बाटो भरि लाग्यो लोग्ने मान्छे ढोंगि हुन्छन् , दोमुखे हुन्छन् , म जे आफुलाई दर्शाउँदै छु त्यो पनि त म रहेनछु । म सँधै भन्छु म सुधालाई माया गर्छु त्यो पनि हदैसम्मको । तर म स्वयंलाई थाहा छैन यो हद मा किन कोहि छिर्दैछ , अतिक्रमण गर्दैछ भनेर , म पल प्रतिपल फितलो हुँदैछु । मेरो माया बाँडिदैछ , हुन सक्छ त्यो फुल बेच्ने केटी सँग माया होईन क्षणिक आकर्षण मात्र हो , त्यसो भए जुन आकर्षणमा सम्पुर्ण रुपमा सुधाको स्वामित्व हुनु पर्ने हो त्यो बाँडिदैछ ,अनि किन त यस्तो ? बिवशता भन्नु बाहेक मेरो बिकल्प छैन ।
लोग्नेमान्छेको मायाको हद र स्वास्निमान्छेको हद दाँज्न सकिँदैन । म जुन किसिम जानी नजानी लक्ष पनि स्पष्ट नभई त्यो फुल बेच्ने केटी सँग नजिँकिँदै छु तानीँदै छु पक्कै पनि सुधा त्यसरि तानिन्न होला । वा म त्यो सहन गर्न सक्दिन । म सुधालाई पत्निको रुपमा होईन एउटा जतन गरेर राखेको सामान जस्को उपयोग मेरो दिनहुँ जीवनमाँ सँधै आउने गर्छ अनि म त्यो कसैलाई दिन चाहन्न , तर आफु भने अन्य सामानपनि चलाउन चाहन्छु त ? म सँगै प्रश्न हरु सहयात्रि बने त्यो दिनको यात्राको । मलाई बाटो बितेको पत्तो भएन अन्तिम टर्निङ्गमा थोरै सजग भएँ अब घर नजिकै आउँदैछ त्यहाँ मैले रोक्नु पर्नेछ । नत्र म आफ्नै घर बाट टाढा हुनेछु जहाँ मेरी सुधा मलाई पर्खिरहेकी होली ।म उसलाई पर्खाई रहन पक्के पनि चाहन्न । म चाहन्छु म सकेसम्म उसको पर्खाई चाँडो अन्त्य गरौँ ।
सुधा उस्तै थिई जस्तो मैले उसलाई बिहान छोडेर गएको थिएँ निश्छल , निर्मल र मेरो बाटो हेरीरहेकी ! मलाइ कहिलेकाहिँ लाग्छ उसका आँखाले म बाहेक अरु कुरा हेर्न जानेको छैन ,उ गान्धारिले जस्तै आफ्नो आँखामा पनि पट्टि लगाईदिनेछे जुन दिन उसले मलाई देख्न पाउने छैन । मेरो माया उसको अघि कति निरिह छ ,कति क्षुद्र छ ,कति क्रित्रिम छ अनि कति सानो छ !
"के भयो , सन्चो भएन हो ?" उसले मेरो निधार छामी । म मुस्कुराएँ । म उसलाई मेरो लागि चिन्तित भएको हेर्न चाहन्न ।
" कसले भन्यो तिमीलाई , मलाई सन्चो भएन भनेर ?"
" छ्या अनुहार अलि उत्रे जस्तो लागेर मात्रै सोधेको , भाउ पल्टिहाल्नु पर्छ हैन तँपाईलाई ?" उ रिसाई , मलाई थाहा छ उसको रिस पनि क्रित्रिम हो मेरो मुस्कान जस्तै ।
"खाजा के खानुभयो ?"आज उसले फोन गरेकी थिईन अफिसमाँ नत्र उसले यो प्रश्न सोध्ने थिईन ।
"पहिला यो भन तिमीले मलाई आज फोन किन नगरेकी ? " मलाई उसको कुरामा केन्द्रित भएर उ भन्दा बाहिरका धेरै कुरा हरु बिर्सिनु थियो ।
"फोन गर्यो ,बेलुका आएर धेरै फोन गर्यो भन्नु छ ,गरेन किन नगरेकी भनेर सोध्नु छ , कुरै बुझि साध्य छैन कसै कसैको !"
उ लाडिन्छे जब म यस्ता प्रश्न हरु सोध्ने गर्छु , मानौँ मलाई घुर्कि लाउनु उसको शौख हो । अनि म पनि यस्ता प्रश्नहरु सोधिरहन्छु मानौँ उसको घुर्कि खानु मेरो रहर हो !
"खाएको छैन के बनाउँछौ भन त ?"
"खाएको भनेर सोधेको पो त , बनाउन त मलाई पनि मन छैन ।" उ हाँस्न थाली । सुख साच्चै साना साना कुरामा लुकेको हुन्छ । खोज्न जान्नु पनि एउटा कला हो ।
"तिमीले के खायौ भन त ?" मैले उसको अनुहारमा हेर्दै भनेँ ।
"छैन मैले पनि केहि खाएको !" उ आज दिउँसो सुकेका लुगाहरु पट्याउँदै थिई । पानी पर्ने मौसममा धोएका लुगाहरु भएर होला धेरै थिए लुगाहरु थाकमा !
"जौँ हिँड न त बाहिर खाजा खाएर आउँ !" मलाई अचानक एउटा नयाँ प्रस्ताव फुर्यो ।
"अहिले खाजा खान गएर खाना कति खेर खाने नि ? "
"त्यसो भए खानै खाउँ न त , मैले पनि एउटै भान्छेको खाना कत्ति खाने , कहिले काहिँ त स्वाद पनि फेर्नु पर्यो नि हो कि होईन भन त ?" म जिस्किएँ ।
"होला , कति बांगो पाराले घोचिरहनु हुन्छ ? सिधै नमिठो भयो भन्नु न !" उसले मेरो जिस्क्याईलाई यथावत राखी ।
"मलाई भोलि देखि अफिस भोकै जानु छ र ?"
"कति सम्मको गफाडि ? म लुगा फेर्छु है त !" उ लुगा फेर्न भित्र लागि । मलाई एउटा युध्द जितेको अनुभव भयो । अघि मैले जे सुकै सोचेको होस् म सुधालाई माया गर्छु । म मात्र उसको अनुहारमा मुस्कान देख्न चाहन्छु ।
हामी बाहिरै खाना खाएर फर्कियौँ । धेरै दिन पछि केहि छुटेका कुराहरुलाई समय दिए जस्तो भयो । एउटा भत्केका दुई पाटाहरुलाई जोड्ने पुल जस्तो । पुरुष शायद यसकारणले पनि दुई मुखे हुन्छ किनकि उसका स्वरुप नै दुई किसिमका हुन्छन् बाहिरि संसार लाई उ कडा भईदिनु पर्छ र घरमा उ नरम ,दुई वटा पात्रहरुको भुमिका निभाउँदा निभाउँदै उसले वास्तविक आफु के हुँ भन्ने नै बिर्सिन्छ र शायद मलाई पनि आजकल त्यस्तै केहि भईरहेको छ । सुधा सँग बाहिर ननिक्लेको धेरै भएसकेको रहेछ । हुन त उ कहिल्यै पनि यस्ता कुराहरुमा कर गर्दिन तर उ यस्ता कुरामा चासै नलिने भने होईन । म यति कुरा सबै थाहा हुँदा हुँदै पनि उसले चाहेका कुरा हरु गरिदिन सक्दिन भने त त्यो मेरै कमजोरि हो भनेर मैले मान्नै पर्छ ।
सुधा भित्र लुगा फेर्न तिर लागि , म उहि थोत्रे रिमोट बटार्न तिर लागेँ । अचानक मेरो अफिसको ब्यागमा भएको फूल याद आयो । मैले बिस्तारै सुधाले थाहा नपाउने गरी त्यो फूल झीकेँ र नियाल्न थालेँ ।
" कफि खाने ?" सुधाले भित्रै बाट सोधि । समय बेसमय चिया कफि खानु उसको बानी हो । बिस्तारै बिस्तारै मलाई पनि त्यो सरिसकेको छ ।
"खाने !" मैले सुस्तरि जवाफ फर्काएँ
"खाए पछि त त्यो रिमोट मलाई दिनुपर्छ , भोलि दिउँसो लोडशेडिङ्ग छ , मैले आजै हेर्न पाउनु पर्छ ।"
"हुन्छ ।" मैले मनमनैँ हाँस्दै भनेँ
त्यो फूल अझै मेरो हातमैँ थियो ।मलाई लाग्यो मेरी सुधालाई यो फूल को आवश्यकता छैन । म झ्याल छेउमा गएँ । झ्याल बाहिर निष्पट्ट अँध्यारो थियो । मैले त्यो फूल झ्याल बाहिर हुईँकाई दिएँ । सडक को कुन कुनामा गएर त्यो फूल बजारियो मैले हेर्ने पनि रहर गरिन ।
(यो कथाको अन्त्य छैन ! शायद यस्ता कथाहरुको अन्त्य हुँदैनन् !)