[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ध्वाँसे (वाँकी अंश)

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 33800 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-16-14 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

Some browser issues with sajha, had to read the comments from my gmail account, thaney and bachata ..thank you for the comments.Fuel tank thanks a lot for the comment (मैले एउटा लामो कमेन्ट रिप्लाइ गरेको थीएँ ,I hope you read that, प्रतिकृया मलाई एक दमै चित्त वुझ्दो लाग्यो, मैले ध्वाँसे एउटा कथाको रुपमा शुरुवात गरे ता पनि अहिले यसलाई उपन्यास वनाउन सकिने सोच लिएको छु, सामान्यतय उपन्यासहरु  सम्पादन गरिनुपर्छ , जुन हाल सम्म ध्वाँसेमा गरिएको छैन। मैले सोच्ने वित्तिकै लेखेर पोष्ट गरिहाल्नाले सो गल्ती भएको हो(म गल्ती स्विकार्छु र सम्पादन गर्दा सो च्याप्टरका केहि अंश वदल्ने पनि छु),अन्य यस्तो गल्तीलाई फेरि औँल्याइदिनु हुनेछ भन्ने पनि आश राखेको छू।
अन्य पढिदिनुहुने ,लाइक गरिदिनुहुने सवैलाई धन्यवाद

for Dhwase part 1 please refer ..
http://sajha.com/sajha/html/index.cfm?threadid=108640

ध्वाँसेमा राजनिती भरिएको छ- थापाकाजी

मेरा बा महेन्द्र राजाका नजिकैका मान्छेमा गनिन्थे। विरेन्द्र राजा पनि गाउँ डुल्न आएका वेला उनी साह्रै खुशी भएका थिए, साक्षात विष्णु गाउँ डुल्न आउने भए भनेर।उनको अनुहार उज्यालो थियो त्यो दिन, म उनको सवैभन्दा कुरा मिल्ने छोरो भएकोले होला मेरो नजिकै आएर भने

 "वुझिस् माइला फूलवारीका राम्रा राम्रा फूल टिपेर राख,भगमान गाउँ आउँदैछन,माला वनाउनुपर्छ।"

संस्कृतमा भनिएको पनि छ नि राजा भनेका त विष्णुका अवतार रे !मैले पनि त्यतिखेर राजा सँग भेट गरेको थिएँ। त्यतिखेर म दश कक्षामा पढ्थेँ, भलिवल पनि खेल्थेँ। मेरो भलिवल खेलको प्रशंसा पनि भएको थियो। विरेन्द्र शिल्डमा मलाई काठमाण्डौ पठाइदिने कुरा समेत भएको थियो।

हाम्रो वंशावलीमा लेखे अनुसार हामी भिमसेन थापाको खलक अरे! अनि हाम्रै पुर्खा मध्ये एकले सुसारेलाई भगाएपछि हामीलाई उपत्यका निकाला गरिएको अरे!पछि राजाले पुर्वको रखवाली गरेवापत त्यो गाउँको जंगल हाम्रा जिजुवुवालाई दिएका अरे! त्यसपछि जिजुवुवाले त्यो जंगल फडानी गरेर गाउँ वसाएका ,पहाडवाट आफूलाई मन पर्ने र काम लाग्ने मान्छे राखेर !हाम्रो हजुरवुवा त्यहि भएर यो गाउँको राजा चाहिँ म हुँ भनेर भन्नुहुन्थ्यो म सानो हुँदा । म पनि आफुलाई राजकुमार जस्तो लाग्थ्यो। राजाको फोटोमा आफ्नो टाउको हाल्दा कस्तो हुन्छ कल्पना गर्थेँ। तर त्यो श्रीपेँचमा मेरो ठूलो टाउको अट्दैन कि भन्ने मलाई डर लाग्थ्यो।

हाम्रो हजुरवुवा घोडामा चढेर गाउँ डुल्नु हुन्थ्यो अरे! हाम्रो घरमा काम गर्ने मात्रै करिव पचास मान्छे थिए अरे । अनि काठको सानो तिनो दरवार जस्तै घर! म घोडालाई सुसारेहरुले चना खाएको हेरीरहन्थे। हाम्रो घरको पछिल्तिर घोडा वान्ने तवेला पनि वनाइएको थियो। सानोमा आसपास खेल्दा हामी त्यहिँ लुक्थ्यौँ। नचिनेको मान्छेलाई घोडाले लात्तले हान्छ । त्यहि भएर साथीहरु घोडाको नजिकै जान डराउँथे। मेरो लागि सवैभन्दा प्यारो त्यो घोडाको तवेला र मेरो घर! तर त्यो पछि पन्चेको घर भनेर जलाइयो।मैले रुन्चे आँखाले त्यो घर जलेको हेरेँ।म त्यतिखेर सकृय राजनिति मै थिएँ। स्थानिय चुनावमा पनि मैले गा.वि.स अध्यक्ष जितेको थिएँ त्यो हुनाले गाउँलेको म प्रति आदर र सहानुभुति थियो भन्ने त मलाई थाहा थियो। तर शक्ती र वन्दुक को अघि सवै चुप हुन्छन्। म पनि चुप वस्नु पर्यो । हामी त्यसपछि उपत्यका छिर्यौँ। राजाले हामीलाई उपत्यका वाट निकाले,गाउँकाले हामीलाई गाउँवाट! तर पनि गाउँमा जव म फर्के , मेरो रवाफ सकिएको रहेनछ भन्ने पनि वुझेँ। संसार आखिरमा पैसै वाट चलेको त रहेछ। मैले काठमाण्डौ आएर शुरु गरेको चामलको व्यापार फस्टाएपछि मैले काठमाण्डौमा पनि घर वनाएँ ।गाउँको घरमा शूरुमा त पार्टिका झण्डा गाडेर हामीलाई आउन नदेलान नै जस्तो वनेको थियो। तर पछि उनीहरुले छोडिदिए। म गाउँ गएको वेला घरमै वस्न थालेँ। टिन नयाँ लगाएँ । काठहरुमा रंग लगाएँ। त्यो घर फेरि चिटिक्कको देखियो।

ध्वाँसेको घर भने मेरो भन्दा पाँच मिनट जति टाढा खेतवारीको विचमा थियो। उसका वुवा पहिला हाम्रै खेतमा हलीको काम गर्थे। पछि सापटी लिएर तिनी विदेश तिर लागे। रिन तिर्न पछि सम्म पनि सकेका थिएनन्। त्यसैविचमा ध्वाँसे पनि पार्टीमा लाग्यो। उसमा पनि वन्दुकको शक्ती आयो। हाम्रो रिन नतिरे पनि हुने भयो। हामीले खासै वास्ता पनि गरेनौँ। ज्यान भए पैसा त पछि पनि कमाइहालीन्छ नि जस्तो सोच आयो भनौँ दिमागमा !

युद्द विराम पछि चुनाव को गाउँ भरी तातो छाएको थियो। नयाँ पार्टीमा गाउँका धेरै मान्छे पसेको मैले पनि गाईँगुईँ सुनीनै राखेको थिएँ। उनीहरु सँग अझै हतियार छन् भन्ने हल्ला पनि गाउँभरी छ्यापछ्याप्ती थियो। त्यहि भएर पनि खुलेर राजनितिमा आउन मैले आँट भने गरिसकेको थिइन।हुन त राजनितिले मलाई के नै दिएको थियो र ! म गा.वि.स अध्यक्ष हुँदा वनाएको चोकको महेन्द्रको सालिक यहि पालाको आन्दोलनमा भत्काइदिएका थिए आन्दोलन कारीले । साह्रै सजिलो गरी फुट्यो त्यो सालिक भन्थे गाउँकाले ! मैले सुनेको नसुन्यै वनाइदिएँ। त्यतिखेर हामीले त्यो सालिकमा त्यतिवेलाको विस हजार कमाएका थियौँ रातारात गरेर वनाएको सालिकमा हामीले भित्र फलामका डण्डी कम गरेको गुनासो झन्न कसैको आएन। एक तरिकाले ठिकै पनि भयो अव सालिक ढल्यो। मेरो भ्रष्टाचारको प्रमाण पनि! आखिर महेन्द्रले मलाई अहिले विउँझिएर जागिरमा लाइदिने हैनन् क्यारे!

************ ************** ************ **************** ************* ********

साँझ झिमिक्क परिसकेको थियो। मेरो घरमा सोलार जोडेपछि लोडशेडिंगको खासै फरक पर्न छोडेको छ। आँगनमा वसेर म हुक्का वनाउँदै थिएँ।

"काका घर मै हो ?" परवाट आवाज आयो। नचिनेको आवाज ! मैले आवाज तिर आँखा दौडाएँ। करिव तिसको वलियो केटो !

"म ध्वाँसे क्या !" ध्वाँसेले आफ्नो परिचय दियो। मेरो मनमा ढ्वाँग्रो ठोक्यो। हुन त उनीहरु युद्द विराममा छन् । तर उसले मास्टरलाई रेटेरै मार्यो भन्ने गाउँमा हल्ला थियो। त्यस्ता नरपिसाचको के भर र ! फेरि उसको र मेरो कहिलेदेखि यो काकाको सम्वन्ध लाग्यो? मलाई पनि थाहा छैन यो कुरा त !

"वस न त !" मैले छेवैको खाली कुर्सी देखाएँ।

"काका सँग एउटा सल्लाह गर्नु छ !" उसले आफ्नो कपाल कन्याउँदै भन्यो।

"भन न !" मैले सुस्तरी जवाफ फर्काएँ। उ मेरो हुक्का हेरिराख्यो। त्यो हुक्का मेरो हजुरवुवाको पालाको। तल भुइँमा चाँदिको जलप लाको छ। माथी साँपको नक्सा कुँदेको छ। मेरो हजुरवुवाको शौख देखेर म दंग पर्थेँ यो हुक्का देख्दा! हामीले जल्दै गरेको घरमा धेरै मेहेनत गरेर यो जोगाएका थियौँ। हजुरवुवाको ठूलो तस्विर भने जोगाउन सकिएन। उनको आधा जिउ जलेको फोटो मेरो भित्तामा अझै छ।

"चुनाव नजिँकिँदै छ, यसपाली कतापट्टी लाग्ने विचार गर्नुभको छ ?" उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो।

म चुप थिएँ। खै के भनुम् ? नखाउँ त दिन भरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भन्थे वुढापाकाले ! उसका प्रश्नहरु मलाई पनि निल्नु न ओकल्नु भए।

"हेर्नुस काका,पन्चेहरुलाई गाउँ भित्रिन दिनु हुँदैन भनेर ठूलो कुरा भको थियो, हाम्रो पार्टी कमिटी भित्र। मैले थापा काका भनेका विकास प्रेमी मान्छे हुन् ! उनले समय अनुसार परिवर्तन हुन जानेका छन् भनेर तँपाइको कुरा गरेँ!"

उसले कुरा कता घुमाइरहेको थियो मैले वुझ्न सकिन त्यहि भएर उ वोली मात्रै रह्यो म सुनी मात्रै रहेँ।

"हामी सँग गाउँको ठूलो युवा जमात छ, तर वुढा वुढी हरुलाई अझै पुरानो धंगधंगीले छोडेको छैन , यस्तो तालले गाउँको समाजको विकास पनि हुँदैन ! कि कसो त काका !"

सावित्रीले चिया लिएर आइ । मेरो खेतमा काम गर्नेकी छोरी, मैले घरको काम गर भनेर राखेको छु । उसले सावित्रीलाई पिलिक्क हेर्दै चिया लियो।

"यी वुइनी चाहिँ को नि ?"उसका आँखा वलिहाले। मोरोलाई केटी देख्नै हुँदैन। त्यो साहिँली मगर्नी सँगको हल्ला मैले खुवै सुनेको छु। विरे की छोरी शान्ती सँग पनि यसको लसपस थियो रे ! त्यसको त दश दिन अघी विहे भयो। त्यसलाई सम्झेर यसले रातभरी जाँड खाएर हल्ला गर्यो पनि भन्थे गाउँका केटा !

"सावित्री, पर्शुरामकी छोरी, यहाँ काकीलाई भान्सामा सघाउँछे ,स्कुल पनि पढ्छे !"

"म के भन्दै थिएँ भने नी काका, तँपाइलाई नयाँ पार्टी खुवै फाप्छ , वुढापाका तँपाइले भनेको मान्छन् पनि , हाम्रो पार्टीमा प्रवेश गर्नुस् ! गाउँमा वस्न सहज पनि हुन्छ तँपाइलाई ! नेतृत्व गर्न जानेको मान्छे,विकास वुझेको मान्छे!"

उसले मलाई खुल्ला प्रस्ताव राख्यो। म अकमक्क परेँ।

"के सोच्नु भको काका ?" उसले मेरो आँखा नियाल्दै प्रश्न राख्यो । " हेर्नु पार्टीमा राम्रो ठाउँ दिलाउने जिम्मा मेरो भयो, फेरि यो क्रान्तिवाट जन्मेको पार्टी हो, जहिल्यै अघि वढ्छ, कति समात्नुहुन्छ ति दंगदंग्ती गनाइसकेका पार्टीहरु , यसपाली खुलेर लाग्न पनि भ्याउनु भएको छैन पुरानो पार्टीमा! हेर्नुस् त तिनीहरुका संगठन,हामीले उहिल्यै जरा काटीसक्यौँ, को छन् तिनीहरुको प्रचार गर्दै हिँड्ने गाउँमा ? हामी सँग आउनुभयो भने जित पक्का छ अनि अहिल्यै हामी सँग आउनुभयो भने घात गरे जस्तो पनि देखिँदैन !"

म चुप नै लागि रहेँ।उसले चिया सिध्यायो। सावित्री गिलास उठाउन आई। उ झुक्दा उसको छातीलाई मज्जाले नियाल्यो ध्वाँसेले।

"ल लागेँ काका अव म ! मैले भनेको वारेमा सोच्नु ,मैले पर्सी सम्म उत्तर दिनु छ, त्यसपछि लाग्छु म पनि राजधानी तिर !" उ उठ्यो।

उ हिँडिसकेपछि, मैले धेरै वेर कुरा खेलाएँ। कुरा ठिकै लाग्यो। मेरो रवाफ गाउँमा फर्काउने यो राम्रो अवसर हो। ध्वाँसेले राजनिती जानेको रहेछ वा भनौँ ध्वाँसेमा राजनिति भरिएको रहेछ।

 

 



 
Posted on 05-23-14 1:47 PM     [Snapshot: 787]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छोको ध्वाँसेदाइ सँगको एक रात- सरिता

म आफ्नो कथा एउटा प्रश्नवाट शुरु गर्नेछु , के हो जीवन आखिर ? नसोचेको,नरोजेको अरु कसैले नै लेखिदिएको भोग्नुपर्ने। अरुको लागि नाटक गर्नुपर्ने, आफ्नो लागि त को नै वाच्छ र ? वुढी ,घर ,समाज भन्दा भन्दै आफुले वाँच्न विर्सिन्छ मान्छे।

मेरो वुवा दांगमा आर्मीक्याम्पमा भान्छेको काम गर्नुहुन्थ्यो।वुवाको पर्ने दाइले जागिर लगाइदिएको रे ! त्यत्तिखेर "खेति गरेर पैसा कमिदैन, जा जागिर खान,पेन्सन पाउने जागिर ! मैले मान्छे चिनेको छु, मात्र तैँले कुद्न सक्नुपर्छ।" भनेर भने रे।  ति दाइले त्यसपछि मेरो वुवा एक महिना विहान चार बजेदेखि कुदेको कुदै ।छेवैमा स्कुलको चउर थियो। त्यहि चउरमा दौडेको दौड्यै।जागिर पाएरै छोड्नुभयो मेरो वुवाले!

 मेरी आमा भने विना वाउ आमाकी तिन जना दाजुकी एक्ली बहिनी । जागिरे केटा विहा गर्न आयो भनेर विहा गर्दिए। बिहा गरेर बा जागिर खान गए,तिन महिनामा छुट्टी पाएर घर आए। त्यो छुट्टीको नौ महिनामा म जन्मेँ।

यतिसम्म कथा ठिकै छ।तर समय फेरियो गाउँमा । युद्द शुरु भयो नेपाली नेपाली विच। खै कस कसले अधिकार पाएनन् रे। गाउँका ठूलावडा सवै सामन्ति भए अरे। हामी त आर्मीसँग जोडीएका मान्छे,हामीले जोगिएर हिँड्नु पर्यो।बा एक दिन लुकीछिपी साँझमा घर आउनु भयो। मेरी वहिनी त्यतिखेर आमाको कोखमै थिई।तर सुराकीले कता कताबाट पत्ता लगाए। मेरो बुवालाई घसार्दै लगे घरवाट अलि पर वाँसघारी छ, त्यहाँ सम्म ।हामी कराइरह्यौँ। आमा एक छिनमा वेहोश हुनुभयो। तर बुवालाई चिरेर नुन चुक लगाएको सम्म मैले मेरै आँखाले देखेँ।खोइ कुन रिसमा त्यत्रो सजाय दिए मेरो वुवालाई। मेरो वुवा त आर्मीहरुलाई पनि भात पकाएर खुवाउने मान्छे। वुवा भन्नु पनि हुन्थ्यो,वहाँ लडाइँमा जानु पर्दैन भनेर।तर ति मान्छेलाई त्यो वुझाउने कोहि भएन। त्यो दिन पिडाले कराएको वुवाको आवाज मेरो कानमा अझै आइरहन्छ।वुवा विस्तारै कराउन छोड्नुभयो।अनि स्थिर हुनुभयो। तर उनीहरुले लाश पनि त्यहाँ छोडेनन्, लिएर गए। म पनि त्यसपछी वेहोश भएँ,मैले जीवनमा त्यस्तो कहिल्यै देखेको थिइन। म भगवान सँग प्रार्थना गर्छु शत्रुले पनि त्यो देख्नु नपरोस्। भोलीपल्ट विहानै मैले आमालाई भनेँ

"जौँ यहाँ नबसौँ! काठमाण्डु जौँ !"

हाम्रो घर कव्जा गरिने निश्चित प्राय थियो । त्यहि भएर पनि म त्यहाँ वसिरहन डराएकी थिएँ।तर कोहि नभएको शहरमा वाँचिन गाह्रो हुन्छ।शुरुमा मैले एउटा होटलमा काम पाएकी थिएँ,भाँडा माझ्ने चिया लिएर जाने। तर पैसा साह्रै कम हुन्थ्यो।आमालाई वेथाले चेप्दै थियो। आमाले काम गर्ने ठाउँवाट काम गर्न छोड्नुभयो। पुरै जिम्मा मेरो काँधमा आयो।मैले त्यो होटलको काम छोडेर रेष्टुरेन्टको काम शुरु गरेँ।थोरै टिप आउँथ्यो, थोरै तलव काठमाण्डौमा वाँच्न गाह्रो थियो।एक दिन एउटा अधवैँशे मान्छेले रक्सी खाएको सुरमा भन्यो।

"जान्छेस् ? मेरो घरमा वुढी छैन आज !"

मलाई त्यो दिन कतावाट आँट आयो थाहा छैन। मैले उसलाई पुलुक्क हेर्दै भनेँ "रातभरी वस्दिन ,आधा घण्टामात्र वस्छु। पाँच सय लिन्छु !"

लोग्नेमान्छे सुँगुर हुन्। फरक यति मात्र हो, सुत्न उनीहरुलाई साथी चाहिन्छ। मैले त्यसवाट गुमाउनु केहि थिएन। त्यो रातवाट मेरो कमाइ वढ्यो। परिवार राम्ररी चल्न थाल्यो। अहिले त वहिनी पनि दुई वर्षकी भैसकी। म आमालाई नाइट ड्युटी छ भन्छु,अर्को कोठा लिएकी छु जहाँ मेरो नाइट ड्युटी हुन्छ।विस्तारै विस्तारै समय वितेको छ। आजकल सपनामा पनि गाउँ देख्न छोडेकी छु। हुन त चौध वर्षको हुँदा आकी म अहिले छव्वीस भइसकेँ।

************* ***************** *************** ************** ******************

कान्छो अचम्मको पुरुष थियो।अरु आउँथे, काम भ्याउँथे जान्थे। उ आउँथ्यो एक छिन गफ गर्थ्यो। आफ्नो घर परिवारको बारेमा। उसको विहे भएको थिएन। लँडाइबाट भख्खर छुट्कारा पाएको थियो।शहरमा आफ्ना नेताको पछि पछि लाग्थ्यो।कहिलेकाहिँ राजनितिको गफ पनि गर्थ्यो।म धेरै जसो वुझ्दिनथेँ। शक्ती सन्तुलन, नयाँ सम्विधान खोइ के के ,के के । त्यो मलाई मन पर्दैन थियो।म त लँडाइले सवै गुमाएकी मान्छे। अरु दिन म गफ सुनिदिन्थे एक छिन पछि मात्र उ मेरो नजिक आउँथ्यो। मेरो शरिरले अनौठो तृप्तता पाउँथ्यो कान्छो सँग । शायद वुढासँग सुत्दा त्यस्तै तातो हुन्छ होला।राजनितिको गफ सुनेको दिन भने म उसलाई गफ सकिन दिन्न थेँ ,उ पनि मेरा खुल्दै गएका कपडाको विचमा राजनिति विर्सिन्थ्यो। जव उ थकित भएर पल्टिरहेको हुन्थ्यो। म भन्थेँ

 "देखिस् राजनिति भन्दा आइमाइको शक्ती वढी हुन्छ !"

उ खिस्स हाँस्थ्यो। मलाई आफूले जिते जस्तो लाग्थ्यो, उसको मौनता देखेर।

*************** ******************* *************** ************* ********** ****

त्यो दिन कान्छोले अनौठो प्रस्ताव राख्यो। उसको कोहि दाइ मेरोमा आउने रे!

"तँ अव मलाई ग्राहक पनि खोज्दिन थालिस् ?" मैले फोनमैँ सोधेँ।

"हैन तेरो कुरा भको थियो,तँलाई हेर्ने अरे!"

"मेरो बिहे गर्दिन आँटिस् कि के हो ?" मैले उसलाई जिस्क्याएँ।

"ह्या, तेरो आज राती कोहि आउने छ कि छैन भन न !" उ पहिलो चोटी झर्कियो।

"छैन!"

"पैसा म दिउँला पछि,नमाग्नु नी !"

मैले बुझेँ यो कुनै पाखण्डी नेता हो। गरिवी निवारण भन्छन्, आइमाइको सम्मान र समान अधीकार अनि अरु पनि के के जाती । उसलाई पनि रातमा आइमाइ नै चाहिएको छ, सँगै सुत्ने खेलौना । सुँगुरहरु !!!!

***************** ******************** ****************** *************** *******

त्यो साँझ , नौ बजे वत्ति आउने थियो। मेरो कोठा त्यसमाथी अँध्यारो गल्लीमा छ।ति माथि वाहिर कुकुर भुक्दै थिए।मेरो कोठामा ढक ढक आवाज आयो। मैले थोरै मेक अप गरेकी थिए। रातो लिपस्टिक,अनि थोरै सेन्ट,जिनिसको हाफ पाइन्ट,अस्ति भख्खर किनेको ,अनि अलि लुज लुज टिशर्ट ! केटाहरुको शुरुमा आँखा नै त्यहिँ जान्छ। हाम्रो त त्यो ट्रेलर हो ।अनुहार त त्यसपछि मात्र हेर्छन् लोग्नेमान्छे।मैले थोरै आफुलाई मिलाएर ढोका खोलेँ । कान्छो उसको दाजु लिएर आएको थियो।उसको दाजु भित्र छिर्यो। कान्छोले वाहिर वाटै "जान्छु !"भन्यो। म उ तल पुगेर गेट नलगाउन्जेलसम्म हेरिरहेँ। उ पनि अरु पुरुष जस्तै निक्लियो। मलाई वेश्या नै सोच्यो। हुन पनि हो, म वेश्या नै हुँ।म कोठामा फर्केँ।उसको दाजु छेवैको कुर्सीमा वसेको थियो।चुपचाप।दुइ घुँडा खुम्च्याएर हात कुर्सीका हात राख्ने ठाउँमा राखेर।

मैले पहिला उसलाई नियाँले। कालो रंगको टिशर्टको भित्र कोहि मान्छेको फोटो थियो,मैले चिन्न सकिन त्यो टिशर्टमा भएको मान्छे अनि जिन्स अलि अलि खुइलिएको, आजकल त्यस्तै चलेको छ। उसले दाजु भनेको सुन्दा अलि वुढो मान्छे जस्तो लागेको थियो। तर यो मान्छे त कान्छो भन्दा त्यति वुढो पनि थिएन।

"म चुपचाप बसेको पनि पैसा लिन्छु !" धेरैवेर चुपचाप वसेको देखेपछि मलाइ दिक्क लागेर मैले नै कुरा शुरु गरेँ।

उ खिस्स हाँस्यो।

"कान्छो तिम्रो खुव कुरा गर्छ, त्यहि भएर हेर्न आको !" धेरै पछि कसैले मलाइ तिमी भनेर वोलायो। आजकल त कसैले तिमी भन्यो भने मसँग कुरा गरेको हो कि होइन त्यो पनि झुक्किन्छु।

"हेर्न मात्रै ?"

"म पैसा तिरेर यस्तो काम गर्दिन, रमाइलो हुन्न ! रमाइलो त तव हुन्छ जव दुवैलाई रमाइलो हुन्छ !"

म उसलाई हेरिरहेँ। यो मेरो अपमान हो वा सम्मान हो?उसको पैसा कान्छोले तिर्नेवाला थियो। तर मेरो शरिरले उसलाई तान्न सकेन। यो अपमान नै हो !

"मैले यहाँ चुरोट पिउँदा हुन्छ ?" दुइ चोटी आफ्नो हात जिन्सको गोजीमा लाँदै फर्काउँदै गरिसकेपछि उसले मलाई प्रश्न राख्यो।

"हुन्छ!"

"म झ्याल खोलेर खान्छु !" उ झ्यालको नजिकै गयो।

"त्यो झ्याल नखोल्नुस्,पछाडी फोहोर फाल्ने ठाउँ छ !केहि हुन्न मलाई , म पनि पिउँछु कहिले काहिँ !"

"एउटा प्रश्न सोधौँ तिमीलाई ?" उसले चुरोट अघि वढायो।

"सोध्नुस् न !" मैले पनि उसको हातवाट चुरोट लिएँ।

"तिमी किन यस्तो काम गर्छ्यौ ?"

"रहरले त पक्कै हैन, मलाई तँपाइको नाम पनि थाहा छैन, हुन त हामीलाई नाम चाहिँदा पनि चाहिँदैन !"

"मेरो नाम तेजेन्द्र हो, तर सवै मलाई ध्वाँसे भन्छन् !" हो कान्छो फोनमा ध्वाँसे दाइ भन्दै थियो।अहिले मलाई याद आयो।

"तँपाइ पार्टीमा किन लाग्नु भयो ?" मैले प्रतिप्रश्न गरेँ।उसको उत्तरले मैले उसलाइ उत्तर दिने नदिने निर्क्यौल गर्न चाहँदै थिएँ म!

"म पनि रहरले थिएन!"

म हाँसे । उ आफ्नो पार्टी प्रवेश र मेरो यो कामलाई एउटै तराजुमा राख्दै छ।

"मेरो वुवाले चन्दा दिन सक्नु भएन। चन्दाको सट्टा एउटा मान्छे लगे !" उसले चुरोट खाएर सजिलै आफ्नो व्यथा पोखिदियो।अचम्मको मान्छे। उसको र मेरो भेट भएको मुश्किलले आधा घण्टा भयो होला। उसको जीवनको यति ठूलो रहस्य मलाइ देखाउन के नै जरुरी थियो र !

"पछि ?"

"पछि भित्रै रमाइलो लाग्यो !"

"मेरो वुवा आर्मीमा हुनुहुन्थ्यो !" उसले मलाई पनि आफ्नो कथा सुनाउन वाध्य वनायो।उसले पुलुक्क म तिर हेर्यो।शायद आर्मी सुनेर डर लाग्यो होला। मलाइ पनि पहिले यिनीहरुको नाम सुन्दै डर लाग्यो। शहर आएपछि मात्र थाहा पाएँ मैले धेरै मान्छेको भिँड जम्मा भए पछि त सवै किसिमका मान्छे नै जम्मा हुन्छन् नी आखिर । मान्छे त स्वभावैले एक भन्दा अर्को फरक हुन्छ।

"घर आएको वेला, तँपाइ तिरैकाले मारे ! ठूलो पिडा दिएर मारे ! म कान्छोलाई पनि कहिलेकाहिँ रिसाउँदा हत्यारा भन्छु !"

उसको अनुहार अचानक कालो भयो।उ चुपचाप सुनीरहेकै थियो।उसले त्यो हत्या युद्दको अंश थियो भनेन। धेरै जसोले त्यहि भन्छन्। वित्नेलाई थाहा हुन्छ, तिनै अंशहरुले जीवन कति गाह्रो पारेका छन् भनेर!

"त्यतिखेर आमा दुई जिउकी हुनुहुन्थ्यो। म र आमा शहर आयौँ ! मैले अरु पैसा कमाउने मेलो पाइन ! अव यसवाट चाहेर पनि निक्लिन सक्दिन !"

धेरैवेरको मौनता चिरेर उसले सोध्यो ," अनि आमालाई थाहा छ ?"

मैले टाउको हल्लाएँ।मेरो आँखा त्यसै त्यसै रसायो। वुवालाई सम्झेँ।वुवा कराएको सम्झेँ,चिच्याएको सम्झेँ।ध्वाँसे मलाइ हेरिरह्यो।एक चोटी त मन लाग्यो म चिच्याउँ उसको अघि, आखिर के पायौ तिमीहरुले भनेर ! तर मलाई थाहा छ, उ पनि त्यहाँ एउटा अंश मात्र हो। ठूलो कथाको एउटा अंश, जसलाई पुरा कथा थाहा छैन।

"म मुख धोएर आउँछु !सरी ! मलाइ थाहा छ तँपाइ यो सुन्न आउनु भएको हैन !"

उ अझै पनि केहि वोलिरहेको थिएन। वरण्डाको अन्तिम कुनामा वाथरुम थियो। म लाइट लिएर वाहिर निस्किएँ। मुख धोएँ, फर्केर आउँदा ध्वाँसे थिएन। वाहिर निस्किएँ , वरण्डावाट तल हेरेँ। उ वाहिर निस्केर गेट लाउँदै थियो।








 

मेरो आत्मस्विकृती-३- ध्वाँसे

भो कति गन्थन गरौँ, जति गरे पनि कुरा उहि हो । युद्द कहिल्यै आफ्नो हुन्न।जितुन्जेल आफ्नो जस्तो लाग्छ। सँगै वस्ने त उही घाउका खाटाहरु न हुन। जित त एउटा उन्माद न हो, पानी फोका जस्तो, गर्जिउन्जेल देखिन्छ ,विलाउँछ।

हाम्रो पार्टी फुट्न आँटेको थियो। दुई खेमामा वाँडिएको स्पष्ट देखिन थालेको थियो। पत्रीकामा हल्लाहरु पनि छापिन थालेका थिए। एउटा चाहिँ सामन्तीहरुकै पार्टी अरे ,अर्को चाहिँ क्रान्तिकारीहरुको। आजकल त म छुट्याउन पनि सक्दिन।को सामन्ती को क्रान्तिकारी। आखिर उही युद्द लड्ने भए, मर्ने मान्छे कसै न कसैको आफ्नो मान्छे हुन्छन् । मैले वुझेको यत्ति नै हो, मेरो आफ्नै जीवनवाट।म त्यो सहि कारणवाट गरियो,गरिएन भन्दिन।किनकी मेरो क्षितिज नै सानो छ। मैले कति नै देखेको छु र संसार , मैले कति नै वुझेको छु र मान्छेलाई? म त सानो गाउँबाट आएको मान्छे।

वुध दाइ सत्तामा गएपछि अलि परिवर्तन भए जस्तो लाग्यो मलाई। सत्ता चल्नलाई पैसा चाहिने। म सँग पैसा थिएन। मैले आँफैले पैसाको संगत भएका थापाकाजी पनि उनकै नजिक पुर्याइदिएको थिएँ। पछि थापाकाजी सँग नै हिमचिम वढ्यो दाइको। तर त्यसलाई म नराम्रो रुपमा लिन्न। दाइले त्यहिँ आफ्नो भविष्य देख्नु भयो त्यहिँ लाग्नु भयो। के नै पो गलत हो र त्यो !

कान्छोले मुटु गाँठो पारेर आफ्नी मायालुको मा पठाएको कुरा पनि आइ नै सकेको छ माथी। फरक यति मात्र थियो की सरितालाई एउटा कुरा थाहा भएन। म उसको जस्तै घटनाको प्रमुख दोषी पात्र पनि थिएँ। किन किन सरितामा मैले त्यो दिन मास्टरको वुढी देखेँ। के उ शहरमा यसरी नै बसिरहेकी छे त ? भगवान उ राम्ररी नै वसिराखेको होस्। कुनै दिन मैले उसलाई पनि यस्तै हालतमा भेट्टाएँ भने ,कसरी माफ गरौँ आफूलाई? जीवनमा कहिलेकाहीँ आफूले गरेको गल्तिले खेदाई खेदाई पिरोल्छ।

म गाउँ जाने भएको थिएँ। मलाई किन किन सरिताकोवाट वाहिर निस्किए पछि साहिँली मगर्नीको सम्झना आयो ।मैले उसलाई फोन गरेर भनेँ

"म गाउँ आउँदैछु !"

उसले धेरै वेर मौन रहेर सोधी

"के लाई ?"

"विहे गर्न !"

"को सँग ?" उसले यसपाली सोध्न समय लगाइन।

"किन तिमी गर्दैनौ र म सँग ?"

यसपाली उ चुप लागि । धेरै वेर पछि सुस्तरी सोधी

"तैँले जाँड खाएको त छैनस् नि ?"

मैले अलि अलि त खाएको थिएँ तर ढाँटिदिएँ।

"छैन"

"म काठमाण्डु आउन सक्दिन तँ सँग! म गाउँ छोड्दिन !"

"कसले काठमाण्डु आइज भनेको छ र ? म पो त्यहाँ वस्छु भनेको त !"

"के गरेर वस्छस् ?"

"अष्टेले पोल्ट्री फर्म खोल्छ अरे, त्यसमै अलिकति पैसा हाल्छु ! तिम्रो पसल छँदैछ! पुग्दैन र ?"

उसले केहि भनिन । मैले हुन्छ भनेकै वुझेँ। मैले फोन राखदिएँ। कान्छोलाई डायल गरेँ अनि भनेँ

"मैले भनेको मान्छस् भने सरिता सँग विहे गर !"

उसले पनि केहि वोलेन। मलाई थाहा छ उसलाई मेरो सुझाव पचाउन समय चाहिन्छ।तर मलाई विश्वास छ अन्तिममा उसको ध्वाँसे दाइले भनेको उसले मान्नेछ।

 

समाप्त



 
Posted on 05-23-14 4:27 PM     [Snapshot: 831]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो, म तिम्रो कथाहरुको नियमित पठाक हुँ तर कमेन्ट हरु तेती धेरै गर्दिन| मेरो यो सायद तेस्रो कमेन्ट हुनुपर्छ | तिम्रो कथाहरुमा एउटा छुट्टै किसिमको मिठास पाउछु म| तिम्रो लेखन सैली अरुको भन्दा भिन्न लाग्छ| यो कथा भित्र थुप्रै उप-कथाहरु बुनिएका छन् र तिम्रा प्रत्येक पात्रहरु बाट त्यस समयको नेपाली समाज र राजनीतिक परिवेशलाइ उनीहरुकै भासामा ब्यक्त गराउन सफल भएको छौ तिमी|
तिम्रो यो कथा त्यो युद्ध का दुवै तर्फका नाइकेहरु, जो पढ्न र बुझ्न सक्छन, लाइ पढ्न दिने हो भने, I wonder how they would reflect on their deed!!!
 
Posted on 05-23-14 8:06 PM     [Snapshot: 878]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अष्ट धिमाल "कहिलेकाहिँ खडेरी लागेको जीवनमा पानीका थोपाहरु हराउँछन् भुइँ रसाउन नपाइ। क्रान्ती मेरो लागि त्यहि पानीको थोपा जस्तै।:

 अष्ट धिमाल "मान्छे सँग जत्ति रिस उठे पनि उसलाई सिध्याइसकेपछि भने त्यो लाशको माया लाग्दो रहेछ।त्यो मेजरको लाश उठेर मलाई वुट वजार्ला जस्तो थिएन। त्यो त ढलेको थियो, निन्द्रा मा भए जस्तो ! रगतमा लतपतिएको, माया लाग्दो!!"

 सरिता "मेरो आँखा त्यसै त्यसै रसायो। वुवालाई सम्झेँ।वुवा कराएको सम्झेँ,चिच्याएको सम्झेँ।ध्वाँसे मलाइ हेरिरह्यो।एक चोटी त मन लाग्यो म चिच्याउँ उसको अघि, आखिर के पायौ तिमीहरुले भनेर !"

ध्वासे 
"उसको विहामा गएर एउटा विद्रोहको इतिहाँस रच्ने योजना मैले परिवर्तन गरेँ। "

"युद्द कहिल्यै आफ्नो हुन्न।जितुन्जेल आफ्नो जस्तो लाग्छ। सँगै वस्ने त उही घाउका खाटाहरु न हुन। जित त एउटा उन्माद न हो, पानी फोका जस्तो, गर्जिउन्जेल देखिन्छ ,विलाउँछ।"

"आखिर उही युद्द लड्ने भए, मर्ने मान्छे कसै न कसैको आफ्नो मान्छे हुन्छन् ।"

"किन किन सरितामा मैले त्यो दिन मास्टरको वुढी देखेँ। ... गवान उ राम्ररी नै वसिराखेको होस्। कुनै दिन मैले उसलाई पनि यस्तै हालतमा भेट्टाएँ भने ,कसरी माफ गरौँ आफूलाई? जीवनमा कहिलेकाहीँ आफूले गरेको गल्तिले खेदाई खेदाई पिरोल्छ।"

फुच्चे, यो कथा (कथा पनि के भन्ने नेपालको एक कालखण्डको ब्यथा जसमा जोकोहि एक न एक पात्रमा आफु पाउन सक्छ) को बहाब र घटनाक्रम संगै प्रतुतीले जो कोहीलाइ बाध्न सक्छ , सोचमग्न पार्न सक्छ , पाठ पढाउन सक्छ | उपन्यासको रुपमा आएर पढ्न पाउँ !!


 
Posted on 05-24-14 11:33 AM     [Snapshot: 943]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो

पुरै पढे , beer पनि सिध्ह्याये तिन बोत्तल , किन हो तिम्रो कथा पढ्यो कि beer तान्न मन लाग्छ, जे हॊस जनाकरन्ति को असली रुप तेही हो , जो कथा मा छ , बाकि सब त गफ हुन्

मज्जा आयो पढेर


 
Posted on 07-19-14 10:49 PM     [Snapshot: 1528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucche keto,
dhwase katha sidiyeko ho ra?

maile ta yeha samma matra padeko chu..yespaci ko story k ho?

म गाउँ जाने भएको थिएँ। मलाई किन किन सरिताकोवाट वाहिर निस्किए पछि साहिँली मगर्नीको सम्झना आयो ।मैले उसलाई फोन गरेर भनेँ

"म गाउँ आउँदैछु !"

उसले धेरै वेर मौन रहेर सोधी
 
Posted on 07-20-14 7:56 AM     [Snapshot: 1595]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Timi mero sathi - thank you...
Sojoketo - sorry I dint realize that story was not copied full..sorry to all the readers...

ध्वाँसे -- Remaining..

"के लाई ?"
"विहे गर्न !"
"को सँग ?" उसले यसपाली सोध्न समय लगाइन।
"किन तिमी गर्दैनौ र म सँग ?"
यसपाली उ चुप लागि । धेरै वेर पछि सुस्तरी सोधी
"तैँले जाँड खाएको त छैनस् नि ?"
मैले अलि अलि त खाएको थिएँ तर ढाँटिदिएँ।
"छैन"
"म काठमाण्डु आउन सक्दिन तँ सँग! म गाउँ छोड्दिन !"
"कसले काठमाण्डु आइज भनेको छ र ? म पो त्यहाँ वस्छु भनेको त !"
"के गरेर वस्छस् ?"
"अष्टेले पोल्ट्री फर्म खोल्छ अरे, त्यसमै अलिकति पैसा हाल्छु ! तिम्रो पसल छँदैछ! पुग्दैन र ?"
उसले केहि भनिन । मैले हुन्छ भनेकै वुझेँ। मैले फोन राखदिएँ। कान्छोलाई डायल गरेँ अनि भनेँ
"मैले भनेको मान्छस् भने सरिता सँग विहे गर !"
उसले पनि केहि वोलेन। मलाई थाहा छ उसलाई मेरो सुझाव पचाउन समय चाहिन्छ।तर मलाई विश्वास छ अन्तिममा उसको ध्वाँसे दाइले भनेको उसले मान्नेछ।

समाप्त




 
Posted on 07-20-14 10:55 AM     [Snapshot: 1657]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucche keto
lovely, sweet!! kathako ending pani mun paryo.
i hardly read a story. Glad, I have read the superb one 'dhwase' probably, a fictional character in this true story.
Sahilee magarnee character, really is a sweet one for me as i do know some shahille magarnee and i am kind of dhwase for her..lol..



 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters