सरभक्त-२ (साझा बसिबियाँलो)
घण्टी बज्यो, सबैजना हुरुरु दुगुरे। म चैँ अलि पछि परेँ। कक्षामा पस्दा सबै बसिसकेका थे। गोबिन्दे त पहिलो बेन्चमा नै बसिसकेछ। यो मेरो स्कुलको तेस्रो दिन थ्यो। अघिल्ला २ दिन त कता कता बाट बस्ने ठाम पाएछु। आज मिलेन। यसो हेरेँ झ्याल खाली रे'छ, त्यहिँ बसे।
उत्तिखेरै सबैजना उठे र "गुड मनिङ सर" भने। हामी कक्षा १ मा थे'म्। त्यो के भनेको हो कसैलाई था' थे'न, जे सिकायो त्यहि त हो नि, "गोपि कृष्ण को पट्टु" भन्या जस्तो। हेडसर आम्नु भा'रे'छ । म झ्यालमा उठ्न नमिल्ने, चुप लागेर बसिरहेँ।
"ए भउते , किन झ्यालमा बसेको, एता आइजे" हेडसरले बोलाम्नु भो। म नजिकै गएँ।
"उ त्यहाँ बस्" हेडसरले केटीहरु बसेको तिर देखाम्दै भन्नु भो।
मेरा त कान राता भए। मैले सुनेको नसुन्यै गरेँ।
ढोकाबाट भित्र पस्ने बित्तिकै देब्रे तिर केटाहरु बस्ने बेन्च थियो अनि दाहिने तिर केटीहरुको।
केटाहुरको तिर टनाटन थियो। केटीतिर भने ६-७ जना अट्ने पहिलो बेन्चमा ३ जना मात्र थे। दोस्रो र तेस्रो चैँ भरि थ्यो।
" सुनिनस् भनेको, जा ल अलि पर सर्दे सरला" हेडसरको स्वर अलि चर्को भो।
"नाइ, लाज लाग्छ" मैले अलि डराम्दै भने। बाहिर जतिसुकै सँगै खेले पनि कक्षा भित्र चैँ केटाहरु र केटीहरु छुट्टा छुट्टै बस्थे। सँगै बस्न कोहि मान्दैनथे।
"के रे ???..फुल फुट्न पाछैन लाज लाग्ने भुराहुरलाई। खुरुक्क गएर बस्छस् कि हानम् चड्कन ?" सर मुसुमुसु हाँस्नु भो तर झन चर्को स्वरमा भन्नु भो।
" आउ भउते, किन लाज मानेको?" उ अर्थात सरला ले उता सर्दै भनि। नजाउँ भने पिटाइ खाइने, फेरि अहिले त त्यो केटीले नै बोलाई। पहिला नि बोल्दै नबोलेको, चिन्दै नचिनेको, त्यो पनि केटी सँग कसरी सँगै बस्नु भनेर अलि अप्ठेरो लाग्या के।
*** *** *** *** ***
"आइमाइको बिचमा चिबे नकटो !!! ............. आइमाइको बिचमा चिबे नकटो !!! ............"
सर बाहिर निस्कन नपाम्दै त ठगेले भाका मिलाएर कराम्दै उफ्रिन थाल्यो, अरु कोहि हास्न थाले, कोहि तालि बजाम्दै त्यसै सँग पो कराम्न थाले।
"ओइ, खोजेको होस् तैँले" यसो हेरेँ, बेन्च अड्याम्न राखेको ढुङ्गा रे'छ त्यै टिपेर ट्याईअँ हाने। केटाको त टाउकोमै लागेछ।
" मरेँ बा sssssssss??.." ठगे हातले टाउको समाउदै करायो।
म पत्तासाफ घरतिर दुगुरेँ।
*** *** *** *** ***
" जान्न त्यस्तो जाबो स्कुल सिस्कुल, बस्ने ठाम पनि छैन, झ्यालाँ बस्नु पर्छ" मैले कुम ठोक्दै भने। हुन त त्यो ठगेको डरले हो जान नमानेको। क्यार्नु, सिधै भन्यो भने झन घर मै चुटाइ खाइने। हिजो ढुङ्गाले हानेको त्यसलाई, के के भो, फेरि सरहरुले पिट्ने हुन्कि।
"जान्छस कि बुबालाई भन्दिम?"
भो अब ?, आमाले बुबालाई भनिदिनु भो भने त बर्बाद हुने भो। बुबा सँग सारै डर लाग्ने नि फेरि। पोहोर साल के भे'र हो कुन्नि दाई स्कुल जान नमान्दा बुबा ले दुइटा खुट्टा समाएर तुर्लुङग झुण्ड्याएर अनि झापड हानेको सम्झेँ।
"ल आज चैँ गएँ, भोलि देखि मरे नि जान्न म" घुर्कि लाम्दै स्कुल तिर लागेँ।
*** *** *** *** ***
तगेराबाट बाहिर निस्के पछि के गरम् के गरम् भो। जाम् भने नि पिटाइ खाइने, नजाम् भने नि पिटाइ खाइने। अलि माथि पुगेको त बाङ्गे गर्होमा मस्राङगी दाई बाख्रा चराम्दै रे'छन। म पनि त्यतै तिर लागेँ।
"सान्बाबु आज स्कुल न'गाको?"
"बिहान ज्वरो आयो, त्यसैले आमाले नजा भन्नु भो" कुरा बनाई हालेँ।
"अनि तिमी चैँ किन न गा त?"
"आज बा वालिङ गए, त्यसैले बाख्रा हेर्न पर्यो"
मस्राङगी पढाइमा सारै तेज थियो पहिले। ५ कक्षामा फस्ट भेर सुन्तलीटार हाइस्कुलमा गा'को। त्यहाँ ६ कक्षामा ६-७ वटा स्कुलका फस्टहरुको कम्पिटिसन हुन्थ्यो। मस्राङगी चैँ थड भा'को रे ६ मा। त्यो नै ठुलो कुरा थ्यो। हाम्रो स्कुलको कोही पनि फस्ट, सेकेण्ड, थडमा परेका थे'नन् रे के पहिले।
*** *** *** *** ***
"सान्बाबु त्यो झ्याङ्लीलाई यता फर्काइ दिनुस त, उता मकै खान जाला जस्तो छ" मस्राङगी कालिकाठको लौरो खुर्किदै थ्यो। बारीमा हिउँदे मकै थे। मैले त्यसको बाख्रा फर्काइदेँ र फेरि त्यो नजिकै आएर बसेँ।
त्यसले निबुवा ल्या'को रे'छ। निकाल्यो र काट्न थाल्यो। मेरो मुख रसाएर भरि भो, घुटुक्क थुक निलेँ। त्यसले बोक्रा निकालेर साल को पातमा राख्यो। मैले एउटा बोक्रा टिपेर खान थालेको त "अहिले नखानुस् न त्यो बोक्रा, पछि यो खाएपछि दाँत कुडिन्छ, अनि बोक्रा खायो भने ठिक हुन्छ के" भन्दै थियो, "यो जुठो भैहाल्यो, ल अब अरु खान्न। मुखाँ पानी आयो के" भन्दै चपाउन थालेँ।
*** *** *** *** ***
"हजुरलाई त ज्वरो आ'को भुन्या होइन? अमिलो त खान हुन्न ज्वरो आ'को मुन्छे ले" मस्राङगीले बोक्रा आफुतिर तान्दै भन्यो।
"बिहान मात्र हो ज्वरो आको त, अहिले निको भैसक्यो" कुरा मिलाम्नै पर्यो, क्यार्नु।
"लु त्यसो भे' एउटा चिरो मात्र खानुस है" भन्दै ४ भागको १ भाग मलाई दियो। झोला बाट बिजुली खैनिको बट्टा निकाल्यो। नुन खुर्सानि ल्याको रे'छ बट्टामा। नुन त रातै, थुप्रो खुर्सानि राखेको रे'छ। खाँदाखेरि अलि अलि खैनि पनि गनाथ्यो।
खाएर सक्दा नसक्दै त दुबै जना ले क्याँक-क्याँक र कुँक-कुँक गर्न थानेम् नि, पिरो र अमिलोले। थुक जमेर निल्नै नमिल्ने भो। आँखा बाट आँशु, नाक बाट सिंगान, के भन्नु अब।
"जाम यार, खाल्टेमा गे'र पानी खा'र आम्" मस्राङगीले बाख्रा यसो बनतिर लगायो, अनि हामेरो झरेम खाल्टेको पँधेरो तिर।
*** *** *** *** ***
खाल्टेमा फुलमायाँ र लुखुरी रे'छन्। पानी लिन आ'का, खुट्टा घोट्दै बस्यारे'छन्। तिनेरुले हाम्लाई देखेनन्। मस्राङ्गी सुटुक्क पछाडि बाट गयो र फुलमायाँलाई च्याप्प कम्मरमा समातेर कुवामा धकेले जस्तो गर्यो।
"आब्बुइ ssssssssss, कस्तो मातेको यो मस्राङगी। कस्तो तर्सेँ बाइ" फुलमायाँ त खङ्रङ्गै भइछे। त्यसले त दिउरी भरि पानी उभाइ र मस्राङ्गीलाई पचत्तै छ्यापि दिई। त्यो त रुझेको बिरालो जस्तै भो।
फेरि मस्राङ्गीले नि फुलमायाँको हात बाट दिउरी खोसेर पानी उभाउन थाल्यो। फुलमायाँ भाग्दै थिई, पछि पछि गएर टाउको बाट नै खन्याईदियो। उसैत त नक्कली, रुझेपछि त झन कस्ति राम्री देख्खेकि भनि।
म अलि पर बाट हेर्दै हाँस्दै थेँ, "यो भउते बाबु फेरि किन हो नि पन्छेको जस्तो परै बसेको, तरक्क परेर" लुखुरी मस्किई। त्यसले त मलाई पो ताकेकी यार, के भुन्नि अब।
*** *** *** *** ***
:)
-भउते