समाजको बदलिंदो स्वरुपसँगै देशमा मानसिक रोगीको सङ्ख्या बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । मानसिक रोगबाट सबभन्दा बढी १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति प्रभावित छन् । यो उमेर समूह भनेको आर्थिक रुपमा सबल जनशक्ति हुन् । नेपालको कूल जनसङ्ख्यामा यो उमेर समूहले ४० प्रतिशत ओगटेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा झण्डै २२ लाख युवा मानसिक रोगबाट प्रभावित रहेको अनुमान गरेको छ । गत आर्थिक वर्षमा मात्र मानसिक रोगका कारण नेपालमा ५ हजार ३ सय ४६ जना व्यक्तिले आत्महत्या गरेका थिए । नसर्ने रोगभित्र मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
मानसिक रोगको प्रमुख कारण समाजमा कुनै प्राकृतिक वा मानवीय कारणले निम्तिने भयावह अवस्था हुने गर्दछ । युद्ध, बाढी पहिरो, भूकम्प आदि पनि मानसिक रोगका स्रोत हुन् । २०७२ सालमा गएको भूकम्पको भयावह अवस्थाको प्रभाव अझै पनि नेपाली समाजमा कुनै न कुनै रुपमा बाँकी छ ।
मानसिक रोगको अर्को प्रमुख कारण भनेको एक्लोपना महसुस गर्नु हो । कसैले आफूलाई बेसहारा र एक्लो महसुस गर्दछ भने उसलाई मानसिक रोगले सताउने धेरै सम्भावना हुने गर्दछ । विशेषतः सहरी संस्कृतिले त्यो एक्लोपना जन्माउने गर्दछ । पुँजीवादी बन्दोबस्तले मानिसलाई समूह वा समुदायमा भन्दा पनि एक्लै बस्न परिस्थिति बनाइदिने गर्दछ । पुँजीवादी समाजले मानिसलाई अरू कसैका बारेमा चासो लिन नहुने अवस्थामा पु¥याउने गर्दछ । सामूहिक भावनाभन्दा व्यक्तिगत रुपमा मानिसलाई स्वार्थी बनाउने गर्दछ । मानिसलाई हरेक हिसाबले महत्वाकाङ्क्षी बनाउने गर्दछ तर त्यस्तो महत्वाकाङ्क्षा धेरैका लागि आकाशको फलमात्र हुने गर्दछ । यस्तो परिस्थितिले सिङ्गो समाजलाई स्वार्थी र निराशावादी बनाउने गर्दछ । पुँजीवादी समाजमा मानसिक रोगी धेरै हुनाको मूल कारण समाजको यही बन्दोबस्त हो ।
विश्वसँगको अन्तर्घुलनसँगै नेपाली युवाले पनि धेरै सपना देख्न थालेका छन् । पुँजीवादी विश्वको झिलिमिलीले उनीहरूमा धेरै थरी सपनाको बिजारोपण गरिदिएको छ । तर त्यो झिलिमिली र वास्तविकताबीच ठूलो अन्तर छ । त्यही अन्तरले नेपाली युवामा मानसिक रोगको डेरा जमाएको हो ।
विदेशमा श्रम बेच्न गएका धेरै नेपाली युवाले एक्लोपना र समाजसँगको घुलमेल हुनुका अप्ठ्याराका कारण आत्महत्या गर्ने गरेका छन् । विशेषतः दक्षिण कोरियामा गएका धेरै नेपाली युवाहरू मानसिक रुपमा रोगी भएको अध्ययनले देखाएको छ । धेरै नेपाली युवाले दक्षिण कोरियामा आत्महत्या गरेका समाचार पनि प्रकाशित भएका छन् ।
मानसिक रोगको सबभन्दा ठूलो निदान भनेको सामूहिक जीवन नै हो । मै खाऊँमै लाऊँ सुखसयल सबै मै गरुँ भन्ने स्वार्थी र महत्वाकाङ्क्षी भावनाले मानिसलाई एक्लो बनाउने गर्दछ । पछिल्लो समय नेपालमा मात्र होइन, सिङ्गो विश्वमै सामाजिक सञ्जाल नाम दिइएको विद्युत्तीय प्रविधिले मानिसलाई असामाजिक बनाउँदै गएको धेरै अध्ययनले देखाएको छ । त्यस्ता सञ्जाल मूलतः किशोरावस्था र युवा उमेरका मानिसले नै प्रयोग गर्ने गरेका छन् । समाजसँग घुलमिल हुनेभन्दा पनि भर्चिअज विश्वमा रमाउने हुँदा उनीहरूमध्ये धेरै असामाजिक बन्दै गएका छन् । त्यसकारण आज विद्युत्तीय सञ्जाल आफैं मानसिक रोगको कारण बनिरहेको छ ।
मानसिक रोगको मूल निदान औषधिमुलोमात्र पक्कै पनि होइन । मूलतः समाजसँग घुलमिल हुने वातावरण, जीवनप्रतिको आशावादी दर्शन, आफ्नो कामको कदर हुने अवस्थाले मानिसलाई मानसिक समस्याबाट टाढा राख्ने गर्दछ ।
विशेषतः देशलाई काँधमा बोक्ने जिम्मेवारी पाएका युवाहरूमा यस्तो समस्या देखिनु देशकै भविष्यको लागि शुभ सङ्केत होइन । युवा पुस्तामा यस्तो समस्या व्यक्ति समस्यामात्र होइन, त्यो सामाजिक समस्या हो । राज्यले यो समस्या समाधानको लागि पहलकदमी गर्न आवश्यक छ । किशोरावस्थादेखि नै नयाँ पुस्तालाई समाजसँग सँगै हुर्कने अवस्थाको विकासमा जोड दिइनुपर्दछ । सामाजिक सञ्जालबाट हुने असामाजिक परिणामप्रति सजग बन्दै समाधान गर्न ध्यान दिइनुपर्दछ । नत्र मानसिक रोगले समाजमा मन्दविषको काम गर्नेछ ।
Last edited: 12-Oct-18 12:06 AM