुन्छ!" भन्दै तितौरी सबैको माँझमा गइन्।
टेप रिकर्डरमा "आज बार्ह हाते पटुकी को कुरा गर मायालु" भन्ने गाना बज्न थाल्यो। तितौरी त्यहि गाना सङ्गै नाँच्न थालिन्। म उनले नाँचेको हेरेर मख्ख परेर बसेँ।
"कस्तो लाग्यो मेरो नाँच कुम्ले?" नाँचिसकेपछि मेरो छेउमा आएर तितौरीले मलाई सोधिन्।
"सार्है राम्रो नाँच्यौ तिमीले। मलाई त कस्तो मनपर्यो तिमीले नाँचेको" मैले उनको तारिफ गर्ने मौका छोडिन।
उनि मलाई हेरेर खिस्सिक्क हासिन्। अनि निधारमा आएको पसिना पुछिन्।
"कस्तो गर्मी भयो हगि? म त्यो झ्याल खोल्छु है" भन्दै मैले पाखातिरको झ्याल खोलेँ।
त्यसपछि अरु सबैको पालो आउन थाल्यो नाँच्ने। मिसले सबैलाई गाना छुट्याउनु भएको रहेछ। ठुलीले "मै छोरी सुन्दरी कसरी भरौँ पानी" भन्ने गानामा नाचिन्। सान्नानीले "लहनाले जुरायो कि बाहनाले भेटायो" भन्ने गानामा नाचिन्।
इन्द्रेणी चाँही मिस सङ्ग झगडा गर्दैथिइन्।
"नाई मिस म यो गानामा नाँच्दिन के" इन्द्रेणीले मिसलाई भनिन्।
"केहि हुन्न के इन्द्रेणी, गानामात्र त हो नि। फेरि गाउँमै नाच्ने त हो, सबैले राम्रो भन्छन्" मिसले उनलाई सम्झाउनु भयो।
"त्यहीपनि कसरी नाँच्नु यस्तो गानामा गाउँले को मुखुन्जेल" उनलाई चित्तै बुझेको थिएन।
"ल ल ठिकै छ, अहिलेलाई यो गानामा नाँच अनि तिमीलाई मनपरेन भने फेरि अर्को गाना तिम्रो लागी छुट्याउँला" मिसले इन्द्रेणीलाई सम्झाउनुभयो।
"हुन्छ त्यसो भए" भनेर इन्द्रेणी तयार भइन्।
ठुलीले टेपरिकर्डर बजाइन्।
"पोइला जान पाम पोइला जान पाम" भन्ने गाना बज्न थाल्यो। त्यही गानामा इन्द्रेणी नाँच्न थालीन्।
उनि नाँचेको हामी सबैले रमाइलो गरेर हेरिरहेका थियौँ।
त्यत्तिकैमा झ्याल बाहिर कुनै चिज भुइँमा बजारिएको जस्तै गरेर ठुलो आवाज आयो।
हामी सबैजना झस्कियौँ।
"के हो त्यस्तो आवाज?" मिसले सोध्नुभयो।
"केहि होइन मिस, त्यो रुखको कटर झरेको होला" मैले मिसलाई भनेँ।
"आवाज त ठुलो छ नि" मिसले फेरि भन्नुभयो।
"ठुलो कटर होला मिस, त्यही भएर ठुलो आवाज आएको" मैले फेरि मिसलाई सम्झाएँ।
"ल ल ठिकै छ" मिसले फेरि नाँचमा ध्यान दिन थाल्नुभयो।
इन्द्रेणीले नाँचिसकेपछि मिसले सबैलाई खानेकुरा दिनुभयो। अनि सबैलाई भोली बेलुका भेट्ने भनेर बिदा दिनुभयो।
सबैजना आ-आफ्ना घर तिर लागे। म चाँहि जिम्माल बा को घरतिर लागेँ।
जिम्माल बा को घरमा थुप्रै जना बसिरहनुभएको रहेछ। जिम्माल बा चाँहि खाटमा सुतिरहनु भएको थियो। नमेले तातो इट्टालाई कपडामा बेरेर जिम्माल बा को ढाडमा सेकिरहेको रहेछ।
"लु कुम्ले आयो" नमेले मलाई देख्ने बित्तिकै भन्यो।
"जिम्माल बा! के भयो तपाईँलाई?" मैले जिम्माल बा थला परेको देखेर सोधेँ।
"ऐया! के हुनु नि कुम्ले, तिमीहरु तन्नेरीको लहै लहै मा लागेर मेरो यस्तो दशा भयो" दुखेको ढाड सुमसुम्याउदै जिम्माल बा ले भन्नु भयो।
"किन नि के भयो र त्यस्तो?" मैले फेरि सोधेँ।
"के हुनु नि, तैँले झ्याल खोलिदिएपछि हामी सबैजना त्यहाँबाट उनिहरु नाँचेको चिहाएर हेरिरहेका थियौँ। सुरुमा त ठिकै थियो, पछि इन्द्रेणीले "पोइला जान पाम" भनेर नाँचेको देखेर त मेरो हातै फुस्कियो। एकै चोटी तल बजारिएँ, हत्तपत्त नमे र चित्रेले मलाई उठाएर त्यहाँबाट भगाए, नत्र तिनीहरुले देखेका भए मेरो बेइज्जत हुन्थ्यो" जिम्माल बा ले एकै साँसमा कुरो सिध्याउनु भयो।
"त्यहि त, निकै ठुलै कटर झरेकोरहेछ अनि किन त्यत्रो आवाज नआओस त" मैले ठट्टा गर्दै भनेँ।
छेउमा बसेका सबैजना हाँस्न थाले। जिम्माल बा पनि ढाड सुम्सुम्याउदै हाँस्नु भयो।
समाप्त :पि