भाग-११
प्रिय पाठक, मलाई अझै थाहा छैन। मेरो समय र जुनाको समयमा हम्बल कहाँ उपस्थित थियो र कहाँ थिएन। म अझै धेरै कुराहरुको खोजीमा छु। तर मलाई यो थाहा छ हम्बल म सँग हिजो राती थियो। जुना उसलाई १ बर्ष देखी देखेको छैन भन्छे। मेरो मनले मान्दैन। तर म जुनालाई हम्बल र मेरो ब्यक्तिगत कुरा भन्न सक्दिन।
मैले हम्बलको नम्बर खोजे, फोनको लिस्ट थ्यो अफिसमा, अरु सबैको नम्बर थियो, तर उसको थिएन। मलाई अचम्म लाग्छ ऊ म सँग त्यति नजिक हुँदा पनि मैले किन उसको नम्बर सेभ गरिन। मेरै गल्ती थ्यो, इ-मेलमा नयाँ खबर थिएन। जुनाले के के भनी मैले सुनिन। म के भैरहेछ भन्ने सोच्दै हराइरहे आफ्नै संसारमा।
"सुन न! तिमीलाइ यो कुरा सुनाउछु!" जुनाले फेरी उसको संसारमा लगी।
"के कुरा?" मैले सोधे, मन थिएन कुरा गर्ने तर पनि साथी हो सुन्नै पर्यो।
"मेरो छोराले के भन्यो थाहा छ?" ऊ हाँसी। उसको छोरा त्यस्तै ५-६ बर्षको हुनु पर्छ। मैले भेटेको छैन। उसैले भनेकी।
"के भन्यो त्यो फुच्चेले? कति बर्ष रे?"
"६ बर्ष लाग्यो। म एक्सर्साइज गर्दै थिए, डोरी खेल्दै थिए। उसले के भन्यो भने छाती नहल्लाइकन डोरी खेल्नु रे।" ऊ फेरी हाँसी ।
मलाई नि हाँस उठ्यो।
"बिचरा! बच्चा छ। उसलाई के थाहा रुख हल्लिदा फल हल्लिन्छ भनेर।"
"त्यही त! केटाहरु लाई सुन्तलाको रुख हल्लिदा सुन्तला पनि हल्लिन्छ भन्ने थाहा हुँदैन कि क्या हो! मेरो छोरा त सानै छ। तर ठुलो भएपछी पनि केटाहरु त्यस्तै सोच्छन है? हामीहरुले जानि जानि उनिहरुको ध्यान आकर्षन गर्न आफ्नो शरीरको अगाडिको भाग हल्लाउछौ भनेर। कसरी सम्भब छ शरीर हल्लिने अनी हाम्रो छाती नहल्लिने?"
"तिम्रो छोरा सानै छ, पछी ठुलो भए पछी बुझ्ला नि!"
"हामीहरुले सम्झाउन बुझाउन जान्यौ भने उसले पनि बुझ्ला।"
मेरो मनमा अरु कुराहरु खेलिरहेको थ्यो। मैले सम्झे लिसासङ सोध्नु पर्ला हम्बलको बिषयमा। किनभने ऊ पनि थि त्यो दिन जुन दिन हम्बल म सँग जिस्किरहेको थियो। लिसा र म के कुरा गर्दै थ्यौ, हम्बल आएर के को साइज भनेर सोधेको थ्यो। हामीले सुइको साइज भनेका थ्यो। त्त्यो दिन लिसाले हम्बल र मेरो कुरा सुनेकी थिइ।
"जुना, तिमी लिसासँग काम गरेकी छ्यौ?"
"को लिसा?"
"त्यही के त “हट” लिसा! उसको जहिले डेट हुन्छ नि। बिधुवा के त?"
"ए, त्यो लिसा! मैले उसलाई नदेखेको धेरै भैसक्यो। उसले फेरी बिहे गरी रे।"
"लौ, हो र? त्यसो भए उसको चौथो बिहे भयो।"
"मान्छे यहाँ एउटा बिहेले अघाइसक्यो, उसले चार चोटि बिहे गरिसकी!" जुना आफ्नै धुनमा कुरा गर्दै थिइ।
म सँग दुइटा उपाय थ्यो। एउटा लिसा सँग सोध्ने, अनि लिफ्टको घटना। त्यो घटना जुनालाई पनि थाहा हुनु पर्ने नि। सोधौ कि नसोधौ भन्ने दुबिधामा परे। उसले के,कसो, किन भनेर फेरी उल्टो सोध्ली भन्ने पीर पर्यो। लिफ्टबाट निस्किदा दुइजनाले देखेको थ्यो म र हम्बललाई! मेनेजर र मेन्टेनेन्सको स्टाफ। मैले उनिहरुलाई सोध्नु पर्छ , त्यो दिन के भएको थियो। हम्बल र मेरो हालत कस्तो देखिएको थ्यो। मेनेजरलाई सोध्ने मेरो हिम्मत भएन। किनभने चरित्रको कुरा होला, बेकारमा नराम्रो किन सोच्न दिने अरुलाई। तर मेन्टेनेन्सको स्टाफ, जसको मलाई नाम याद भएन, कहिलेकही भेटिन्छ वार्डमा। ऊ कहिले एसी, कहिले बाथरुम बनाउन आइरहन्छ। उसले “हाइ” भन्छ तर मैले उसलाई जवाफमा “हाइ” बाहेक उसको नाम सोधेको छैन।
मलाई झिनो आशा थियो, हम्बलले चाह्यो भने मलाई फोन गर्न सक्छ अफिसमा। उसलाई थाहा छ, म कुन कुन दिन काम गर्छु। हरेक चोटि फोन बज्दा म त्यस्तै सोच्थे, कतै यो उसको फोन हुन सक्छ।
ब्रेकमा फेरी फोन हेरे। जिरो नयाँ इ-मेल थ्यो तर ३-४ वटा मिस कल थ्यो। ३ वटा मिसकल डक्टर रबर्टको अफिसबाट थ्यो। वोइस मेलमा "छिटो अपोइन्टमेन्ट लिनु!" भनेको थ्यो। मैले तपाईंहरुलाई पहिले भनिसके डक्टर रबर्टको मिसकल यो भन्दा अगाडि पनि आएको थ्यो। म ठिकै छु, कुनै समस्या छैन भनेर मैले वास्ता गरेकी थिइन। तर बारम्बार किन सोधेको होला भनेर उहाको क्लिनिकमा फोन गरे र एक हप्ता पछीको अप्पोइन्टमेन्ट लिए।
अर्को मिसकल रिजाको थ्यो। मलाई मेसेज पनि गरेकी थी एक हप्ता अघि फोन गर्नु भनेर। मैले रिजालाई फोन गरे ।
"का बेपता?" मैले के छ भन्न नपाउदै रिजाले सोधी।
"यही छु। के छ खबर?" मैले सोधे।
"सब ठीक छ। तिमीलाइ हाम्रो पार्टीमा आएको सबैले सोधी राख्छन।" रिजाले भनी।
"त्यो दिदीको समस्या समाधान भयो?" मैले उसको पाहुना हरु सम्झिन थाले।
"म कोशीश गर्दैछु मद्दत गर्न। तर तिमीले पनि मद्दत गर्छु भनेको थियौ नि।
"स्योर! म पनि हेल्प गर्छु। तर केही दिन म एकदम बिजी छु। अर्को हप्तापछी ल।"
"भैहाल्छ नि! अब कहिले भेट्ने त हामी?" रिजाले सोधी।
"भेट्ने कुरा त छदैछ। अर्को हप्ता पछी भने नि। तिमीलाइ एउटा कुरा सोधु?"
"भन न!"
"त्यहा एउटा बहिनी पनि थि नि! उसको खबर के छ?"
"को?"
"म बरन्डामा बस्दा आएर कुरा गरीकी थी नि।"
"ए, त्यो शमा हो। उसको नि सबै ठिकै छ। तर उसले भन्थी तिमी एक्लै कुरा गरिरहेकी थ्यौ रे। मैले भने एक्लै कुरा गर्नु नर्मल हो। म पनि त कहिले कही एक्लै कुरा गर्छु। हैन त?" रिजा हासी उता।
"त्यही त! किन एक्लै कुरा गर्दा त्यस्तो नराम्रो के हुन्छ र?" मैले हिच्किचाउदै भने।
"शमाको अहिले एक्लै कुरा गर्ने बेला भएको छैन नि। ऊ हामी भन्दा सानी छे। जब हाम्रो उमेरमा पुग्छे। ऊ पनि एक्लै कुरा गर्न थाल्छे।“
"सुन न! मेरो ब्रेक सकियो। म जान लागे। सबैलाई सोधेको छ भनिदेउ है?"
"हुन्छ! बाइ!" उसले फोन राखी।
ब्रेकपछी मैले रोजीलाई भेटे। खरायोको सिङ हुन्छ भन्ने रोजी। ऊ सधैं झै हसिलो देखिन्थी।
"मिस क्रेजी, तपाईंलाई थाहा छ एउटा कुरा?"
"के रोजी?" मलाई खरायोको कुरा जस्तो लाग्यो।
"मिस लिसा त क्यालिफोर्निया जानु भयो नि। नयाँ बिहे त गज्जब फाप्यो उहालाई।"
"हो र? यहाँको घर नि?" लिसासङ मैले केही कुरा सोध्नु थियो। त्यो पनि अधुरो भयो। कहाँ होली? कसरी सोध्ने होला? मलाई यस्तै कुराहरुले पिरोल्न थाल्यो। लिसासङ अब मेरो भेट कहिले होला?
"सबै बेचेर जानु भयो नि। पैसा टन्न छ के को पीर? जहाँ गयो त्यही घर किन्न सक्ने क्षमता छ नि उहाको."
"तिम्रो खबर के छ नि?"
"बिन्दास छ! मेरो डिवोर्सको अन्तिम प्रोसेस हुँदैछ। अनि म पनि स्वतन्त्र हुन्छु। जहाँ नि जान सक्छु जे पनि गर्न सक्छु।"
"तिम्रो पढ्ने लक्ष्य चाँही?"
"पढुला! तर अहिले पैसा बचाउनु पर्छ। अलि बढी काम गर्नु पर्छ।"
"अनी खरायो को हालखबर?" मैले कुरालाई मोडे।
"सिङ भाँचेको छैन!" भनेरै हाँस्दै ऊ अर्को वार्डतिर गइ।
मेरो अन्तिम साक्षी मेन्टेनेन्सको स्टाफ थ्यो। त्यो भन्दा अरु कुनै उपाय थिएन। म यस्तो कुराको खोजमा थिए। जुन मेरो जिबनको वास्तविक घटना थ्यो तर म घटनाको लागि प्रमाणहरु जुटाउने प्रयासमा छु। हम्बल सँगको मेरो माया सत्य थियो र हामीबिचको सम्बन्ध प्यारो थियो मलाई। मैले ऊ सँग बिताएको पलहरु सबै सुन्दर थिए। मैले ती सबै सुन्दर क्षणहरुलाई आफ्नो मनमा सजाएको छु।
मेन्टेनन्स अफिसको ढोकैबाट मैले त्यो स्टाफलाई देखे। उसले पनि मलाई देख्यो।
"के तपाईंले मलाई सम्झिनु भएको छ?" मैले उसको नजिक गएर सोधे।
"किन नचिन्नु? तपाईं त्यो बिग्रेको लिफ्टमा हुनुहुन्थ्यो हैन? कस्तो डर लाग्यो होला है?" उसले सोध्यो।
"डर त लागेको थ्यो। तपाईंहरुले हामीलाई बचाउनु भयो त्यो दिन। धन्यवाद!" मैले भने। उसको नाम माइक रहेछ, मैले देखे उसको शर्टमा लेखिएको रहेछ।
"त्यही त ! एक्लै त्यो अन्धकारमा त्यती धेरै बेरसम्म लिफ्टमा बस्दा कस्तो भयो होला तपाईंलाई?" माइकको कुरा सुनेर म फेरी छक्क परे।
“ एक्लै ? म सँग अर्को डक्टर पनि थ्यो त्यसमा! देख्नु भएन?" मैले सोधे।
"तपाइ एक्लै नै हुनु हुन्थ्यो। तपाईं एक्लै नै निस्किनु भएको थ्यो।" माइकले " एक्लै " शब्दलाई धेरै चोटि दोहोर्यायो।
माइकले के देख्यो के देखेन त्यो ठुलो कुरा हैन मेरो लागि। तर म लिफ्टमा एक्लै थिइन। म सँग हम्बल थियो, मैले उसको स्पर्श महसुस गरेको थिए। उसले मलाई माया गरेको थ्यो। लिफ्ट बन्न अलि ढिलो भएको भए, हामीबिच धेरै कुरा हुन सक्थ्यो।
माइक दोस्रो मान्छे थ्यो जसले हम्बललाई देखेन। शायद माइकले हम्बललाई मनको आँखाले हेरेन। शायद माइकले १ महिना अघिको कुरा केही सम्झ्यो र केही बिर्स्यो। मलाई सम्झ्यो तर हम्बल उसको स्म्रितीबाट हरायो।
मलाई भुतप्रेतमा विश्वाश लाग्दैन, तर बेलाबेला यो हस्पिटलमा भुतको कथाहरु सुनिन्छ। जस्तै खाली कोठाबाट कसैले बोलाउछ। एउटा बच्चा आउछ अनि बिलाउछ। अर्को बुढो भुत छ, औशधी माग्छ। कहिलेकही छायाले पनि पछ्छ्याउछ। बिरामी नभएको कोठाबाट घन्टी बज्छ आदी इत्यादी। लौ, एकछिनको लागि यो मानौ की भुतप्रेत हुन्छ। तर भुतप्रेत हुन त पहिले मान्छे मर्नु पर्छ हैन र? हम्बल मरेको छैन। ऊ तपाईं हामी जस्तै ज्युदो मान्छे हो। उसँग मैले बिताएको पलहरु साक्षी छन, ऊ भुत हैन। तर ऊ एक्कासी किन गायब भयो? मलाई किन प्रश्नै प्रश्नको भुमरीमा छोडेर गयो। मैले यो सबै कुराको जवाफ खोज्नै पर्छ। शायद म अर्को भागमा यो सबै कुराको उत्तर भेट्टाउछु।
क्रमश: