बाँके जिल्लाको खजुरामा रहेको सरकारी स्वामित्वको कपास कारखाना ‘कोमा’ अवस्थामा पुगेको छ । कुनै बेला देशको आवश्यकता पूर्ति गरेर विदेशसमेत कपास निर्यात क्षमता भएको कारखानामा रहेका चारमध्ये एउटामात्र मेसिनले काम गरिरहेको छ, अरु मेसिन सबै काम नलाग्ने भएका छन् । पञ्चायतकालमा स्थापना भएको यो कपास उद्योगले बाँके र बर्दिया जिल्लाका हजारौं जनतालाई रोजगारी दिएको थियो ।
बर्दिया जिल्लाको हालको बारबर्दिया नगरपालिकाअन्तर्गत सयौं बिगाहा जमिन विगतमा कपासको खेती हुनेगथ्र्यो । बर्दिया जिल्लाका युवा र महिलाले त्यहाँ रोजगारी गर्थे । तर आज त्यहाँ कपास खेती पूर्ण रुपमा बन्द भइसकेको छ । सिंचाइको राम्रो बन्दोबस्त नभएको त्यहाँ आज धानको खेती गरिन्छ, तर कपास जति धानको खेती फस्टाउन नसकेको स्थानीय किसानहरूको भनाइ छ । कतिपय जमिन भने अहिले पनि बाँझै राखिएको र लगभग सबै जमिनमा वर्षको एक बालीमात्र लगाउने गरिएको छ । कपास खेती गर्दा त्यो जमिनबाट जति देशको अर्थतन्त्रमा फाइदा पुगेको थियो, आज त्यो अवस्था रहेन । यता खजुराको कपास कारखाना भने कच्चा पदार्थको अभावमा उत्पादन बढाउन सकिरहेको छैन । हिजो कपास खेतीमा श्रम बेच्न आउने बर्दियाका युवाहरू आज भारत र खाडी मुलुकमा आफ्नो श्रम बेच्न जान बाध्य छन् । आफ्नो आँगनमै भएको उद्योग र खेती बन्द हुँदा बर्दिया र बाँकेका हजारौं हजार युवा बेरोजगार बनेका छन् ।
माओवादी द्वन्द्वको समयमा विशेषतः माओवादीहरूको चर्को दबाबका कारण उद्योग बन्द हुन गएको थियो । माओवादीले कपास खेती हुने गरेको जमिन कब्जामा लिएर आफ्ना समर्थकलाई वितरण गरेका थिए । उनीहरूले कपास खेती बन्द गरेर वर्षको एक बाली धान रोप्ने गरेका छन् ।
नेपालको कपास उद्योग र खेती बन्द हुँदा सबभन्दा बढी फाइदा भारतीय कपास उद्योगलाई नै भएको छ । नेपालमा कपास उत्पादन हुँदा एकातिर भारतीय उद्योगले नेपाली बजार गुमाउने अवस्था थियो भने अर्कोतिर भारतीय बजारमा समेत नेपाली उद्योग प्रतिस्पर्धामा उत्रने अवस्था थियो । त्यसकारण नेपाली उद्योग बन्द गराउनुमा भारतीय स्वार्थ प्रस्टै देखापर्दछ । भारतको त्यो स्वार्थ पूरा गर्न हतियारको भूमिका नेपालका माओवादीहरूले गरेको देखिन्छ । खजुराको कपास कारखाना र बर्दियाको कपास खेतीको मात्र होइन, देशभरका अन्य राज्यनियन्त्रित कलकारखानाको अवस्थामा पनि तात्विक भिन्नता देखिंदैन । नवलपरासीको कागज कारखानादेखि बाँसघारीको छाला जुत्ता कारखाना बन्द छन् । नेपाली उद्योग कलकारखानाको ¥हासले भारतीय पुँजीलाई नै प्रत्यक्ष फाइदा पुगिरहेको अवस्थामा कुनै पनि बहानामा नेपाली उद्योग कलकारखाना बन्द हुने गरी हमला गर्ने कुनै पनि राजनीतिक शक्तिले अन्ततः भारतीय पुँजीकै सेवा गरिरहेको हुनेछ ।
नेपालमै भएको कच्चापदार्थले चलिरहेको आत्मनिर्भर उद्योग सरकारले पुनःसञ्चालनको कुनै पहल नगरेसम्म देशको आर्थिक विकास र समृद्धिको कुरामात्र भाषणबाजीमा सीमित हुनेछ । खजुराको कपास उद्योग, बर्दियाको कपास खेतीलगायत देशभरका सरकारनियन्त्रित उद्योग कलकारखानालाई पुनःप्राण दिन सके अहिलेको सरकार समाजवादी सरकारमा दरिनेछ । नत्र यो बाघको छालामा स्यालको रजाइँमात्र सावित हुनेछ ।