भाद्र २७, २०७२- मदर टेरेसा, बाराक ओबामा, हार्वर्ड युनिभर्सिटी...पहिले के सोध्ने ? यस्तै अलमलबीच मीनासिंह खड्का, ५९, लाई सोधियो– तपाईंको जन्मथलो कहाँ हो ? यति झूर प्रश्न ‘हार्वर्ड–रिटर्न’ प्राध्यापकलाई पक्कै सुहाउँदो थिएन । तैपनि, मदर टेरेसाको प्रसंगमा पुग्ने बाटो त्यही भइदियो ।
६ वर्षको उमेरसम्म धरानको फुस्रेमा बित्यो उनको बाल्यकाल । बल्लतल्ल गाउँमा स्कुल त खुल्यो तर केटालाई मात्र पढाउने । त्यही भएर सिपिङ कर्पोरेसनमा कार्यरत पिताजीले उनलाई कोलकाता लगेछन् । त्यतिबेलासम्म उनको खुट्टामा चप्पल थिएनन् ।
पिताजीले मदर टेरेसाकहाँ छाडिदिए मीनालाई । मदरले भारतकै टप स्कुल बालीगन्ज साउथ प्वाइन्ट, कोलकाता पठाइदिइन् । “स्कुलमा बलिउडका राज कपुरकी छोरी, उत्तमकुमार, विश्वजीतका छोराछोरी, मुनमुन सेनकी आमा सुचित्रा सेन, औद्योगिक घराना टाटा, बिड्ला, जिन्दलका छोराछोरी पनि पढ्थे,” उनी सुनाउँछिन्, “तर, मदरको एउटै चिठीका कारण मैले नि:शुल्क पढ्न पाएँ ।”
त्यसबापत् उनले हरेक बिहान ५.३० देखि ७.३० सम्म फलामको बाल्टीमा टालो हालेर दुई हजार जनाले प्रार्थना गर्ने सबभन्दा ठूलो गिर्जाघर (कथिड्रल)को भुइँ पुछ्नु पथ्र्यो । अहिले आएर उनलाई त्यो आफ्नो पढाइको फिजस्तो लाग्छ । तर, त्यो प्रसंग उनले आफ्ना पितालाई कहिल्यै सुनाइनन् ।
उनले एकैचोटि कक्षा ३ मा भर्ना पाइन् । कक्षामा सबभन्दा कान्छी पनि थिइन् । त्यतिखेर मदर ४५ वर्ष हाराहारीकी थिइन् । गोरी, बिस्तारै बोल्ने, त्यति नहाँस्ने, अलिअलि बंगाली बोल्ने, भुइँखाटमा सुत्ने । मदरको आश्रममा सिलावरको थालमा भात खानुपथ्र्यो । घरको काँसको ठूलो थाल मिस भइरह्यो उनलाई । तर, उनले घर फर्किन्छु कहिल्यै भनिनन् । “आठ/नौ वर्षदेखि गर्मी बिदामा १२ घन्टा रेल चढेर एक्लै घर आउँथेँ ।”
मीना भारत गएकी सन् १९६२ मा हो । आश्रममा बस्दा नै उनले ‘क्रस कल्चर’ बुझ्ने मौका पाइन् । शनिबार छुट्टीको दिन मदरले गाउँ गाउँमा, अस्पतालमा लैजान थालिन् । बिरामीको स्याहार गर्दा घिन लाग्न पनि छाड्यो ।
मीनाको सौभाग्य के भने उनले मदर टेरेसाकै कोठामा सँगै बस्न पाइन् । त्यसरी बस्न पाउने पनि उनीमात्रै थिइन् । “मदरसँग बस्ने भन्नेबित्तिकै अनाथजस्तो या खान लाउन नपाएर गएको भन्ने कतिपयलाई लाग्दो हो,” उनी भन्छिन्, “कोही नेपाली त्यसरी जाँदैन । म पनि त्यसरी गएकी होइन ।”
उनलाई जहिल्यै लाग्थ्यो– भगवान्ले बचाउन सक्छन् । गणेशले बुद्धिले बचाउँछन्, लक्ष्मीले पैसाले अनि सरस्वतीले विद्याले । तर, चर्चमा त भगवान् आफैँ शूलीमा झुन्डिरहेको देखिन् उनले । एक दिन उनले डराई–डराई मदरलाई सोधिन् : ‘हजुरले भगवान् देख्नुभएको छ ?’ जवाफ पाइन्, ‘अँ देखेको छु । दिनदिनै भेट्छु । सबै राम्रो चिजमा म भगवान् देख्छु र संसारका सबै राम्रा चिज भगवान् हुन् ।’ त्यसपछि उनलाई लाग्यो, ‘भगवान् मेरा लागि निकै ठूलो र बुझ्न नसक्ने कुरा हो । म राम्रो त देख्न सक्छु । म किन राम्रोलाई नपछ्याउँ ?’
उनको स्कुलमा दुई सय ५० जना थिए । तर, उनी पहिलो नेपाली । “पछि खस्र्याङकी निरुपा लामा आइन् । उनी आफैँमा क्रिस्चियन थिइन्,” उनी भन्छिन्, “तर मैले कहिल्यै धर्म परिवर्तन गरिनँ । कसैले दबाब पनि दिएन ।” रोचक के भने मदरसँग बस्दा उनी शिवरात्रीमा पानी नखाई व्रत बस्थिन् रे । तर कहिल्यै कसैलाई सुनाइनन् ।
उनको जीवनमा विकल्प पनि थिएनन् र कहिल्यै प्रश्न पनि गरिनन् । तर त्यै उनको लागि भाग्य भइदियो । विहारीलाल कलेज, कोलकातामा होम इकोनोमिक्समा स्नातक गरिन् उनले । १९ वर्षकी हुँदा त युनिभर्सिटी अफ कोलकाताबाट भाषाविज्ञानमा गोल्ड मेडलसहित स्नातकोत्तर गरिसकेकी थिइन् ।
स्नातकोत्तर सके पनि उनीसँग अनुभव केही थिएन । भारतमा काम नपाएपछि सीधै काठमाडौँ आइन् । कन्या स्कुलका संस्थापक जनकनाथ प्याकुरेलले मानवशास्त्री डोरबहादुर विष्टसँग चिनजान गराइदिए । विष्टले पिपल अफ नेपालको प्रुफ रिडिङको काम दिए । केही अनुसन्धानका काम पनि गरिन् ।
अनुसन्धानको सिलसिलामा घान्द्रुक पनि बसिन् मीना । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसँग जम्काभेट हुन्थ्यो । “एक दिन हर्क गुरुङले उनी यहीँको रिसर्चर हो भनेर चिनाएछन्, तर मैले कहिल्यै मतलब गरिनँ” उनी भन्छिन्, “मलाई नेपालका ठूला, नामी र धनी मान्छेसँग सधैँ डर लाग्छ । लाग्छ, उनीहरू कहीँ न कहीँ गलत छन् ।”
हुन पनि मीना आफैँ सबभन्दा कमाउने महिला थिइन् त्यतिबेला । एकसाथ अमेरिकी, फ्रेन्च र जापानी दूतावास अनि पिसकोरले जागिर दिएका थिए उनलाई । कारण थियो, भाषा । अंग्रेजी, जापानिज, हिन्दी, बंगाली, मारवाडी, गुजराती, पन्जाबी, तिब्बती, भोजपुरीलगायत नौ भाषा आउँछ उनलाई । रमेशनाथ पाण्डेले गोरखापत्र र नयाँ सन्देशमा उनका बारेमा समाचार नै छापे, सबैभन्दा धेरै कमाउने महिला भनेर । “आजभन्दा ४२ वर्ष अगाडि मेरो जीवनको पहिलो तलब नै ४६ हजार थियो,” उनी सुनाउँछिन् । अहिले उनी आफ्नो तलब आफैँ तय गर्छिन् । एउटा लेक्चरको पाँच हजार अमेरिकी डलरसम्म लिएको बताउँछिन् ।
उनलाई लाग्थ्यो, आखिर कमाउने त रैछ । थप किन पढ्ने ? त्यसैबीचमा भेटिइन्, अमेरिकी नागरिक डा स्मिथ । नेपालीमा विषयमा पीएचडी गरेकी उनले मीनालाई अझै पढ्ने अफर गरिन् । उनी मन नलागी–नलागी गइन्, युनिभर्सिटी अफ क्यालिफोर्निया । उनलाई अमेरिकाले पटक्कै आकर्षण गरेन । मान्छे सबै हिप्पीजस्ता । दुई महिनामै फर्किन लागेकी थिइन्, पासाङ ल्हामु शेर्पाका दाजु दोर्जेले भनेछन्, ‘कति जना नेपालीले तिमीजस्तो अवसर पाउँछन् ? त्यत्तिकै नफर्क ।’
उनका पीएचडी शोध निर्देशक थिए ब्रुस प्रे । चर्चित अमेरिकी स्कलर प्रेले सबै डिग्री पाकिस्तानमा लिएका थिए । उनले मीनालाई आफ्नो एउटा प्रोजेक्ट सकेपछि मात्र पीएचडी सुरु गर्न भने । उनले त्यहाँ नेपाल गएर पीएचडी गर्न चाहने विद्यार्थी धुइँपत्ताल लगाएर खोजिन् । त्यहाँ नेपाली भने जम्मा तीन जना रहेछन्, तारा वैद्य, तुलसी उप्रेती र शान्ता थपलिया । शान्ताले उनका बारेमा सुनेकी रहिछन्, एउटी नेपाली बहिनी आएकी छन्, खुबै अंग्रेजी बोल्ने । नेपालीको जमघटमा पहिलोपटक दसैँ मनाएको, अबीर नपाएर रातो मसी हालेर टीका लगाएको उनलाई सम्झना छ ।
उनकै पहलमा सन् १९८१ मा क्यालिफोर्निया युनिभर्सिटीमा स्कुल फर इन्डिपेन्डेन्ट स्टडिज अफ साउथ एसिया (सिसा) विभाग खोलियो । शेर्पा, गुरुङ, मगर, तामाङ, नेवारी, कुमारी, दसैँ, तिहारलगायत आठ संस्कृति र पर्वको अध्ययन सुरु भयो । उनको कक्षामा एकपटक साढे तीन सय विद्यार्थी जम्मा भएपछि सहरमै तहल्का मच्चियो । त्यहाँका सबैजसो पत्रपत्रिकामा उनका अन्तर्वार्ता छापिए ।
मीनासँग डबल पीएचडी छ, ‘कन्टेम्पप्रोरी वुमन्स मुभमेन्ट इन साउथ एसिया’ र ‘कल्चरल एन्थ्रोपोलोजी’मा । पहिलो उपाधिका लागि उनले दक्षिण एसियाली देशमा पुगेर अध्ययन गरिन् र १९८७ मा गोल्ड मेडल पनि पाइन् । त्यसबेला उनी वल्र्ड कलेज वेस्ट, स्ट्यान्डफोर्ड, क्यालिफोर्नियामा काम गर्दै थिइन् । कोलम्बिया युनिभर्सिटीले बोलाइहाल्यो । उनी अहिले पनि विश्वका ३४ विश्वविद्यालयसँग आबद्ध छिन् । सन् २००९ मा युनिभर्सिटी अफ टोकियोमा पनि उनले दक्षिण एसिया विभाग खोलिन् ।
“गुन्द्रुक बेचेर दुई करोड कमाएको समाचार सुनेँ मैले । नेपालमा पैसै पैसा छ,” उनी भन्छिन्, “माग्नेलाई भन्दै मागेर ख्वाउँछौ भने त हामी झन् ठूला माग्ने हौँ । हाम्रो विवशता नै विशेषता भयो । चेलीहरू हाम्रै परिवार र आफन्तबाट बेचिन्छन् । हामी त्यसकै प्रचार गरेर अवार्ड थाप्छौँ ।”
२५ वर्ष अगाडि उनले पोखराको बैंकमा ८० लाख रूपियाँ निकालिरहेकी एक भूपू ब्रिटिस सेनाकी श्रीमतीले ल्याप्चे लगाएको देखिछन् । उनले यत्रो रकम निकाल्दा नाम पनि लेख्न नसकेको भन्दै ती महिलालाई क्याप्पै पारिन् । बैंकमा खैलाबैला मच्चियो तर पछि त्यसले नै ‘आफ्नो नाम आफ्नो पहिचान’ अभियानको रूप लियो । मीनाले गाउँगाउँमा गएर सम्झाइन्– ल्याप्चे होइन नाम लेख, आफ्नो नाम आफैँ लेख ।
त्यो अभियानअन्तर्गत एक लाख जनालाई साक्षर बनाउने उनको लक्ष्य छ । अहिलेसम्म ७० हजार पुगेको छ । यसका लागि उनी स्कुल स्कुलमा पुगिन् । त्यसको पृष्ठभूमिमा अर्को घटना छ । एक दिन नाङ्ले व्यापारी महिलासँग गोंगबु चोकमा छुर्पी किनिछन् । १० रुपियाँको नोट दिँदा छुर्पी बेच्ने महिलाले ३० रुपियाँ फिर्ता दिइन् । अनपढ महिलाले यसरी घाटाको व्यवसाय गरेको देखेपछि उनी यस्ता महिलाका लागि कस्सिइन् । उनले त्यस्ता विद्यार्थीलाई किताबकापी किनिदिइन्, जसले आफ्नै घरमा गएर बा–आमालाई कम्तीमा नाम लेख्न सक्ने बनाओस् ।
“यति जाबो गर्दैमा मलाई समाजसेवी नभन्नुस् । जसको हिजो चप्पल किन्ने पैसा थिएन, उही समाजसेवाका नाममा पजेरो चढेर हिँड्छन्,” उनी भन्छिन्, “मलाई त समाजसेवी भनेको गालीको बिल्ला भिराएजस्तो लाग्छ ।”
सन् १९९६ मा बेइजिङमा अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो– इतिहासमै पहिलो पटक सबभन्दा ठूलो । त्यहाँ अमेरिकाबाट प्रथम महिला हिलारी क्लिन्टनले प्रतिनिधित्व गरेकी थिइन् र मीना हरदम उनीसँगै थिइन् ।
तीन वर्षअगाडि उनी हार्वर्डको पूर्णकालीन प्राध्यापक भइन् । हार्वर्डमा उनले पीएचडीका शोधार्थीलाई मात्र पढाइन् । अहिलेसम्म ६ हजारको पीएचडी गाइड गरिसकेकी छन् उनले π हावर्डमै पढेका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग उनले ह्वाइट हाउसमा दीपावली मनाउन पाइन्, सन् २०१४ मा । कार्यक्रमको संयोजन उनैले गरेकी थिइन् । किनकी, हार्वर्डको दक्षिण एसिया विभागमा जो थिइन् ।
“ओबामालाई नेपालीबारे हामीलाई भन्दा बढी थाहा छ, उनका धेरै साथी हिन्दू छन्,” उनी भन्छिन्, “उनी मुसलमान परिवारमा जन्मिए, विवाह गरेर क्रिस्चियन भए र सासूको पुरानो बाइबल छोएर सपथ ग्रहण गरे । तर हिन्दू दर्शनमा विश्वास र बुद्ध धर्ममा सम्मान छ ।”
तिब्बतीसँग धेरै संगत गरेकी छन् मीनाले । जसको जमिन छैन उनै पाँच जना जम्मा भए भने त्यहीँ तिब्बत खडा गर्छन् । उनीहरूको भाषा, संस्कृति, खानपान के छैन ?
“बुद्ध दर्शनको प्रचार गरेर दलाई लामाले नोबेल पुरस्कार पाए,” उनी भन्छिन्, “बुद्ध जन्मेको देशको कोखमा नौ महिना बसेका त सबै बुद्ध हुन सक्छन् ।” बुद्धप्रति उनको लगाव कति छ भने, पहिलोपटक इमेल ठेगाना राखिन्–होमफरबुद्धज् ।
वैशाखको भूकम्पलगत्तै हार्वर्ड छाडेर नेपाल आइपुगिन् मीना, देशलाई मेरो खाँचो छ भनेर ।
त्यतिबेला नै उनले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को शिक्षासम्बन्धी अध्ययनकर्ताका रूपमा अफगानिस्तान जाने अफर पाइन् । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट)का प्रमुख कार्यकारी अधिकृत खेम लकाईले उनलाई रोके । “त्यही पोस्टमा गएको तीन हप्तामै एक अमेरिकी महिलाको हत्या भयो, तिनको ठाउँमा गएकी अर्को भारतीय महिलाको पनि हत्या भयो,” उनी भन्छिन्, “खेम सरको त्यो आग्रहलाई मानेकै भएर आज म जीवितै छु ।”
मीना अहिले गेट कलेजको अध्यक्षको जिम्मेवारीमा छन् । उनको कोठाको भित्तामा हावर्डका अध्यक्ष ड्रियू जिलपिन फस्टको फोटो छ । ‘गेट’मा उनी तीन विषय पढाउँछिन्– सांस्कृतिक मानवशास्त्र, महिला अध्ययन अनि व्यक्ति र व्यक्तित्व विकास । “म बस चढेर हार्वर्ड जान्थेँ, आवश्यकता पर्दा महँगा गाडी पनि चढेँ । तर, त्यो ठूलो कुरा होइन,” उनी भन्छिन्, “विदेशमा धेरै राम्रा नेपाली मान्छे छन् । तिनले यहाँ फर्केर उदाहरण बन्नु आवश्यक छ ।”
केही वर्ष अगाडि संविधानसभाका सदस्यलाई ‘मोटिभेसन’ कक्षा लिइन् तर, त्यसमा आफू सफल भएजस्तो लागेनछ । “चिच्याएर बोल्दा माओवादी, मिलाएर बोल्दा एमाले, टाठिएर बोल्दा कांग्रेसजस्तो सोच्दा रहेछन् । तपाईं कुन दलको भनेर सोधे,” उनी भन्छिन्, “म न यो दलको, न त्यो दलको । बरु दलदलमा शिक्षाको कमल फुलाउने कमिला कदको मान्छे ।”
तस्विरहरुः रवि मानन्धर
प्रकाशित: भाद्र २७, २०७२