चुक खाएर अमिलो भए जस्तै मुख पारेर "घोप्टे" कोठामा छिर्यो। नाम त उसको "बिनय" हो नि तर मुख चाहि बजारमा किन्दा नि नपाउने जस्तो छुच्चो। अनुहार जहिले पनि हाँडी घोप्टाको जस्तै कालो, रङ पनि कालै हो। तर उसको बानी नैं त्यस्तो। खाली निहुँ खोज्ने कुरा मात्र गर्ने। उ काम सकिएर डेंरामा पुग्दा रातको १ बजिसकेको थ्यो।
"थुक्क जिन्दगी ! त्यत्रो १४ घन्टा यो बाङो खुट्टालाइ सोज्याएर आए। भोकले रन्थनिएको बेलामा फेरि अरु १ घन्टा उठेर पकाउनु पर्ने भयो।"
यु-ट्युबमा बिछोडको गीत सुनेर बसेको "देबदास", खास नाम चाहि "कमल" र सोफामा बसेर sms लेखिरहेको "बिन्दास" यानि "मधुर" लाइ छड्के हेर्यो। दुबैले घोप्टेलाइ हेरेनन्, आफ्नै धुनमा मस्त भै झैं गरे।
"ए, खानका कालहरु, अघि नै मुन्टेको भए जाबो भात बसाएको भए के बिग्रन्थ्यो ? सास नै खुस्किन लाग्या भए तिमीहरुलाइ पशुपति पठाउनु पर्यो 911 बोलाएर।" आँखी भौं खुम्च्याउन सम्म खुम्चायो घोप्टेले।
"धेरै नकराss। आज तेरो पालो हो पकाउने, त्या भितामा बनाएको "पकाउने रुटीन हेर त।" बिन्दासले मोबाइलमा आएको sms पढ्दै भन्यो, देबदास चुप नैं थियो।
आफ्नै पालो भएपछि पकाउनै कर लाग्यो घोप्टेलाइ। चामल धुँदै गनगन गर्न लाग्यो।
"थुक्क मेरो भाग्य ! थुक्क यो अमेरिका ! मेरो त नेपाल छोड्ने दिनको राशिफलमा "बुद्धिमा बिर्को लाग्ने" भनेर लेख्याथ्यो। त्यो बेला के था? याँ आएर यत्रो सकस हुन्छ भनेर। भएभरको जग्गा बेचेर अझ लाखौं पैसाको रिन बोकेर आँए। याँ आएपछि पो था भयो यो "फोहोर" जस्तो जिन्दगी। सधैं जोतिया छ, एकछाक खाको छ, थोत्रो कार हाँकेको छ। कहिले सकिन्छ ए यो एकोहोरो जिन्दगी? खटारा बाइक त नेपालमा पनि चलाथें मैले। त्या पुगेकै थ्यो त। कहिले पुग्छ ए अब यो जिन्दगीमा? मेरो त बुद्धि भ्रस्ट भाथ्यो, तिमेरु चाहि के खान अमेरिका आका?"
देबदासले एकचोटी पुलुक्क हेर्यो घोप्टेलाइ। घोप्टे आलु ताछ्दै थ्यो। "दिल् अइसा किसि ने मेरा तोडा......." भन्ने गीत ठुलो स्वरमा बजाउन थाल्यो देबेले घोप्टेको आवाज नसुन्नको लागि।
घोप्टे फेरि फत्फताउन थाल्यो।
"हेर, त्यही बेलामा डल्लिले "मलाइ उडा न.." भन्दा हिम्मत गर्न सकिन। नत्र भये आज आफु जत्रै छोरो हुन्थ्यो, कम से कम घर आँउदा भात त पकाएर दिने डल्लि हुन्थी। छोरोले कमाएर ल्याँउथ्यो, जिन्दगी कति सुखी हुन्थ्यो।" एकैछिन घोरियो घोप्टे, डल्लीले उसलाइ कहिले कहिं सम्झिन्छे कि सम्झिन्न होला भनेर। ज्यापुले उडाएपछि त उसले डल्लीको नाकमुख नैं देखेन।
"ह्या बिहे गरेर नि के काम, उ त्यो बिन्दास जस्तो खाली मोबाइलमा SMS लेखेर चित्त बुझाए मात्रै हो। पैसा पैसा बर्बाद। यो जवानीमा स्वास्नी नेपालमा लोग्ने यहाँ। के रमाइलो भयो त? उमेरमा माया पिरती लाउन नपाए, बुढेश्कालमा सङै बसेर के काम? आफ्नै कागज बन्ने कहिले, स्वास्नीको कागज बनाउन्जेल सम्म त अर्को देबदास भइन्छ।"
देबदासले नेपालमा झ्याँइ झ्याँइ बाजा बजाएर बिहे गरेकोथ्यो। एक्लै अमेरिका फर्किदाँ कति दिन झोक्राएर बसेकोथ्यो। बिहे गरेको १ बर्स पछि बिचरो देबदास नेपाल जानु भन्दा २ महिना अघि बुढि अर्कै सङ गएकी खबर पाएकोथ्यो। त्यसपछि उ नेपाल गएन, केटीको कुरा पनि गर्दैन, "बिहे" को त शब्द सुन्न पनि मन लाग्दैन उसलाइ। अरुले बिहे गर्दा उ तर्सिन्थ्यो। देबदास त्यही पिडाले "बिछोड" को गीत मात्र सुनेर बस्थ्यो, कसैसङ त्यति कुरा गर्दैनथ्यो।
"देबदास" ले आफ्नो नाम घोप्टेले लिएको सुनेर झस्क्यो।
"ओइ, बढी नकरा त...। अहिले म साथी साथी भन्दिन, तेरो गोल्टिन जस्तो मुख कुच्याइ दिउँ? हिजो अस्ति हामीले पनि भात पकायौं त, खोइ कसैलाइ केहि भनेनौं। आज तेरो जिउ चिलाको जस्तो छ" देबदासले जिम गरेको "बाइसेप्स्" छाम्दै भन्यो।
देबदास बोलेको देखेर घोप्टे अलि डरायो। आज चाँही दरो सम्झना आको जस्तो छ भुतपुर्ब स्वास्नीको त्यसलाइ भन्दै तरकारी चलाउन थाल्यो। बिन्दासलाइ के भै रहेको छ केहि था थिएन मुसुक्क मुसुक्क मुस्काँउदै मेसेज पढ्दै थ्यो। बिहे गरेको ४ महिना मात्रै भाको थ्यो बिन्दासको। बिचरा ३ महिना पछि स्वास्नी छोडेर फेरि अमेरिका फर्केको थ्यो। उसलाइ चाँही स्वास्नीलाइ कुन उपाएले यहाँ ल्याउने भन्ने पिर थियो।
देबदास र बिन्दास दुबैको माया लाग्यो घोप्टेलाइ। बिहे गरे पनि टेन्सन, बिहे नगरे पनि टेन्सन। डलरले मात्र सबै आबस्यक्ता पुरा हुने भए देबदासकी स्वास्नी अर्को सङ किन पोइला जान्थी मनमनै सोच्यो उसले। तरकारी पाकिसकेको थ्यो, देबदासलाइ फकाउने उद्देश्यले पहिला उसैलाइ बोलायो।
"देबेलाइ भोक बेस्सरी लाग्या जस्तो, ल आइजो यहाँ खाना तयार छ। तिमिहरुले जे सोचे पनि आखिरमा म बाहेक तिमिहरुको भलो चिताउने यहाँ अरु को छ र ?" बोले कि पोल्ने थुतुनो त्यस्तो नरम भाको देखेर बिन्दास पनि आयो खाना खान।
"तरकारीमा यो कालो कालो के हँ?" देबदासले कालो कालो गेडा जस्तो नरम चिज भेट्टायो।
"ए, ज्याssss। मैले तिमिहरुलाइ तरकारीको मसला राख्ने ठाँउमा च्यापत्तिको भाँडा नराख भन्या होइन? मेरो कुरा कहिले सुन्ने होइन..। थरि थरि मसला हाल्यो भने तरकारी मिठो हुन्छ होला भनेर भेटे जत्ति बोतलको मसला हाल्या तरकारीमा।" आफ्नो गल्तीलाइ उल्टो अर्काको थाप्लोमा राखिदियो घोप्टेले।
"बजियाले चिनी पनि हालेर मरेछ। तरकारी त चिया भन्दा पनि बढी गुलियो छ त।" बिन्दासले चम्चाले मुखमा राखेको तरकारी निल्ने कि ओकल्ने गर्दै भन्यो।
"निस्तै भात भएपनि तातो खाएर त सुत्नु पर्यो नि अब।" दिक्क मान्दै देबदासले भन्यो।
"मै पस्कीदिन्छु भात तिमीहरुलाइ। खोइ ले त देबेको प्लेट मलाइ।" घोप्टेले राइस कुकरको ढकनी झिक्यो र हेर्यो। त्यसपछि देबेको भोकाएको अनुहार र बिन्दासको छक्क परेको अनुहारलाइ पालै पालो हेर्यो। घरि राइस कुकरको स्विचलाइ हेर्यो, जुन 'अफ' नै थियो, जिन्दगीलाइ सराप्दा सराप्दै 'अन' गर्नै बिर्स्या रैछ घोप्टेले....
"थुक्क जिन्दगी! पाक्या भात पनि काँचो हुने रैछ मेरो फुट्या कर्ममा।" खुइयssssssss लामो सास तानेर घोप्टेले फेरि कर्मलाइ दोष दियो।
देबदास र बिन्दास एक अर्कालाइ हेरि रहे.... धेरै बेरसम्म....।
The End.
Last edited: 08-Jun-08 04:10 PM
Last edited: 08-Jun-08 05:41 PM