प्रचण्डको भावुकता
उषाकिराण तिम्सेना
माओवादी खुला राजनीतिमा संक्रमण हुनेताका रोल्पाको कुनै एक सांस्कृतिक कार्यक्रम हेरेर अध्यक्ष प्रचण्ड रोइरहेको भिडियोको चर्चा माओवादीवृत्त बाहिर पनि उत्तिकै चल्यो । मैले पनि त्यो भिडियो हेर्न पाएँ । युद्ध अन्त्यको अवस्थामा त्यो भिडियो बाहिर आउनु संयोगमात्रै थियो या अन्य म जान्दिन, तर अहिले त्यो खुला राजनीतिमा आउने वातावरण तयार गर्न माओवादीले तयार गरेको 'प्रोपोगन्डा टुल' थियो । किनभने माओवादी युद्धउन्माद अझै रोकिएको छैन ।
खुला राजनीतिमा निस्केको माओवादी प्रचार एउटा र काम अर्को गर्छ । कामरेड प्रचण्ड रोएको अभिनय गर्छन्, त्यसलाई व्यापक प्रचार गरिन्छ । अर्कोपट्ट िअत्याउने,
लुट्ने, तर्साउने र हत्या गर्नेसम्मका काम हुन्छन् ।
यसको अर्थ हो, माओवादीहरू कामभन्दा बढी नौटंकी गर्छन् । पराक्रमभन्दा बढी प्रचार गर्छन् ।
माओवादी नायक पछिल्लो समय धेरै भावुक देखिन थालेका छन् । 'म अचेल भावुक हुन्छु', केही अघिको एउटा टीभीको टक-शोमा प्रचण्डले भने । तिनै प्रचण्ड वाल्मिकी क्याम्पसमा आयोजित दलितहरूको राष्ट्रिय जमघटमा पनि झन्डै-झन्डै रोए । त्यहाँ पनि उनले त्यही दोहोर्याए, 'म बेसी भावुक हुन्छु ।'
प्रचण्डको नेतृत्वमा भएको युद्धकै कारण तेह्र हजारभन्दा बेसी नेपालीको ज्यान गयो । जिउँदै मर्नेहरूका त के गन्ती ! प्रचण्ड भावुक भइरहँदा के कुरो बिर्सनु नहुने थियो भने हिजोको तिनकै युद्धको कारण आज आँसु बहाउनेहरू हजारौं छन् । भावुक हुनु सामान्य मानवीय स्वभाव हो । समवेदनशील मान्छे आफ्ना कारण एउटा कमिलो मरे पनि धेरै दुःखी हुन्छ । तिनलाई पश्चाताप बोध हुन्छ ।
प्रचण्डको भावुकता आफू र आफ्नो संगठनको शक्ति क्षीण भएकामा मात्रै देखिन्छ । जस्तो कि उनले केही अघि बहुतै उद्वेलित हुँदै भने- 'म चक्रव्यूहमा फँसेको अभिमन्युजस्तै भएको छु ।' उनको यो पीडा अवश्य पनि तराई आन्दोलन भड्केकोतर्फ नै हो । उनले स्वायत्त तराईको सपना देखाएर, जातीय स्वायत्तता दिलाएर सर्वत्र वाहवाही पाउने सपना देख्ोका थिए होलान् । उनी चाहन्थे, सर्वत्र उनको मुक्तिनायकका रूपमा चर्चा होस् ।
तर समयजति बलवान को छ र ? उनले नै दीक्षित बनाएकाहरूले उनकै स्वप्नराज्यमाथि ठाडो धावा बोले । स्वायत्त तराईको सपना कोर्ने माओवादी नै तराईमा आज साह्रै कमजोर भइसकेछ । तराईको नेतृत्व गरेका मातृका यादवले मधेस संगठनको विवाद थाम्न नसकेर केही समय अध्यक्ष प्रचण्डले नेतृत्व जिम्मा लिनुपर्यो । अब तराई नेतृत्व एक माओवादी वृद्धाले पाएकी छन् ।
कत्रो विडम्बना, विधिको कस्तो विधान ! सम्पूर्ण देशलाई अस्तव्यस्त बनाइदिने, सारा जनतालाई नै हावाकावा बनाइदिने, सहरका चोक र गल्लीमा तुल बम राखेर जनजीवन 'प्यारालाइज्ड' बनाउन सक्ने शक्तिशाली पार्टीको यो हालत !
दिनदहाडै मान्छेलाई गोलीले उडाइदिने, गुडिरहेको बसमा बम पड्काएर दर्जनौंलाई एकैचिहान बनाइदिन सक्ने शक्तिशाली पार्टी कमाण्डरको आज यस्तो कोमल प्रलाप ! उनले सम्झेलान्, एउटा सामान्य शिक्षक मुक्तिनाथ अधिकारीलाई रूखमा बाँधेर गोली हानेको ? श्रीमतीका अगाडि 'लौ हेर तेरो लोग्नेलाई काटेको' भनेर टाउको गिँडेको, काजोल खातुनलाई जिउँदै
डढाएको, बालिका भावना संजेल र बालक दीपक गुरुङलाई बमले उडाएको ।
किरियापुत्रीहरूलाई सेतै लुगामा जिउँदै गाडेको । केटी भएर पाइन्ट लगाउन नपाउने भन्दै पाइन्ट काटिदिएपछि त्यसको अपमान र पीडाले आत्महत्या गर्ने किशोरीहरूलाई पनि यही भावुकतामा समेट्ने कि भावुक महोदय ?
कि भुले भावुकले धार्मिक सुधारका लागि यज्ञ गर्दै हिँड्ने बेकसुर विख्यात पण्डित नारायण पोखरेललाई मारेको ? भावुकले भावुक हुनुपर्दैन यी घटना सम्भिmएर ?
कानुनको शासनमा विश्वास गर्ने हो भने अपराधको भागी अपराधी हुन्छ । त्यसका लागि कानुनको शरणमा जानुपर्छ, होइन र ? युद्धमा संलग्न अपराधीलाई सजाय दिइनुपर्छ, होइन र ? राज्य या माओवादी दुवै पक्षबाट गत दशकमा मनपरी मानवअधिकारको उल्लंघन गरिएका छन् । हिजो राज्यपक्षबाट भएका कमजोरीका बारेमा आज छानबिन भइरहेको छ भने माओवादी पक्षबाट भएका अत्याचारबारे मानवअधिकारवादी र राजनीतिक नेतृत्व किन मौन ? माओवादी स्वयम् राज्य सञ्चालनमा हुँदा उसले
सोच्नु पर्दैन ?
'म भावुक हुन्छु' भन्दै चुकचुकाउँदैमा
मात्र मानवताविरुद्ध भएका सबै अपराध पुछिन्छन्
जस्तो लाग्दैन ।
timsenausha@gmail.com