ल, भर्खर लेखिसकें केरे।
भक्तजनहरु! फुलपाती लिएर बस्नुहोस्। प्रसाद पनि तयार गर्नुहोस्, मलाई भोक लागेको छ।
चौतारी स्वस्थानी व्रतकथा - २८ वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त अँध्यारो भएकोले शिवरुपी मानव र बाघरुपी मानवले के गरे भन्ने कुरा मैले देख्न सम्भव भएन। त्यसैले अडियो भर्सन सुनाउँछु, एकचित्त भई सुन।
"उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्! फुऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ!!"
"क्या हो ब्रो! खुब डरायौ जस्तो छ नि!"
"धत्तेरी! मेरो त होस हवासै उँडेको। यो मध्य रातमा बाघले आएर मुख सुँघ्न लागेपछि डर लाग्दैन त?"
"हाहाहा, छोड यो कुरा। बरु यसो गाँजा साँजा छ भने निकाल।"
"त्यति धेरै त छैन, दुई-चार चिलिम होला। ज्याकेटको खल्तीमा राख्या थिएँ। ल सल्काऊ"
"बल्ल जाडो कटाउन सकिने भो।"
"म यहाँ आएको कसरी थाहा पायौ त नि?"
"दिउँसो कोठाबाट हेर्दा देख्या थिएँ। चल्न पाइने त हैन। म पनि दिनभरि नचिकन बाघको मूर्ति जस्तै बनेर बस्नुपर्छ।"
"ए! अरु पनि छन् कि हामै जसरी नै बस्ने?"
"खै देखिन अरुलाई त! फुउउउउउउउउउ!! बल्ल ट्रिप दिन लाग्यो। तिमी पनि तान यार।"
"तान्दै गर। म यसो ज्याकेट लाउँछु। तिमीलाई त बाघको छालाले नै ज्याकेट भन्दा न्यानो होला। आनन्दै र'च। आफू त बाघको छालाको कट्टु शिबाय केही लगाउन पाइँदैन। त्यही पनि बाघको रौंले ज्यान चिलाएर बस्नै भा'छैन।"
"हेहे हेहे हेहे त्यस्तै हो। एक दुई दिन पछि बानी लाग्छ। मलाई त झन पुरै ज्यान चिलाएर कस्तो! हेहे हेहे, ल सोम तिमी पनि तान।"
"लौ, तिमीलाई त लागिसकेच।"
"लाग्दैन त? बल्ल बल्ल तान्न पाइया छ। तिमीलाई नि लाग्च एक छिनमा।"
"हेहे। कामै पो के छ र? आज रातभर बिताउन पर्च।"
"हाहा हाहा हाहाहाहाहा" (खित् खित् खित्)
"हाहाहाहाहाहाहाहा"
"अनि सोमको बिहे भा'छ कि छैन नि?"
"छैन सोम, तर यहाँबाट कमा'र फर्केसि बिहा गर्ने हो।"
"होहोहोहो सोम, मेरो पनि त्यही बिचार छ।"
"हाहाहा हाम्रो कथा मिल्ने र'च।"
"भविष्यको प्लान पनि मिल्ने र'च।"
"हाहाहाहाहा"
"हिहिहिहिहिहि"
"छप्की छ कि छैन नि? ठिक पारेर राख्या होलाऊ नि!"
"हेहेहे अब खोज्नी हो।"
"हाहहाहा, अनि दुई चार वर्षपछि त घरभरि भन्ट्याङ् भुन्टुङ् होलान् नि त।"
"हैन सोम्, मलाई त एउटा छोरी भए पुग्छ।"
"हो र? किन छोरी? हाम्रो बिंडो थाम्न त छोरै पो चाहिन्छ।"
"हाहाहहहा सोम, त्यो त हो। तर म साह्रै नै कमलो मनको मान्छे परें के! त्यै भएर मेरो बिंडो छोरीले मात्रै थाम्न सक्छिन्।"
"लौ, तिम्रो ईच्छा पुरा भइजाओस् सोम। मलाई चैं छोरो पाउन मन छ।"
"सोम, तिम्रो पनि ईच्छा पुरा भइजाओस्। म त अहिले महादेवको भेष धारण गर्या छु केरे। मैले दिएको आशिष लाग्छ।"
"हाहाहाहाहाहाहा, हिहिहिहिहिहिहि। सोमले हँसायो यार!!! हाहाहा तिमीले ठिक भन्यौ। म पनि देवीको बहान बन्या' छु नि। मेरो आशिष पनि तिमीलाई लाग्छ।"
"हेहेहेहेहेहेहेहे, तिमी पनि हँसाउँछौ यार। तर, त्यो आशीष मलाई लागिहालोस्।"
"लाग्छ, लाग्छ। बरु सोम, तिमी रिसाउँदैनौ भने एउटा प्रस्ताव राख्न मन थ्यो।"
"भन न, सोमसँग पनि के रिसाउने?"
"दुई चार वर्षमा तिम्रो छोरी हुने रैछ। मेरो छोरो हुन्छ। तिम्रो छोरीको हात मेरो छोरोलाई माग्न चाहन्छु।"
"कहाँ हुन्छ यार! त्यो त अति भो नि! घर जहानसँग पनि सल्लाह गर्न परो। बिहे जस्तो कुरा त्यसै हुन्छ?"
"घरजहानलाई मनाउने काम त तिम्रो र मेरो भो नि। मैले पनि त सल्लाह गर्या छैन। बिहेबारी जस्तो कुरा, अलि चित्त बुझ्या ठाउँसँग मात्रै सम्बन्ध गाँस्न पर्छ क्या।"
"त्यो त हो। ल, म पनि छोरो हुँ। वचन दिएँ। ल आऊ, हात मिलाम्।"
"हाहाहा, आजदेखि हामी सम्धी-सम्धी भएम्।"
"होहोहोहो हो यार, तिमी र म त सम्धी-सम्धी।"
"ल सम्धी, अर्को चिलिम सल्काऊ।"
"सल्काइहाल्छु नि। तर के बोल्छौ यार्? सम्धीलाई पनि 'तिमी' भन्चन् त? 'तपाईं' भन्न पर्च।"
"हेहेहेहे, सोरी सोरी, मिस्टकले भूल भो। अब 'तपाईं' भन्छु। तिमीले पनि मलाई 'तपाईं' भन्न पर्छ नि।"
"हाहाहाहा, भइहाल्छ नि। अब 'तपाईं' भन्ने। बरु दाइजो चाहिं कत्तिको चाहिने हो? आफू त गरीब परियो।"
"ह्या सम्धीज्यू, अहिलेको जमानामा पनि दाइजोको कुरा गर्ने? खुरुक्क बिन्ध्यवासिनीको मन्दिरमा देवीको साक्षी राखेर बिहे गराउने हो।"
"हैन सम्धीज्यू, बिहे त घरबाटै गर्नुपर्छ। हुने जम्मा एउटै छोरी। बुढियाहरु पनि रिति-थिति (रीति स्थिति) पुर्याएर छोरी अन्माउने भन्लान्। फेरि तपाईं पक्षका महिलाहरु पनि रत्यौली खेल्ने ईच्छा गर्लान्। सम्धिनीज्यूले के भन्नुहुन्छ सोच्नुपरो!"
"त्यस्तो नभन्नुस् सम्धीज्यू, त्यो बेलामा तडक भडक नगर्ने जमाना हुन्छ। म आफ्नै बिहे त मन्दिरमा गर्ने बिचारमा छु भने छोराको बिहे के घरमा गरिरहने? देउताको घरमा छोराको बिहे गर्न पाए अरु के चाहियो?"
"उसो भए बिहे चाहिं मनकामनाको मन्दिरमा गर्नुपर्छ। अन्त त म मान्दै मान्दिन। कुरिनघाटमा केटा पक्षको जगिया लाउने। अनि केटी पक्षको चाहिं मनकामना मन्दिर अगाडि लगाउने। केबुलकार पनि छँदैछ के रे। त्यसैले डोलीको काम गरिहाल्छ।"
"ल ल, मन्दिरको कुरा चाहिं पछि मिलाम्ला। पहिले हाम्रो बिहे पनि हुन परो। त्यसपछि छोरा छोरी पाउनु परो। अनि बिस्तार बिस्तार सोचम्ला। ट्याम छ, नआत्तिनुस्।"
"अब चैं मलाई मन्जुर भो।"
"बरु सम्धीज्यू --- हुन त सम्धीज्यूलाई यस्तो कुरा गर्न लगाउनु अलि लाजलाग्दो कुरा हो। त्यै पनि एउटा काम गरिदिनुस् न!"
"भन्नुस् न। केको लाज। छोराछोरीको स्वयंवर नगरुन्जेल त साथी नै त हौं नि!"
"हो, मुनासिब कुरा गर्नुभो। ---------- मेरो ढाड कन्याइदिनुस् न! अस्तिदेखि चिलाएर चौपट छ। यो बाघ भएर बस्नुपर्दा त हात पनि खुट्टा नै भा'छन्। आफूले कन्याउँनै सक्या छैन।"
"भइहाल्छ नि। आफ्नो सम्धीलाई जाबो ढाड कन्याइदिने काम पनि गर्न सकिंदैन र? ल आउनुस्।" (ध्वार् ध्वार् ध्वार्) "बरु सम्धीज्यू, पछि बुढियाले छोरीलाई कुन ठाममा दिएको भनेर सोध्ली। तपाईंको घर चाहिं कता परो?"
"हाहाहाहा, ठिक भन्नु भो। म पनि त्यही सोधम्ला भन्दै थिएँ। मेरो घर जान पोखरा बस् टेसन् (स्टेसन्)मा ओर्लेर मर्दी खोला तर्नुपर्च।"
"हाहाहाहाहा, हो र? हामी त दुई जनै पश्चिमे परेचम् । मेरो घर पनि मर्दी पारी नै हो।"
"हेहेहेहेहेहे, कस्तो संयोग परेको? गाउँ चैं कुन परो?"
"मर्दी तरेपछि गैरीको पसल आउँछ। अनि उकालो लाग्नुपर्च।"
"हाहाहाहाहा, हो र भन्या मेरो पनि त्यसै गर्नुपर्छ। मेरो चैं माथि चौतारीनेरको स्कूलनेर पर्छ केरे घर।"
"हाहाहाहाहा, घर चैं कुन हो नि? त्यो स्कूलमूनिको कमेरोले पोतेको दुई तले घर त हो नि!"
"धत् सम्धीज्यू पनि गाँजा खा'को मान्छे जस्तै कुरा गर्नुहुन्छ बा! त्यो त ग्वाँचेको घर पो त!"
"सम्धीज्यू पनि कुरा गर्नुहुन्छ। घरलाई चिन्नुहुन्छ, घर मालिकलाई चिन्नुहुन्न। म ग्वाँचे नभ'र को त?"
"हँ ग्वाँचे?? काँ'ड आइपुग्या? चिनेनौ मलाई? म ......"
इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे अष्ठर्विंशोध्याय॥२८॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।