आकाशलाई नै छोपुला झै उडिरहेका
टायरको कालो धुँवाको मुस्लोबाट पर भागेर
गाडी, घर र मान्छेहरुमाथि ढुङ्गा बर्षाइरहेका
एक हुल जुलुसबाट पर भागेर
टाउको फुटेर शरीरभर रगत लपतिएका
अनि हिंड्न नसकेर घस्रदै गरेका मानिसहरुबाट पर भागेर
जब म एकान्तमा पुग्छु
मन मनै एउटा प्रश्न गर्छु
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
मेरो देशको पहाडहरु रक्ताम्य छन्
रगतका खोलाहरु अझै पनि सुसाउदै छन्
अनि हजारौ नेपालीली पाएका
युद्दका ती घाउहरु सब आलै छन्
फेरि पनि आज देशलाई टुक्रा टुक्रा गरी लुछ्न्
एक हूल हुँडारहरु दार्हा तिखार्दै बसेका छन्
यो सारा सम्झदा मलाई रिंगटा लागेर आउँछ
म बिस्तारै आफूलाई सम्हालेर
आफ्नो मनमा फेरि त्यही प्रश्न राख्छु
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
मलाई अशोकको शिला स्तम्भ अगाडि अभिएर
बुद्ध यही जन्मेका हुन् भनेर कुर्लने
ती महाशयलाई सोध्न मनलाग्छ
महाशय, के यहाँले आफ्नो मनमा जन्मेको कुनै बुद्धलाई देख्नुभएको छ?
हो मैले देखेको छु,
मेरो मनमा हजारौ होइन लाखौं बुद्धहरु जन्मिएका थिए
तर मैले कहिल्यै ती बुद्धहरुको वास्ता गरिन
म त ईतिहासका ठेलीहरु पल्टाउदै र भूगोलका नक्साहरु केलाउदै
सधैं झै त्यही प्रश्न गरिरहेको हुन्छु
बुद्ध के साँच्चै तिमी मेरो देशमा जन्मेका थियौ?
प्रत्येक चोटि जब एउटा बुद्ध
मेरो मनमा अहिंसा, प्रेम, शान्ती र सद्भावको भाव जगाउन खोज्छ
स्वार्थ, लोभ र लालच रुपी एउटा राक्षस एक्कासी आएर
मेरो मनमा रहेको त्यो कलिलो बुद्धलाई खर्लप्प खाइदिन्छ
म निरिह भए झै गर्छु
त्यो कलिलो बुद्धलाई बचाउन सक्दिन
त्यो रगतले लत्पतिएको मान्छेको रगत थामिदिन सक्दिन
त्यो घस्रदै हिंडेको मान्छेलाई आफ्नो साहारा दिन सक्दिन
अब त केवल त्यो राक्षसको इशारामा नाच्दै हिंड्ने म
त्यै राक्षसको अधिनमा रहेका हरेक नेपालीले झै
एक अर्का प्रति रिसले मुर्मुरिदै, डाहले छट्पटिदै र स्वार्थले रन्थनिदै
विश्व सामु बडो गर्वकोसाथ भनिरहेको छु
हो हो बुद्ध मेरै देशमा जन्मिएका थिए!!
(धन्यवाद मित्र नासलाई! मेरो यो कविताको एक दुइ लाइन तिम्रै गीतबाट लिएको छु, आशा छ तिमीलाई यो स्वीकार्य छ)
Last edited: 07-Feb-12 10:15 AM