[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 140856 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 11-28-06 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४८

२०५६ साल पुष १५ गते विहिवार फिल्डको काम सकेर टीमका सबै साथीहरुसँगै म पनि थानकोटबाट काठमाण्डौ उपत्यका छिर्दा घाम ओरालो लाग्न थालिसकेका थिए। घरबेटी साहुजीका छोराछोरीहरु छतमा आगो बालेर तापीरहेका रहेछन्। कोठामा झोला राखेर म पनि छतमा उक्लिएँ। केटाकेटीहरुसँग जिस्कँदै आगो तापेर बसेँ। एकछिन पछि घरबेटी साहुनी पनि केटाकेटीलाई गाली गर्दै छतमा आउनु भयो र भन्नुभो “ए ओम पो आएछ। एकजना केटी टिमी हिडेको हप्टाडिनदेखि डिनैपिच्छे आको आयै छ। टिमीलाई नभेटी नहुने काम छ रे। टिम्रो कोठाको फोनको घन्टी पनि बज्याबज्जै जस्टो मान्याछु मैले। कमसेकम बाहिर जाँडा ट भनेर जानु पर्छ नि। मलाई पनि ठा ठिएन टिमी कहिले आउने भनेर। बेकारमा डुखपायो ल ट्यो केटीले। टुरुन्ट ट्यो केटीलाई फोन गरेर ल्याउ ट?”

“को केटी ममी” मैले निकै अतालिएर सोधेँ।

“खै के ठा मलाई, मैले ट पहिले कहिले नि डेखेको ठिएन ट्यसलाई”

झट्ट मेनुकालाई सम्झिएँ। “किन बिहे नहुने भनेर आकी त हैनन् यहाँ? मेरो घरको स्थिति थाहा पाएर बिहे नगर्ने भन्न त आकि हैनन्? कि डिसिजन पो चेन्ज भयो कि?” मनमनै सोचेँ।

फेरि आफैंले आफ्नै कुरा काटेँ “मेनुकालाई त म बाहिर जाने कुरा त थाहा थियो त”।

“मञ्जु पो हुन् कि क्या हो? किन यस्तो हतारमा भेट्न खोजिछन् त” मनमनै गुने।

“कस्ती थिई केटी ममी” मैले केटीको हुलिया जान्न चाहेँ।

“टिम्रै गाउँकी रे। एउटा चिठी पनि ड्या छ, आउने बिटिक्कै डिनु भनेर” साहुनीका यी कुरापछि चाहिँ मञ्जु नै हुन् भन्ने कुरा विश्वास लाग्यो।

साहुनीबाट चिठी लिएँ। चिठीमा “तपाईँ आउने बितिक्कै जसरी पनि मलाई खबर गर्नु है, मेरो अति जरुरी कुरा गर्नुछ-मञ्जु” भनेर मात्र लेखेको रहेछ। कोठामा पसेर फोन नं हेरेँ, मञ्जुको मामाको। फोन खोज्दा खोज्दै फोनको घन्टी बज्यो। फोन उठाएँ।

“माईजु माथि कौशिमा हुनुहुन्छ। लामो कुरा गर्न पाउँदिन म। मेरो अति जरुरि कुरा गर्नु छ तपाईँसँग। म भरे बेलुका तपाईँको कोठामा आँउछु है” अतालिएर रुँदै मञ्जुले यति कुरा मात्र भनिन् र फोन राखिदिईन्। मैले बोल्नै पाईन। माईजु त्यहिँ छन् भने पछि फोन गर्नु पनि ब्यर्थ थियो। अब भने मलाई अति डर लाग्यो। “मञ्जुले मेरो र मेनुकाको विवाहको कुरा थाहा पाएर भेट्न खोजेकी हुन्। उनले मलाई मन पराउने रहिछिन्” भनेर कस्तो सहिनसक्नु पिडा भयो। मञ्जु र मेनुकाका अनुहारहरु एकआपसमा तँछाडमछाड गर्दै देखिन थाले, मेरा दृष्यमा। म निकै अतालिएँ, कोठैमा कहिले यता कहिले उता गरेर आफैँलाई धिक्कारी रहेँ।

छ बजे कोठाको ढोका ढकढक ग-यो। हतार हतार खोलेँ। ठूलो ओढ्नेले पुरै जीउ ढाकेर मञ्जु देखा परिन्।

“मञ्जु, भित्रै आऊ” आँखाको ईसाराले उनलाई बोलाएँ। उनले ढोका सरक्क लगाईन् र कुद्दै आएर खाटमा घोप्टो परेर रुन लागिन्, केही पनि बोलिनन्। एकोहोरो रोईरहिन्।

“मञ्जु, कन्ट्रोल गर प्लिज” मैले उनलाई सम्झाउने कोशिष गरेँ। उनलाई झन् गा-हो भयो। उनी रोईरहिन्।

“मञ्जु, प्लिज” मैले अनुरोध गरीरहेँ। उनको रुवाई रोकिएन।

“मञ्जु, यस्तो हालत नबनाउन” म छेवैमा गएर बसेँ र उनको हात समाएर उठाएँ। उनी मेरो काखमा घोप्टो परेर रुन लागिन्।

आँसु पुछ्ने असफल प्रयास पनि गरेँ। ऊनी धेरैबेर रोईरहिन्, एक बाक्य पनि नबोली। निकैबेर पछि टाउको उठाईन् र भनिन् “आज मलाई तपाईँको काखमा धीत मरुन्जेल रुने मन छ। मलाई रुन दिनुस् ल”।

मेरो कुनै जबाफ थिएन।

“मलाई तपाईँको अँगालोमा लिनुस् न प्लिज” उनले आफूलाई कन्ट्रोल गर्नै सकिनन् “प्लिज, तपाईँको अँगालोमा लिनुस् न मलाई”।

मैले उनलाई अँगालोमा लिएँ। मेरो छातिमा टाउको राखेपछि उनको रुवाई केही मथ्थर भयो। धेरैबेर पछि उनले मेरो मुखमा हेरेर भनिन् “नयाँ जीवन शुरु गर्दै हुनुहुन्छ, तपाईँ त खुशी हुनुहुन्छ नि है?”

म केही पनि बोलिन।

“मलाई एउटा कुरा भन्नुस् न, पहिले प्रस्ताव कस्ले राख्यो? तपाईँले कि मेनुकाले?”
उनको यो प्रश्नको उत्तर पनि मसँग थिएन।

“तपाईँले विवाहको डिसिजन गरेपछि मलाई किन लुकाउनु भको? किन खबरै नगरी बाहिर जानु भको? मैले विवाह भाँड्छु भनेर हो?”

यसको उत्तर पनि मसँग थिएन।

“मञ्जु, मलाई केही भन्नै आएन। प्लिज मलाई मेरो सबै कुरा भन्ने मौका देउ न ल” मैले यसो भनेपछि भने उनी अड्किईन् र अचम्म मानेको जसरी सोधिन् “किन, के कुरा?”

“मञ्जु, मैले ठूलो गल्ती गरेँ। मैले डिसिजन गर्नु अगाडि तिमीसँग सोध्नु पर्थ्यो, तर मैले आँटै गर्न सकिन। भन्न धेरै कोसिश गरेँ, तर सक्तै सकिन”

मैले यसो भनेपछि उनले रुन छाडिन् र भनिन् “मैले पनि कति कोशिष गरेँ, तर भन्नै सकिन”
“मलाई अलिकतिमात्र सिग्नल दिएकी भए…”

“तपाईँले पनि भन्नु भएको भए…हामी दुबै उस्तै है!” मञ्जु अलिकति रुन्चे हाँसो हाँसिन् “अर्को जन्ममा चाहिँ अवश्यै भन्ने है”

केहिबेर पछि मञ्जुले मेरो मुखमा हेर्दै भनिन् “तपाईँले बिहेको कुरा छिन्दा मलाई एकपटक पनि सम्झनु भएन? बिहेको कुरा छिनिसकेपछि पनि किन मलाई नभनि बाहिर जानु भको?” उनले त्यहि कुरा दोहोर्याईन् जसको उत्तर मसँग थिएन।

“मञ्जु, म मेनुकासँग बिहे गर्दिन” मेरो मुखबाट एक्कासि निस्कियो।

“किन र तपाईँले आफैँले रोजेकी केटी हैन र उ”

“मैले त तिमीलाई मात्र रोजेको छु”

“अनि एउटालाई मन पराउने, अर्कोसँग कुरा छिन्ने पनि मिल्ने कुरा हो र?”

“मैले मन पराएर कुरा छिनेको हैन”

“अनि तपाईँको बिहेको कुरा पनि अर्कैले निर्णय गर्न सक्छ त?”

“म परिवन्दमा थिएँ”

“कस्तो परिवन्द हो त्यस्तो?”

“मेनुकाको घरमा म ट्र्यापमा परेँ। म मेनुकाको घरमा आउजाउ गर्नु नै गल्ती भयो”।
“किन र तपाईँलाई बिहा गर्न मन थिएन?”

“खै म के भनौँ मञ्जु, उहाँहरुले प्रस्ताव राख्नु भयो, मैले हार्न सकिन। फेरि तिमीसँग कुरा राख्न पनि सकिन। म एकपटक मेनुकासँग कुरा गर्छु सबै। उनले कुरा बुझिन् भने बिहे क्यान्सिल गर्छु ल?”

“कुरा धेरै अगाडि बढीसक्यो। सबैजनाले थाहा पाईसके। मेनुकाको पनि त जिन्दगीको सवाल छ नि। जे हुनुभैगयो, बिहा गर्नुस् अब” उनी फेरि सिरियस भईन्।

“मञ्जु…”

“हामी दुबैको कमजोरी छ यो सब हुनुमा” उनले आफूलाई पनि दोष देखाईन्।

“तर तिम्रो भन्दा त मेरो दोष बढी छ नि। मैले कुरा छिन्नु हुन्नथ्यो” मैले भनेँ।

“मैले पनि त यतिका बर्षहरुमा तपाईँसँग कुरा राख्न सक्नु पर्थ्यो नि” उनले भनिन्।

धेरैकुरा गरिसकेपछि हामी एकआपसमा क्लियर हुँदै गयौँ। हामीले एकअर्कामा कुरा राख्न नसक्नु नै हाम्रो सबभन्दा ठूलो कमजोरी थियो। मध्य-पुसको त्यो रात हाम्रा मनका कुराहरु साटासाट गर्दैमा वित्यो। राम्रोसँग उज्यालो पनि नहुँदै हामीले छुट्टिनुथियो, सदासदाका लागि। सायद त्यो अन्तिम भेटघाट हुनपनि सक्छ।

“मञ्जु, मेरो विवाहमा आउ ल, तिम्रो अनुपस्थितिमा मेरो विवाह कसरी हुन्छ?” मैले उनलाई मेरो विवाहमा बोलाएँ। उनले मानिनन्। मैले अति नै कर गरेपछि हार्न सकिनन् र हुन्छ भनिन्।

“थ्यांक्यू मञ्जु, यु आर रियल्ली ग्रेट” मैले उनलाई अँगालोमा लिएँ। उनी रुन लागिन्। धेरैबेर रोईरहिन्। म पनि उनीसँगै रोएँ।

“मञ्जु, उज्यालो हुनलाग्यो, मार्नु हुन्छ मामामाईजुले, अब जाउ ल?” मैले समाजको डर मानेँ।

“छुट्टीने कुरा नगर्नुस् न” उनलाई छुट्टिन गाह्रो भयो। मलाई पनि उस्तै भको थियो।

एकछिन पछि उनले नै भनिन् “म जान्छु अब। तपाईँको सुखमय वैवाहिक जीवनको लागि म प्रार्थना गर्छु” उनले डाको छोडिन्।

मैले उनको रुवाईको आवाज सुन्न सकिन र हातले उनको मुख बन्द गरेँ।

हामी अँगालोवाट छुट्टियौँ। उनी सम्मालिईन् र ठूलो ओढ्नेले पूरै मुख छोपेर रातभरिको रुवाई र अनिँदोले फुलेको अनुहारलाई पुरै लुकाईन्। हामी दुबैजना कोठाबाट बाहिर निस्कियौँ। उज्यालो त भैसकेको थियो, तरपनि बिहानीको हुस्सेले काठमाण्डौ राति नै जस्तो थियो। नयाँ बानेश्वर चोकसम्म म उनलाई पु-याउन आएँ।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४९

आमा र भाइबैनीलाई पनि गाउँबाट बोलाएँ बिहेमा। बिहेपछि घरसल्लाह ग-यौँ, अब के गर्ने भनेर। मेनुकाले काठमाण्डौ छोड्न मानिनन्। उनका बाबाममीले पनि छोरी काठमाण्डौमै राख्न चाहनुभयो। गाउँको आफ्नो जग्गा कमाउन दिएर सबैजना काठमाण्डौमै बस्ने र भाइबैनी पनि काठमाण्डौमै क्याम्पस पढ्ने सल्लाह भयो। अलिक फराकिला ३ बटा कोठा भाडामा लिएर कोठा स-यौँ। आमा एकपटक फेरि गाउँ जानु भो, घरजग्गा कमाउन दिन। चैत्र महिनामा आमा काठमाण्डौ फर्कनु भयो। मेनुकालाई उनको बुबाले हिमालयन बैंकमा जागिर लगाई दिनुभयो। पाँच जनाको परिवार राम्रै किसिमले बस्न थाल्यौँ काठमान्डौमा। म र मेनुका अफिस जान्थ्यौँ। भाइबैनी क्याम्पस पढ्न जान्थे। आमा खाना पकाउनु हुन्थ्यो। मेनुका र बहिनीले मिलीमिली बिहान बेलुकाका काम गर्थे, आमालाई सघाउँथे।

२०५७ साल बैशाख १० गते शनिबार। बिहानै मस्त निद्रामै मेनुकाले सिरक उठाउँदै बोलाईन् “सुन्नुस् न, तपाईँको फोन आ’को छ”।

मैले फोन उठाएँ। पुल्चोक क्याम्पसमा सँगै पढ्दाको साथी राजेन्द्रको रहेछ।

“अमेरीकाबाट चिठी आको छ, आईज लिन” उसले भन्यो।

“कस्ले पठाउँछ मलाई चिठी अमेरीकाबाट” मैले पत्याईन।

“खै युनिभर्सिटीबाट जस्तो छ। म निस्किने बेला भो, छिट्टै आईज” उसले भन्यो।

“ए, ल म २० मिनेटभित्रै आईपुग्छु है” मैले फोन राखेँ। आफ्नो बस्ने स्थायी ठेगाना नभएर मैले राजेन्द्रकै ठेगाना पठाएको थिएँ, युनिभर्सिटीहरुमा एप्लाई गर्दा।

म राजेन्द्रको घर पुग्दा मोटरसाईकल लिएर बाहिर निस्कनै लागेको रहेछ। गेटमा नै चिठी दिएर उ हिड्यो। उसको घरभित्र पनि नपसी म पनि चिठी लिएर फर्किएँ। घर पुग्ने बितिक्कै खोलेर हेरेँ। क्यालिफोर्नियाको एउटा युनिभर्सिटीवाट माष्टर कोर्षको लागि एसिस्टेन्टसिप सहित भर्नाको अफर रहेछ। भावी योजनाहरु बनाउँदा मैले यो अप्सनलाई कहिल्यै पनि ठाँउ दिएको थिईन, अर्थात यस्तो अवसर पनि मिल्छ भन्नेमा म आफैँलाई विश्वास थिएन। एक्कासि चिठी को अफर देख्दा पत्याउन पनि गा-हो भयो।

एककिसिमले सोझिँदै गएको मेरो पारिवारिक वातावारणमा माष्टर्सकोर्षको अफरले निकै नै डिष्टर्व ग-यो। शुरुशुरुमा त जाने कि नजाने भन्ने दोधारमा पनि परेँ। “नजाँउ भने त्यत्रो ठूलो कुरा पाएको छु, सबैजना अमेरीका जान पाउँदा आफूलाई भाग्यमानी ठान्छन्, जाँउ भने बल्लबल्ल घरको वातावरण बन्न लागेको छ। म हिड्दा फेरि भताभुंग हुन्छ” मनमा निकै तर्कनाहरु खेले।

सबैजना बसेर घरसल्लाह ग-यौँ। मेनुकाले “तपाईँ चाहिँ जसरी पनि जानुस्, बरु म यहिँ बसौँला” भनेर जिद्दी गरिन्। मेनुकाका बाबाममीले पनि “मौका आएको बेलामा छोड्नु हुन्न। यस्तो मौका आएको पनि कसैले छोड्छ? अमेरीका भनेको त अमेरीका नै हो, सपनाको देश” भनेर जाने कुरामा कर गर्नुभयो। आमा र भाइबैनीले चाहिँ केही पनि भनेनन्, सायद मेनुका र म दुबैजना हिडेपछिको अवस्थाको पुर्वानुमानले होला। आमाले “जाने भए, यो एउटी बैनीको चाहिँ बिहे गरेर जा। फेरि कहिले आउनेहोस्, यो त बुढी भैसक्छे” भनेर भन्नु भयो।

असारमा बैनीको विवाह पनि उहिँ गाउँकै एकजना केटासँग छिटोछरितो रुपमा गरिदिँए। विवाह सकिने बितिक्कै ज्वाईँको बिराटनगर सरुवा भयो र ऊनीहरु दुबैजना उतै बस्ने गरी गए। आमा र भाइ एक्लै पनि काठमाण्डौमा बस्न गा-हो हुने, आमा पनि गाउँमा गएर काम गर्न बुढ्यौलले नसक्ने, भाइ पनि क्याम्पस पढ्नै पर्ने भएकोले समस्याको समाधान स्वरुप शुरुमा म मात्र अमेरीका जाने र पछि अलिअलि पैसा बचाउन सक्ने अवस्था मिलेछ भने मेनुकालाई चाहिँ बोलाएर अमेरिकाबाट आमा र भाइलाई केही पैसा पठाउने भन्ने सल्लाह भयो। मेनुकाले पनि यो कुरामा सहमति दिईन्।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ५०

२०५७ साल साउन २८ गते शनिवार। हिजो बेलुका निकैबेरसम्म सामान मिलाउँदै परिवारसँग गफगाफ गर्दैमा बित्यो। आमा र मेनुकाको जिद्दिको सामुन्ने मेरो के लाग्थ्यो र? मैले पनि सकेसम्म उनीहरुको चित्त बुझाउन सबै समान सुटकेशमा अटाउने कोशिष गरेँ। आमाहरु सुतेपछि पनि निकैबेर मेनुकासँग भलाकुसारी चल्यो। निद्रा भने लाग्दै लागेन। मनमा विगतका क्षणहरु पनि घुमे, आगामी सुनौलो सँसारका मीठा कल्पनाहरु पनि खेले। मेनुका पनि निदाउन सकिनन्। विवाह गरेको चानचुन ६ महिना मै श्रीमानले छोडेर विदेशिन लागेको बखत उनलाई पनि के निद्रा लागोस्? बिछोडको पीडा भएपनि “छात्रवृति पाएर सपनाको देश अमेरीका पढ्न जान लागेकोले” उनी पनि एकहदसम्म खुशी नै थिईन्। विछोडिँदा त जस्लाई पनि नराम्रो त लागि हाल्छ नि! रातको १ त त्यतिकै बज्यो। त्यसदिन पनि मेनुका सँग मञ्जुको कुरा गर्ने प्रयास असफल रह्यो।

बिहान सबेरै देखि हिजो सुटकेसमा अटाउन नसकेका समानहरु कोच्न थालेँ। एकातिर घरपरिवार सबैलाई छोडेर हिड्दाको पीर थियो भने अर्कोतिर नयाँ सँसारमा जान लागेको उमँग र कौतुहलता पनि छँदै थियो। त्यतिकैमा बिहानको दश बज्यो। भाइ ट्याक्सिलिन सडकतिर गयो। पासपोर्ट र टिकट चेक गरीसकेर सुटकेश हातमा लिँदै आमासँग विदा भएँ। मेनुका र भाइ मलाई एअरपोर्टसम्म पु-याउन आए। आमा चाहिँ अँध्यारो मुख लगाएर ढोकैको छेउमा उभिएर हेरिरहनु भएको थियो, म हिँडेको। मेनुकालाई ट्याक्सिभरी धेरै सल्लाह दिएँ। “मिलेसम्म छिटो बोलाउँछु, पीर नगरी बस है” भनेर उनको चित्त बुझाउने कोशिष गरेँ। एअरपोर्टमा पुगेपछि त्यहाँ एकछिन् बसेर मेनुका र भाइ मसँग बिदा भए। उनीहरु त्यहि आँउदाको ट्याक्सी चढेर फर्किए। ट्याक्सी ड्राईभर पनि चिनचानको मान्छे परेछ, उस्ले पनि एकछिन कुर्न मान्यो। बिदा हुने बेलामा मेनुकाले झारेका आँसुले मलाई पनि झण्डै रोवाएको थियो, तरपनि कन्ट्रोल गरेर रोकेँ।

क्यारियरमा सामान राखेर जब म एअरपोर्टभित्र पस्न लागेको थिएँ, पछाडिबाट कसैले बोलायो “सुन्नु न” फर्केर हेरेँ, मञ्जु रहिछिन्। म त छक्क परेँ, सायद उनी पहिले नै एअरपोर्टको बाहिर आएर कतै बसिरहेकी रहिछिन् क्यारे! मेरी श्रीमतीबाट छलिएकी पो हुन् कि? क्यारियरलाई घुमाएर उनी भको ठाँउमा हतारिँदै पुगेँ, उनी पनि म भएतिर आईन्, दौडिँदै। एकछिन् त मलाई सपना जस्तो लाग्यो। सात महिना अघि भेट्दा कि जस्ति रहिनछिन् मञ्जु। दुब्ली, लुरी, पातली। आँखाको डिलमा कालोकालो धब्बा बसेको, आँखाहरु पनि लोलाएका। भर्खर बिरामीबाट उठेको जस्तो, राम्रोसँग पनि नतंग्रिएको जीउ।

“किन मञ्जु, बिरामी पर्यौ कि क्या हो? किन यसरी दुब्लाएकी?"

“ओमदाइ सरी है, म फेरि तपाईँलाई भेट्न आँए”

“किन सरी भनेको नि! कसरी थाहा पायौ म आज विदेश जाँदैछु भनेर?”

“तपाईँलाई भेट्न मन लाग्यो, अनि यहाँ आएँ”

उनले मेरो प्रश्नको उतर दिईनन्। एकोहोरो उनकै कुरामात्र गरीरहिन्, पागल जस्तै। मैले पनि अन्य कुराहरु सोध्न सकिन। वरिपरिको कोलाहलले हामीलाई केही असर गरेन। शुन्यता छायो, हामी बीचमा। खम्वामा छलिएर एकअर्कालाई हेरीरह्यौँ, केवल हेरिरह्यौँ मात्र। उनका आँखाबाट आँसु झरिरहे, उनी रोईरहिन्। मसँग उनलाई सान्त्वना दिने शब्दहरु पनि थिएनन्, बोल्न सक्ने अवस्था पनि थिएन। उनी यति गलिसकेकि थिईन् कि, मैले केही भनेर उनलाई फरकपर्ने अवस्था नै थिएन।

यसो घडि हेरेँ, समय बित्न लागिसक्यो। फेरि बिदा हुने बेला त आईहाल्यो। घडि हेर्दै भनेँ “मञ्जु, मेरो प्लेन छुट्ने बेला भैसको, म जान्छु ल। आई एम भेरी भेरी सरी मञ्जु, मैले तिम्रो मन बुझिनछु। मैले हतारमै डिसिजन गरेँ, एकपटक तिमीलाई पनि नसोधी। म दोषी हुँ। तरपनि म परिवन्दमा थिएँ। प्लिज मलाई नराम्रो नसोच है। मैले तिम्रो मनलाई बेलैमा पढ्न सकेको भए…..”।

मेरो बोली विचैमा रोकियो। उनले आफूलाई कन्ट्रोल गर्न खोजिन्। बगिरहेका आँसुलाई हातैले पुछेर लुकाउन खोजिन् र भक्भकिएकै स्वरमा भनिन् “यसमा तपाईँको केही गल्ती छैन। गल्ती त सब मबाट भयो। मैले तपाईँलाई १४ बर्षसम्मको मेरो प्रेमबारे केही भनिन। मैले भन्नु पर्थ्यो, तर आँटै गर्न सकिन। मेरो त्यहि कमजोरीको फल म भोग्दैछु, अब जीन्दगि भरि पनि भोग्नु पर्छ र म भोगौँला पनि। तपाईँ यस्तो राम्रो बाटोमा हिड्न लाग्नु भको छ, म तपाईँको यो बाटोमा अबरोध हुन चाहन्न। मलाई अरु केही चाहिँदैन, केबल तपाईँको उत्तरोत्तर प्रगतिको खबर सुन्नमात्र पाए पुग्छ। केबल तपाईँको सफलतलाको खबर ....."।

उनि भक्भकाईन्। बोल्नै सकिनन्। उनलाई उभिन पनि गाह्रो भयो। मेरो छातिमा टाउको राखिन् र घुँक्क घुँक्क रोईरहिन्। मैले उनको टाउकोमा हात राखेर सम्झाउने कोशिष गरेँ। उनका आखाँबाट झरेका अबिरल आँसु पुछ्ने असफल प्रयास गरेँ। जिंग्रिङग परेको कपाल फूकेर अनुहारमा परेका कपालका त्यान्द्राहरु पन्छाईदिएँ। केहिबेर पछि टाउको उठाईन् र भनिन् “ओमदाइ, तपाईँको प्लेन छुटिसक्यो, जानुस् अब। यो मेरो तर्फबाट सानो उपहार, प्लेनमा बसेपछि मात्र हेर्नुस् है"। उनले एउटा सानो प्याक दिईन्। मनले नमान्दानमान्दै पनि उनलाई बाईबाई गरेर क्यारियर घुमाएँ र एअरपोर्टभित्र छिर्ने ढोकामा पुगेँ। फेरि एकपटक मञ्जुलाई हेर्न मन लाग्यो र पछाडि फर्केर बाईबाई गरेँ, भारी मन लिएर। उनी त्यहि खम्बाको छेउमा उभिएर मलाई बाईबाई गर्दै हेरिरहेकी थिईन्।

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ५१

आफ्नो सिटमा बसेर सेफ्टीबेल्ट बाँध्ने बितिक्कै त्यहि प्याक खोलेर हेरेँ। म १० कक्षामा पढ्दा जेलबाट छुटेर आउने बितिक्कै घनश्याम सरको घरमा लगाएको सत्यनारायणको पूजाको दिन खिचेको मञ्जु र मेरो फोटो रहेछ, अलिक पुरानो भैसकेको। फोटोको पछाडि लेखेको रहेछ “सम्झनु हुन्छ, यो फोटो?” अनि एउटा चिठी रहेछ। सम्बोधन बिनाको चिठीमा लेखिएको थियो:

.........,
खै के भनेर सम्बोधन गरौँ? मैले त केही सोच्नै सकिरहेकी छैन। नरिसाउनुस् है, मैले सम्बोधनसम्म पनि गरिन भनेर। हेर्नुस् न, म चिठी नै लेख्न जान्दिन, उसमाथी एउटा असफल प्रेमीकाको बेदना। निर्जिव मनमा उम्लिएको भावना। वितिसकेको ईतिहास। आखिर यो लेखेर नै के पो हुन्छ र, भन्नुस् त? जे हुनु थियो, त्यो त भैसक्यो नि। मैले वास्तवमा तपाईँलाई भेट्दै नभेट्नु पर्ने हो। यो चिठी नै नलेख्नु पर्ने हो। उच्च सफलताको चुर्चुरो चुम्न सपनाको देश जान लाग्नु भको तपाईँलाई यी मेरा पुराना कुराहरुको गन्थन नसुनाउनु पर्ने हो। सफलताको शिखरमा पुग्नै लाग्नु भको तपाईँको उच्च दिमागमा यस्ता झिनामसिना कुराहरुले बेकारमा अबरोध नल्याउनु पर्ने हो। कहाँ तपाईँको उच्च सोचाई, कहाँ मेरा यी थोत्रा कुरा। तरपनि मैले आफूलाई रोक्नै सकिन। नलेखौँ भन्दा भन्दै पनि यी अक्षरहरु लेखिए। नदेखाउँ भन्दा भन्दै पनि मेरा मनका वहहरु यी पेजहरुमा पोखिए। मलाई थाहा छ यी हरफहरु पढेर तपाईँ दुखित हुनुहुनेछ। मलाई थाहा छ, मलाई फेरि देख्दा तपाईँलाई नराम्रो लाग्नेछ। बिगतमै हराएर टाढा पुगिसकेको ईतिहासले फर्केर बाटो छेकेको जस्तो लाग्नेछ तपाईँलाई, अबरोध पुर्याएको मान्नु हुनेछ, तपाईँले। मलाई थाहा छ, मैले यो सब गरेर राम्रो गरिरहेकी छैन। तर म विवश छु, आफ्नै मनलाई वशमा राख्न सकिरहेकि छैन।

तपाईँको विवाह भैसकेपछि कमसेकम एकैपटक भएपनि तपाईँको अनुहार हेर्ने तिव्र इच्छा थियो, तरपनि आँट गर्न सकिरहेकी थिईन। आज आँट्दैछु। किन मलाई यत्रो आँट आईरहेछ, छक्क परेर कारण बुझ्न आफैँलाई प्रश्न गर्दैछु। एउटा कुरा चाहिँ के पत्ता लगाएँ भने, म धेरै कमजोर भैसकिछु। आजको आँट यो लुरी मञ्जुले गरेको हैन, उस्को मनले हो। यो दुश्साहस तपाईँकी ईतिहासकी साथीले गरेको हैन, उसको मुटुको धड्कनले हो। यो मुटुमा परेको घाउ कोट्याएर झन् दुखाउने आत्मघाति प्रयास एक अबोध केटीले गरेको हैन, त्यो कन्ट्रोल नै गर्न नसक्ने उसको दिमागले हो। बिचरा यो मञ्जुसँग आज केही पनि छैन; मन पनि छैन, मुटुको धड्कन पनि छैन र चेतनायुक्त दिमाग पनि। यिनीहरुले यो अभागि मञ्जुलाई छोडिसके, सबै तपाईँतिर लागेका छन्। मलाई जस्तै यिनीहरुले तपाईँलाई पनि दुख देलान्, होसियार हुनुस् है, मबाट भागेका यी भगौवाहरुदेखि! हुन त अब मसँग के नै बाँकी छ र बसुन् बिचाराहरु पनि! जे भए पनि आज मैले अठोट गरिसकेकी छु तपाईँलाई भेट्ने र तपाईँलाई एकैपटक भएपनि हेर्ने। भोलिबिहान म त्यहि धोको पूरा गर्न यो चिठीका साथ एअरपोर्ट आउन लागेकी छु। भोलि मैले मेरो अन्तिम इच्छा पूरा गर्न लाग्दैछु, तपाईँलाई हेर्ने। एकपटक तपाईँलाई भेट्दा आईपर्ने जुनसुकै परिस्थिति भोग्न म तयार छु।

तपाईँसँग भेटेका शुरुशुरुका क्षणहरु हरपल मेरो दिमागमा घुमिरहन्छन्। मैले तपाईँलाई पहिलोपटक कहिले देखेकी थिएँ, याद छ तपाईँलाई? तपाईँलाई कसैले छिड्किनि लगाएर लडाएको थियो, तपाईँको झोलाबाट एउटा कपी निस्किएर धुलोमा झरेको थियो, अनि मैले तपाईँलाई त्यो कपी धुलो टक्टक्याएर दिएकि थिएँ नि, सम्झनु भयो? कति बर्ष बित्यो त्यसपछि, याद गर्नुस् त? पूरा १४ बर्ष। अझ म नाटक हेर्न तपाईँको घर गएर प्रत्यक्ष आफ्नै आँखाले तपाईँको घरको गरीवीको सजीवरुप देखेपछि मैले तपाईँलाई अर्कै रुपमा हेर्न थालेँ। तपाईँकी आमा कति महान् हुनुहुन्छ, जस्ले तपाईँ जस्तो संघर्षशिल छोरालाई जन्मदिनु भो। घरको सम्पूर्ण कामलाई भोकोपेट आफैँले सकेर तपाईँलाई पढ्ने फूर्सद दिनु भो। अनि तपाईँ पनि कति महान् हुनुहुन्छ? सोच्नुस् त तपाईँको विगत र भोलिको दिन कति फरक छ, तपाईँ नाप्न सक्नु हुन्छ? अवश्य सक्नु हुन्न, किन कि नापेर पार लाग्ने दुरी नै छैन यसमा। आकास र पतालको फरक नापेर के पत्ता लागोस्? त्यस्तो ठाँउबाट यस्तो ठाँउमा आईपुग्न अरु कसैले सक्तैनन्, केवल तपाईँ बाहेक। एकपटक सम्झनुस् त, तपाईँले विगतमा गरेको सँघर्ष अनि अगाडिको बाटो! यो सब तपाईँको सँघर्षको परिणाम हो, यो सब तपाईँको लगानीको फल हो। तपाईँको मिहिनेतमा तपाईँकी आमाको थप लगानी छ, अनि त तपाईँ सफलताको सिढीँ चढिरहनु भएको छ नि। तपाईँ अझै माथि चढ्दै जानुस्, चढ्दै जानुस् र सबैभन्दा माथि पुग्नुस् है। मलाई तपाईँ सबभन्दा माथि पुगेको सुन्न कति मन छ! पाए त हेर्न पनि मन थियो, तर त्यत्रो सौभाग्य यो अभागि मञ्जुलाई कसरी मिलोस्?

अहिलेको यत्रो उमेरमा पनि के कुरा लुकाउनु, मलाई तपाईँ जेलबाट छुटेर आए पछि चाहिँ आफ्नै मान्छे जस्तो लाग्यो। तपाईँ र मैले सत्यनारायणको पूजाको दिन खिचेको फोटो नै मेरो जीवनको अभिन्न अंग बन्यो त्यसपछि। दिनको कतिपल्ट त्यो फोटो हेरेर म तपाईँकी हुने कल्पना गर्थेँ, अनुमान गर्न सक्नु हुन्छ तपाईँ? राति बिउझिँदा पनि एकपटक त्यो फोटो सिरानीबाट निकालेर नहेरीकन चित्तै बुझ्दैनथ्यो। आज यो चिठी लेख्दा पनि त्यहि फोटो अगाडि राखेकी छु, हेरीरहेकी छु र मेरा आँखाले मुल्यहिन आँसु झारेर मलाई लेख्न नै डिष्टर्व गरिरहेका छन्। यो फोटो मसँग रहुन्जेल म तपाईँबाट टाढा भएर तपाईँको सुनौलो बाटोमा काँडाको रुपमा नबिझिने अठोट पूरा नहुने सोचि यहि नै उपहार स्वरुप टक्राउँदैछु, सायद मेरो जीवनको अन्तिम उपहार तपाईँको लागि। हुन त मलाई यो फोटो सिरानीमा नहुँदा निद्रा नलाग्ला केही हप्ता वा केही महिना वा केही वर्ष। तरपनि यसले के नै फरक पार्छ र? म निदाउनै पर्छ भन्ने पनि त छैन नि। अझ म निदाउनु र ननिदाउनुमा के नै फरक छ र? आखिर मेरो जीवन भनेको सास नभएको एक शरीर न हो, हिँउदमा काटेर लडाएको काठको मुढो जस्तो!

काठमाण्डौको जीवन पनि मैले सोचे जसरी अगाडि बढ्न पाएन। बाबासँग काठमाण्डौमा तपाईँसँग बस्न मन लागेको कुरा गर्न पनि सकिन। मैले तपाईँलाई पुल्चोकको होस्टेलमा फोन गर्दा फोनलाई खुलै राखेर होस्टेलका पालेहरुले तपाईँलाई बोलाउँथे। उनीहरुले “ओमको गर्लफ्रेण्डले फोन गरेको” भनेर गरेको गफ पनि म फोन भित्रैबाट सुन्थेँ। अनि त मलाई झन् “तपाईँले मलाई गर्लफ्रेण्ड भनेर चिनाउनु भएको रहेछ क्याम्पसमा पनि, तपाईँले पनि मलाई मन पराउनुहुदोँ रहेछ” भनेर पूर्ण विश्बास भयो। यस्ता कुरा थाहा पाएर पनि मेरो अन्तरमनमा उम्लिरहेको प्रेमलाई पोख्नु भनेको हतारिनु थियो। जसले तपाईँको मन भाँड्न पनि सक्थ्यो, जुन म कल्पना नै गर्न सक्तिनथेँ।

तपाईँले सुन्दरीजल जाने कुरा गर्नुभयो। तपाईँले मलाई प्रेम प्रस्ताव राख्न लाग्नुभको भन्ने कुरामा म ढुक्क थिएँ। तपाईँको मुखवाट त्यो कुरा सुन्न म ब्यग्र प्रतिक्षारत थिएँ। मेरो खुशीले सीमा काटीसकेको थियो। यदि त्यस दिन पनि तपाईँले कुरा नगरे म आफैँ प्रस्ताव राख्ने योजना सहित तयार थिएँ। अघिल्लो दिन बेलुकी किताब समाएर कसम खाएकी थिएँ, जस्ले मलाई त्यसदिन जसरी पनि मेरो मुखवाट कुरा निकाक्ने थियो यदि तपाईँले ननिकाल्नु भाको भए पनि। भोलिपल्टको रमाईलो अनुभव मनमा खेलाउँदा सोमवारको त्यो रात झिमिक्कै नगरी उज्यालो भएछ। भोलिपल्ट म हिड्न ठिक्क परेका वेला टुप्लुक्क बाबा आईपुग्नुभयो गाउँवाट। म भनेको वेलामा हिड्नै पाईन। मैले हतारहतार तपाईँको कोठामा फोन गरेँ। फोनको घन्टी कसैले उठाएन, केवल शुन्य कोठामा बजिरह्यो। तपाईँ हिँडिसक्नु भएछ। मैले त्यसबेला नै बाबालाई सिधै कुरा भनेर म जानु पर्थ्यो, तरपनि गाउँबाट थाकेर आईपुग्नु भको बाबालाई एक कप चिया पनि नख्वाईकन म हिड्न सकिन। मैले दिनभरी जसो फोन गरेँ, बेलुका रातिसम्म पनि गरेँ, तर तपाईँसँग भेट भएन। वुधवार, विहिवार र शुक्रवार कयौँ पटक फोन गरेँ।

त्यसको ठ्याक्कै एकसाता पछि जव तपाईँको विवाह मेनुकासँग हुने भनेर लेखिएको विवाहको निमन्त्रणा कार्ड मामा घरको बैठक कोठाको टेवलमा देखेँ, तब म छाँगाबाट खसे जस्तो भएँ। बाबाले पनि त्यो बिहेको कार्ड हेर्दै आँखावाट वरर आँसु खसाल्नुभयो, केही नबोली। मेरो बाबाको आँखामा म जान्ने सुन्ने भएदेखि आँसु कहिल्यै देखेकी थिईँन। त्यस दिनदेखि बाबालाई काठमाण्डौमा बस्न एक रति मन थिएन। संचयकोषको काम सकिने वितिक्कै उहाँ फर्कनुभयो।

अचम्म त मलाई यस कुरामा भयो कि मेनुका पनि मेरै साथी। साथी पनि अति नजिकको साथी एकै मनपेटका। सँगै ट्युशन पढेको साथी, त्यसमाथि तपाईँसँगै। म टेकेको भूइँ भासियो। म दलदलमा जाकिएँ, कहिल्यै बाहिर निस्कनै नसकिने गरी। त्यहि दलदलमा फसेर बाकीँ जीवन काट्दैछु, काटीरहनेछु। रुनु नै मेरो दैनिकी हो, म जहिले पनि रोहिरहनेछु। मेरो भाग्यमा नै रुनमात्र लेखेको छ भने मैले हाँस्न खोजेर हुन्छ र? कदापी हुन्न। म रोईनै रहे पनि तपाईँ हाँसेको मलाई खुब मन पर्छ। तपाईँको अनुहार अँध्यारो भएको वा आँखामा आँसु आएको म खप्नै सक्तिन, देख्नै सक्तिन।

त्यसपछि तपाईँलाई भेट्ने धेरै कोशिष गरेँ, तर सफल भईँन। म एकहप्ता सम्म तपाईँको कोठामा जाँदै फर्कँदै गरेँ। तपाईँले तपाईँ बसेको घरमा पनि केही नभनि जानु भएछ। मेनुकालाई फोन गरेर सोध्न मनै लागेन। कार्यकारी निर्देशककी छोरीको विवाहको खबर हावासरी फैलियो, शहरैभरि। ठूलो मान्छेकी छोरीको विवाहको खबर फैलन किन समय लाग्थ्यो र? सबैले त्यहि कुरा मात्र सुनाउँथे, म जता जाँदा पनि। मलाई त्यो कुराले कति आघात पार्छ भन्ने कुरा कसैले बुझेन। मेरो मामाघरमा त झन् त्यहि मात्र कुरा हुन्थ्यो। अरुहरुका अगाडि केही नभए जस्तो गरे पनि एकान्त भेट्नासाथ डाको छोड्नु बाहेक मेरो केही विकल्प थिएन। पन्ध्रदिनपछि मात्र भेट हुन पायो तपाईँसँग। त्यो भेटघाटले हामी दुईको मन साटासाट गर्न सफल भयो, अन्तरमनमा गुम्सिरहेको भावनालाई साटासाट गर्न त सफल भयो, तरपनि मेरो प्रेमलाई मसँगै फिर्ता ल्याउन सफल भएन। कुरा धेरै अगाडि बढीसकेकोले कुनै उपाय थिएन, हामीसँग। तपाईँ त धेरै ट्यालेन्ट हुनुहुन्छ। मेनकाजी पनि नराम्रो मान्छे त हैन नि। तपाईँहरुको त जीवन उज्ज्वल हुन्छ। म ईश्वरसँग प्रार्थना गर्छु, तपाईँहरुको सुखमय जीवनको लागि।

तपाईँ नै मेरो जीवनको एकमात्र महान् हुनुहुन्छ। मेरो मनमा तपाईँ यस्तरी गडेर बस्नु भा छ कि, अरुलाई यहाँ एक ईञ्च पनि ठाँउ छैन। अन्यहरु यहाँ अट्नै सक्तैनन् र अटाउनु पनि छैन। यसो भनेँ भन्दैमा म अब बिहे नै गर्दिन त भन्दिन। म बाबाममीकी एक्ली छोरी, उहाँहरुको कुरा पनि मैले सुन्दिनु पर्छ। मैले बिहे गर्दिनु पर्छ र गर्दिन्छु होला पनि। तर त्यो विवाह मेरा लागि हैन। मेरो विवाह त धेरै पहिल्यै नै कसैसँग भैसकेको छ, मनमनै अनि आत्मिय मिलनका साथ। मैले कल्पनामै बिहे गरीसकेकी छु। सपनामै दुलही भएकी छु कसैकि। अनि कल्पनैमा बाँधिएकी छु कसैको अँगालोमा। सुनौलो पारिवारिक संसारमा सँगै हाँसेको, खेलेको र रमाईलो गरेको अनुभव पनि मनमनै गरेकी छु। कति सुन्दर कल्पनिक संसार है तपाईँको र मेरो? आज तपाईँ कसैको भैसक्नु भको छ। कसैले तपाईँको कञ्चन प्रेममा रम्न पाएको छ, मुस्काउन पाएको छ र हाँसीखेली जीन्दगिको सच्चा परिभाषा बुझ्न पाएको छ। यो समाजले देख्ने रुपमा म अब तपाईँकि हुन सक्तिन। तर म त सँधै तपाईँकी मात्र हुन्छु है, तपाईँ कमसेकम कल्पनैमा मात्र भएपनि तपाईँको साथमा रम्ने अधिकार चाहिँ मलाई दिनुस् ल, नाई नभन्नुस् है?
-मञ्जु
चिठी एकैपटकमा पढ्न सकिन। प्रत्येक वाक्यवाक्यले, प्रत्येक शब्दशब्दले मलाई अन्तहीन गहिराईमा पु-याउँथे। अनि मेरो दिमाग उही अतितको लामो यात्रामा निस्कन्थ्यो। एकैछिन अगाडि एयरपोर्टको गेटबाट बाईबाई गर्दा आँखाभरि आँसु लिएर बिस्तारै हात हल्लाईरहेकी मञ्जु नै देखिन्थिन्, मेरा दृष्यमा। जब एअर होस्टेजहरुले “डु यु वान्ट हार्ड अर सफ्ट, सर?” भन्दै मेरो सोचाईलाई भंग गरिदिन्थे, तब झल्याँस्स हुन्थे सपनाबाट बिउँझिए जस्तो। साँच्चै यो सब सपना भईदिए पनि त हुन्थ्यो नि। “नो थ्यांक्स” मेरो सधैँको उतर हुन्थ्यो। मेरा रसाएका राताराता आँखाहरु तिर हेर्दै “आर यु ओके, सर?” भनेर सोध्थे। “आई एम फाईन्, थ्यांक्यु” मेरो रेडिमेड उतर थियो। जब उनीहरु जान्थे, अनि चिठीको अर्को हरफ। सबै चिठी नसकिँदा नसकिँदै म चढेको विमान बैंकक अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लागिसकेको रहेछ। कति चाँडै तीन घण्टा बितिसकेछ। अन्य यात्रुहरु जस्तै म पनि भारी मन लिएर विमानबाट निस्किएँ र टोकियो-नारिता हुँदै लसएञ्जलस उड्ने थाई एअरवेजको उडान भर्ने प्रतिक्षालयमा कुरीरहेँ।

*समाप्त*

साझाल्याण्ड,
११ मंसिर २०६३
 
Posted on 11-28-06 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
Amazing, really heart-breaking story !!!!!!!!!!!
 
Posted on 11-29-06 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very nice story
is it real one??
 
Posted on 11-29-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1. ल सप्रसगं ब्याख्या गर:
म टेकेको भूइँ भासियो। म दलदलमा जाकिएँ, कहिल्यै बाहिर निस्कनै नसकिने गरी। त्यहि दलदलमा फसेर बाकीँ जीवन काट्दैछु, काटीरहनेछु। रुनु नै मेरो दैनिकी हो, म जहिले पनि रोहिरहनेछु। मेरो भाग्यमा नै रुनमात्र लेखेको छ भने मैले हाँस्न खोजेर हुन्छ र? कदापी हुन्न।

2. तपाईँको मनमा ओकेको बढि गल्ति देखिन्छ कि मेनुकाको कि मञ्जुको बिवेचना गर!


3. "माया पिरिम गरेर पनि बेलैमा नसाँटेसि पछुतो हुन्छ" भन्ने करालाई अर्का बामपन्थी लेखक
तथा अग्रज नेपे दाइको च्यात्न नसकेको चिठीसित तुलना गर्दै बिवेचना गर!
 
Posted on 11-29-06 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब!!
अति गजब!!
 
Posted on 11-29-06 1:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think Ok has done great mistake in the story
Ok is attracted towards 'sahariya keti" within one proposal.
It shows he is "awasarbadi". and may be he beacame money minded
and compare the life style of menuka family and manju family
and finally he choose menuka as a "duhuno gai".
 
Posted on 11-29-06 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेजी,
तपाईंको लेखाइको त उहिलेदेखिको प्रशंसक हुँ। एकदम जीवन्त लेखाइ छ।
लेखाइको बेस सत्यतामा आधारित होला, यद्यपि बिचबिचमा कतै काल्पनिकता पनि थपेको हो कि जस्तो लाग्यो। फिल्मी शैलीमा दौडिने एन्डिङ् पढ्दा साँच्चिकै तपैंको प्रशंसा नगरिरहन सकिन -- तपाईंको अभिव्यक्ति कलाको। अनि कताकता सानोमा हुँदा पढेको प्रकाश कोविदको "देउता" उपन्यासको पनि याद आयो। कृपया लेख्दै जानुहोस्। शुभकामना ! मञ्जु तथा रेणुकालाई पनि !
 
Posted on 11-29-06 2:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी, "मेनुका" भन्न खोज्या, "रेणुका" भएछ।
 
Posted on 11-29-06 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-29-06 5:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I cried reading Manju's letter.OK is fuc#ing selfish.Why can't he wait one more day and ask Manju for her absence in that day. Why didn't he tell Menuka about his affection towards Manju? He sold himself to a rich family.
 
Posted on 11-29-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:(

kehi lekhnai aayena !!!!
 
Posted on 11-29-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेजि, बिहान बिहान रुवाउनु भयोनि। मर्म स्पर्सि छ।
 
Posted on 11-29-06 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी,
तपाईको वर्णन शैली बेजोड छ। कथालाई चैं अलि अलि हिन्दी फिल्मको शैलीमा ढाल्न खोज्नु भएको जस्तो लाग्यो। १४ वर्षसम्म एक अर्कालाई मन पराउँदा पनि दुवैको मुखबाट एक पल्ट पनि केही प्रेमको कुरा ननिस्किनु, अनि मनको कुरा भन्ने दिनमै मन्जू आउन नसक्नु र त्यसको एक हप्ता नबित्दै बिहेको कुरा छिन्नु, आदि कुराको कारण अत्यधिक नाटकीयपन देखिएको छ।तैपनि जीवनमा यस्तो हुनु अस्वाभाविक भने होइन।

अन्त्यमा मन्जूको अवस्था देखेर भने साह्रै दया लाग्यो।त्यसैले पनि तपाईको कथाको शीर्षक 'मन्जू मलाई माफ गर है!' को पुष्टी गर्छ।
 
Posted on 11-29-06 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके जी, कथा र बर्णन शैली मर्मस्पर्शी छ । मन्जु भेट्न नपाउने बित्तिकै मेनका संग कुरो छिनिहाल्या भन्या चैं मलाई पनि अल्ली अस्वाभाबिक लाग्यो ।
अरु पनि लेख्दै गरौं।
 
Posted on 11-29-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is great story.keep going.all the best
 
Posted on 11-29-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok ji,
Khanda 19 pachhi ko khanda 20 dekhi khanda 45 samma ta padhna thread dekhina.Pls pathaidinus na!.I'v never read this but found quite interesting after reading till khadna 19.Waiting for those threads!!
 
Posted on 11-29-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok ji sorry,yahi nai rahechha ,I just read the last page!Ma pani k bhako hola!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters