"कुम्ले, के छ हालखबर, म उषा बोलेको"
एउटा अपरिचित फोन नम्बरबाट गरेको हुनाले सुरुमा उषालाई ठम्याउन मलाई गार्हो परेको थियो। तर उनको बोली नचिन्ने त कुरै भएन।
"ओहो! उषा तिम्रो नम्बर त मैले सेभ गरेर राखेको थिएँ त, तर अहिले अर्कै नम्बर आयो नि?" मैले बुझ्ने प्रयास गरेँ
"ए! यो मेरो नयाँ नम्बर हो। त्यहि भएर तिमीले ठम्याउन सकेनौ। कुम्ले! तिमी आज बेलुकी खाली छौ?" उनले मलाई सोधिन्।
"खाली नै छु, किन नि? के काम पर्यो र त्यस्तो?" मैले फेरि सोधेँ
"तिमी सङ्ग केहि सल्लाह गर्नु छ, आज अफिस सकेर साउथ बीचको Starbucks मा आउन है!"
"ओहो! त्यस्तो के पर्यो र उषा? यो नाचिजलाई किन त्यसरी सम्झियौ?" मैले ठट्टा गर्दै भने।
"सबै बेलुकै कुरा गरौँला नि है, अनि तिमी ६ बजे त्यहाँ आइपुग है त"
मैले बेलुकी उनलाई भेट्ने कबुल गर्दै फोन राखेँ।
उषा सङ्ग परिचय भएको त धेरै भएको छैन। हाम्रो कामको प्रकार एउटै भएकोले होला केहि समयमै हामी अलि नजिकको साथी भयौँ। कामको सिलसिलामा आइपर्ने धेरै समस्याहरुमा उनले मलाई सल्लाह अनि सहयोग गरेकी छिन्। भन्नु पर्दा उनलाई मैले unofficial गुरू भनेपनि हुन्छ।
अफिसमा हत्तार हत्तार आजको काम सकेर म साउथ बीचतिर निस्किएँ। अहिले यता तिरको सिजन सुरु भएकोले बाटोमा धेरै ट्राफिक हुन्छन्। म बल्ल बल्ल ६:०५ मा त्यो Starbucks मा पुगेँ।
उषाले हात हल्लाएर मलाई आँफु बसे तिर बोलाइन्।
"अहिलेको ट्राफिकले हैरान पार्छ। झन अफिस टाइम सकिएपछि त अत्ति गार्हो भन्या" मैले आँफु ढिला भएको कारण उनलाई बताएँ।
"ठिकै छ नि, म पनि भर्खरै आएको। यो लेउ तिम्रो लागी क्यापेचिनो", उनको टेबलमा भएको दुइवटा कप मध्य एउटा म तिर धकेल्दै उनले भनिन्।
"अनि के छ त हालखबर, उषा? धेरै दिन भयो है हाम्रो भेटघाट नभएको पनि" मैले कफीको कप समाउदै भनेँ।
"हो त, तिमीपनि ब्यस्त म पनि ब्यस्त। यस्तै त हो नि यहाँको जिन्दगी,.... तिमीलाई चिनी पुग्यो?" उनले कफी सुरुप्प पार्दै भनिन्।
"अँ! पुग्यो पुग्यो ठिक्क छ।" मैले कफी पिउदै भनेँ।
"अनि कस्तो भयो त आजको अफिसको काम?" उनले म तिर हेर्दै भनिन्।
"ठिकै भयो! अलि ब्यस्त थिएँ आज, एउटा प्रोजेक्ट बुझाउनु थियो काउन्टीलाई, बल्ल बल्ल २:२० को कुरियरबाट पठाएँ, १० दिन देखी क्लाइन्टको बाट चेक पर्खिरहेको थिएँ, आज आइपुग्यो अनि मिलाउदा मिलाउदै ब्यस्त" मैले आफ्नो दिनभरको कामको जानकारी दिएँ।
"यस्तै हो है हाम्रो काम, सबै ठिक पार्यो अनि फेरि एउट प्रोब्लम देखिन्छ, अनि फेरि सुरु गर्यो", उनले थपिन्।
"अनि भन, के कति कारणले तिमीले मलाई सम्झियौ? सधै मलाई सल्लाह दिने मान्छेलाई आज कसरी मेरो सल्लाह आवश्यक्ता पर्यो?" मैले ठट्टा गर्दै प्रश्न गरेँ।
"म नेपाल जाँदैछु", उनले भनिन्।
"ए हो! राम्रो नि, अनि कहिले जाने त? प्रकासपनि सङ्गै जाने होला नि हैन?" मैले कफी पिउदै उनलाई सोधेँ।
उनको हसिलो मुहार एक्कासी अध्याँरो भयो।
"प्रकास जाँदैन, म मात्र जाने" उनले कफीको कपलाई टेबलमा घुमाउदै भनिन्।
"किन नि? यसपाली त तिमीहरु नेपाल गएर बिहे गर्ने भनेको होइन र? के भयो?" मलाई उनको कुरो सुनेर अचम्म लाग्यो।
"हाम्रो Break Up भैसक्यो, कुम्ले" उनले कफीको कपमा लेखिएको Starbucks लाई कोट्याउदै भनिन्।
"के रे? लौ कहिले नि? तिमीहरु त त्यस्तो राम्रो जोडी लाग्थ्यो मलाई त, के भयो नि त्यस्तो?" मलाई पुरै कुरा जान्ने इच्छा भयो।
"खोइ उसलाई के भयो? म त अहिलेपनि त्यस्तै छु। उसले बोस्टनमा जब सुरु गरे देखी हाम्रो भेटघाटपनि हुन छाड्यो। अस्ति उसलेनै फोन गरेर अब हामी बिचमा त्यस्तो केहि छैन भनेर भन्यो, मलाई अचम्म लाग्यो, केहि दिन रोएँ, अनि घर फोन गरेँ, आमासङ्ग मनका कुराहरु पोखेँ, अहिले तिमी सङ्ग पोख्दै छु" आँखा भरी आँशु पार्दै उनले भनिन्।
"लौ त्यस्तो पनि हुन्छ त कोहि?" मलाई अझै बिस्वास लागिरहेको थिएन।
"भयो त!" उनले मलाई हेरिन् अनि खिस्सिक्क रुन्चे हासो हासिन्।
"अनि नेपाल गएर फर्किने कि नफर्किने?"
"फर्किन्छु नि, किन नफर्किने र, काम यता तिर छ, त्यहाँ के गर्नु?"
"अनि आमाले के भन्नुभयो त?"
"आमाले मलाई अब बिहे गर्नुपर्छ भनेर कर गरिरहनुभएको छ। मलाई माग्न एउटा मेरो मामाघर तिरको चिनजानको केटा आएको छ रे"
"अनि तिमीले के सोच्यौ नि?"
"खोइ के सोच्ने? मनले मानेको छैन तर कहिले काँहि दिमागपनि प्रयोग गर्नुपर्ला नि।"
"ठिकै हो नि, प्रकास नहुने भएपछि त, कोहि न कोहि सङ्ग बिहे त गर्नै पर्यो नि, जिन्दगीलाई अगाडी बढाउनै पर्यो नि" मैले थपेँ
"त्यो त हो, तर मलाई मेरो Past ले रुवाउँछ। तिमीलाई त थाहानै छ नि प्रकासको र मेरो कुरा" उनि सार्है चिन्तित् देखिन्थिन्। चिन्ता हुनुपनि ठिकै हो। जिन्दगीमा त्यस्तो क्षण कसैकोपनि नआओस।
"हेर उषा, बितेका समयलाई सम्झेर आउने समयलाई बिगार्नु हुन्न, बितेका समयमा भएका, गरेका भूललाई बिर्सेर अब सहि बाटोमा लाग्नुपर्छ। फेरि तिमीले गल्तीपनि त गरेकी छैनौ नि, माया गर्नु गल्ती होइन नि, धोका पाउनु गल्ती होइन नि। यो त नियतीको खेल हो। तिमी यस्को सजाय आफुलाई किन दिन्छौ? अतितलाई बिर्सेर सुन्दर भविस्य बनाउनु नै सहि Decision हुन्छ" मैले उनलाई सम्झाउन थालेँ।
"तर पनि....."
"केहि तर सर होइन उषा, यदि आमाले भन्नु भएको केटा राम्रो छ र तिमीलाई ठिक लाग्यो भने तिमीले बिहे गरेरै आउनु, फेरि अब के को लागी पर्खिनु छ र?" मैले उनलाई फेरि पनि सम्झाइरहेँ।
"हुन त हो है, कुम्ले। आखिर बितेका दिनलाई सम्झेर रुनुको के अर्थ छ र?" उनले अलि मुहार उज्यालो बनाइन्।
"हो!! त्यहि भनेको मैले। हुनेवाला श्रीमानप्रति इमान्दार हुनुपर्छ। उसैलाई सबथोक मान्नुपर्छ। अनि बितेका कुराहरु त्यसै हराएर जान्छन्। त्यहि नै तिम्रो लागी राम्रो हुन्छ" मैले कुरो टुङ्याए।
"कुम्ले, तिमीलाई धेरै धेरै धन्यवाद, मलाई धेरै ठुलो moral support भयो। मलाई अब Decision गर्न सजिलो हुन्छ" उषाको मुहारमा त्यो पुरानो ज्योती फेरि फर्कियो।
"अब ठिक भयो, बरु नेपालबाट फर्किदा मलाई अलि अलि कोसेली लिएर आउनु" मैले ठट्टा सुरु गरेँ।
"ल्याइहाल्छु नि, बरु आन्टी सितपनि भेटेर तिम्रो बिहेको कुरो गर्छु। तिम्रोपनि त बेला भयो नि" उनलेपनि ठट्टा सुरु गरिन्।
"हा हा हा!! ल ल ठिक छ"
हामीले कफी सकिसकेका थियौ। कफी पसलमा धेरै Costumers आएका हुनाले हामी जानुपर्ने भयो।
मैले उनलाई गाडी सम्म छोड्न गएँ।
"कुम्ले, म तिमीलाई फेरि फोन गर्छु है" उनले मलाई त्यत्ति भन्दै आफ्नो बाटो लागिन्।
मैले हुन्छ भन्ने इशारा गर्दै उनि सङ्ग बिदा भएँ। गाडीमा आएर एकचोटी जिउ तन्काएर भित्र छिरेँ अनि आफ्नो बाटो लागेँ।
त्यत्तिकैमा मेरो सेल फोनको घन्टी बज्यो। रूपेशले फोन गरेको रहेछ।
"ओइ कुम्ले! के गर्दैछस?" उसले भन्यो।
"केहि छैन यार त्यत्तिकै यता बीच तिर आएको थिएँ, अहिले घर फर्किदै छु" मैले जवाफ दिएँ
"म नेपाल जाँदैछु नि, अर्को हफ्ता" उसले भन्यो।
"ए हो र? ल ल दामी! अनि के गर्छस् नि त्यहाँ?" मैले सोधेँ
"अब बिहे गर्ने झ्याम झ्याम, अस्ति मेरो सिटिजनपनि भयो अब जाने बिहे गर्ने अनि बुढी लिएर आउने, के बुझिस?" उसले आफ्नो प्रग्राम भन्यो।
"बिहे गर्ने? कति चोटी गर्छस् नि? अनि यहाँकि कुइरिनि नि?" मलाई अचम्म लाग्यो उसको कुरो सुनेर।
"हत्तेरी यस्ले नबुझे झैँ गर्छ। हिजो भर्खर Divorce गरेको। अलि अलि पैसा दिएर कुरा मिलाएँ। त्यो पनि खुसी म पनि खुसी" उसले सहज तरिकाले मलाई भन्यो।
"अनि हुनेवाला भाउजुले थाहा पाउनुभयो भने नि?" मैले जान्ने इच्छा गरेँ।
"केहि थाहा हुन्न अब, म बिहे गरेर सिधै कोलोराडो जाने हो, यहाँ नर्थ क्यरोलाइनामा नबस्ने अब। अनि उसलाई केहि थाहा हुन्न, फेरि अमेरिकन सिटिजनसिप लिन बिहे गरेको भन्ने थाहा पाए भनेपनि कोहि रिसाउदैनन् के" उसले अत्यन्त सजिलो तरिकाले मलाई भन्यो।
मैले उसको कुरो राम्ररी बुझ्न सकिरहेको थिइन।
"ए! कुम्ले, म अहिले राख्छु है, एउटा डाइमन्ड पसलमा गएर हिराको हार किन्नु छ, पछि कुरा गरौला है" उसले त्यत्ति भन्दै फोन राख्यो।
म उस्ले भनेका अनि उषाले भनेका कुरा हरु सम्झिन थालेँ।
एउटै देशमा बसेरपनि दुइ जना कत्ति भिन्न। के यहि हो त महिला र पुरुषमा हुने भिन्नता? मलाई यहि प्रश्न ले पिरोलिरह्यो।
समाप्त