एक पाल्पाली गाउँले ठिटो वनमा गाई चराइरहेको छ। वर–पिपलको चौतारीमा
थाप्लामा हात राखेर ऊ आजको पाल्पाको नियती सोचिरहेको छ। उसको मन त्यतिबेला
कटक्क दुःख्न थाल्छ, जब उसले माओवादीले ध्वस्त पारेको तानसेनको भग्नावशेष
देख्छ। प्र्रताप शमसेर र रुद्र शमसेरहरुलाई सम्झदै ऊ मनमनै बात मार्न
थाल्छ– ‘अहो, सानो काठमाडौंझैं थियो पाल्पा–असन टोल, भिमसेन टोल,
बसन्तपुर, भगवती टोल, ठाडो गल्ली मखन आदि। तर आज म जस्तै उराठ छ पाल्पा।’
हैन, कहाँ गए नारायणप्रसाद श्रेष्ठहरु? जिन्दगीभर राष्ट्रिय योजना आयोगमै
जागिर खाएर बसेका मोहनमान सैंजू, पृथ्वीराज लिगल र पुष्पा श्रेष्ठहरु कता
हराए? अचेल पाल्पा काकाकुल छ। कुरुङ खोलाबाट तानसेनवासीलाई पानी खुवाउन
दुई किलोमिटर पहाड छेडेर चण्डी भञ्ज्याङमा बनाइएको सुरुङ र त्यसमा तेर्सो
गरी बिछ्याइएको ठूलो अजंगको पानीको पाइप रोइरहेको छ। त्यसको अवस्था देख्दा
मगर ठिटाको मुटु ढक्क फुलेर आउँछ र भन्छ- ‘भुयुमान लिगललाई बुढ्यौलीले
छोयो, गणेशमान महर्जनको स्वर्गे भयो, त्यसैले पाल्पा टुहुरो भयो।’
कुनै समय थियो, जतिबेला तानसेनबासीका हरेक घरमा एउटा न एउटा स्नातक
थियो। अब पाल्पामै डाक्टर, इन्जिनियर, वैज्ञानिक, समाजसेवी उत्पादन हुने
भए, पाल्पाको चौतर्फी विकास हुने भयो भनेर पाल्पाबासीहरु फुरुङ्ग भएका
थिए। उनीहरुले पाल्पालाई सानो दार्जिलिङको परिकल्पना गर्न थालेका थिए। तर
चिटिक्क परेकी पहाडकी रानी एवं पश्चिमाञ्चलमै शिक्षा र सभ्यतामा नाम
कमाइसकेकी पाल्पाली डाँडालाई विरानो पारेर ठाउँ सर्ने होडबाजी चल्न
थाल्यो। बुटवल, भैरहवा र काठमाडौंमा पाल्पालीहरुले बसाई सरे। गगनचुम्बी घर
खडा गरेर अवसरवादीतातर्फ अग्रसर हुँदै आफ्नो थातथलोलाई चटक्कै बिर्सिएका
पाल्पालीहरु अहिले ‘पानी मरुवा पाल्पाली’को पगरी भिर्न बाध्य भएका छन्। (Read on …) www.palpaonline.com