नेपाली राजनीतिमा सबैभन्दा बढी बिक्री विषय हो 'राष्ट्रवाद' । प्रजातन्त्र पुनःस्थापनापछिका १२ वर्षसम्म यो विषयले यति चर्को मूल्य कायम गर्न सक्यो कि हामीले भन्ने गर्?यौं ः फलानो नेता बदमास र भ्रष्टाचारी त हो सायद तर पनि ऊ राष्ट्रलाई माया गर्ने, राष्ट्रवादीचाहिँ हो । यस्तो वाक्यको अर्थ परोक्षमा के भइदियो भने यदि कोही नेता राष्ट्रवादी कहलियो भने उसका अरू दोष हामीले माफ गरिदिनुपर्छ ।
विश्व इतिहासमा राजा-महाराजा र उनका सैनिकले मात्र जब एउटा राज्यलाई जोगाएर राख्न सकेनन्, तब जनतालाई भन्न थालियो कि 'तिमीहरूको जीवनमा तिमी आफूभन्दा पनि ठूलो तिम्रो मातृभूमि हो ।' हरेक राष्ट्र आफू बलियो बन्न राष्ट्रियताको भावना बलियो बनाउनतर्फ लागे, दुई सय वर्षको इतिहास हेर्दा । बीसौं शताब्दीमा- भूमण्डलीकरणले राज्यको अवधारणा केही हदसम्म कमजोर पार्दा-पार्दै पनि राष्ट्रवाद यसरी मौलायो कि चलचित्रले देखाउन थाले, एउटी आमा राष्ट्रहितका निम्ति छोरालाई बलिदान दिन तयार छ । र त्यो छोरा पनि देशका लागि मर्न तयार छ । विचरा ती आमा-छोरालाई के थाहा उनीहरू जे चिजलाई आफ्नो राष्ट्र भनेर मर्न-मार्न तयार छन्, त्यो केवल शासकहरूले अरू शासकहरूसँग सम्झौता गरेर ओगटेको जमिनको अंशमात्रै हो ।
राष्ट्रवाद मौलाउँदै जाँदा थुप्रै मिथक सिर्जना भए । पौराणिक कथाका पात्रलाई राष्ट्रिय विभूति घोषणा गरियो नेपालकै सन्दर्भमा पनि । चराचुरुङ्गीदेखि हिमाल-पहाड बने राष्ट्रका परिचयका प्रतीक । र यो राष्ट्रवादी लहरमा नागरिक स्वयम् अति महत्त्वहीन बनाइए । 'देशले रगत मागे मलाई बलि चढाउनु' भन्नेजस्ता गीतले हामीलाई छोए । नेपाली सबै नेपाल जोगाउन मर्न पनि तयार हुनुपर्छ सधैं' भनियो । यो तर्क अघि सार्दा केसम्म हुनपुग्यो भने मानौं नेपाल जोगाउन सबै नेपाली मर्नुपर्?यो भने पनि हामी त्यसै गरौं र यो नेपाल नामले चिनिने भौगोलिक प्रदेशलाई जोगाएर छाडौं । अब जनता नै मरेर देश कसका लागि जोगाइदिनुपरेको हो ? तैपनि हामीले सिकायत गरेनौं । जागिर, पैसाका लागि साम्राज्यवादी शक्तिका लागि सिपाही भएर लडेका हाम्रा गोर्खालीका बारेमा पनि हामीले चुपचाप गर्व गर्?यौं ।
जनक, भृकुटी थिए कि थिएनन् यहाँ, तैपनि हामीले ती हाम्रै थिए भनेर चुपचाप सम्हाल्यौं- राष्ट्रका प्रतीकका रूपमा । हामीलाई त्यस्तै पढाइयो, त्यस्तै पढ्यौं । ठीकै थियो । तर अब अचानक फेरि भनिँदैछ, हामीले पढेको चिज त राष्ट्रवादी
होइन रे । अब राष्ट्रवाद भनेको त अर्कै रे । हामी सबै त अराष्ट्रवादी रे ।
राजनीतिक वृत्तमा अहिलेसम्म कुन शक्तिले कति सपारेको छ देशलाई र कसले कति बिगारेको छ, विगत २ सय ३२ वर्षमा भन्ने कुराको हिसाब-किताब अडिट गर्ने चर्चा छ । त्यही कुराको अडिट गर्दा हाम्रो यो राष्ट्र भनेको के रहेछ, कसको रहेछ भन्ने पनि अडिट गर्ने हो कि ? यदि हामी जनताको पनि केही हिस्सा रहेछ भने यो राष्ट्रमा हामीले पनि त्यहीअनुसार कर्तव्य गरौंला । होइन यो अर्कैको रहेछ भने त्यहीअनुसार कम्मर कसौंला । कमसेकम राष्ट्रवादी शिक्षा लागू गर्नुभन्दा पहिले यो राष्ट्रवाद के हो भन्ने सम्बन्धित पक्षले बुझाइदिए सजिलो हुन्थ्यो कि ?
-लेखक त्रिवि कीर्तिपुरमा अंग्रेजीका उपप्राध्यापक छन् ।)